हाइलाइट

उपभोक्ता केन्द्रीय संघको अध्यक्षमा आधा दर्जन आकांक्षी  

उपभोक्ता केन्द्रीय संघको अध्यक्षमा आधा दर्जन आकांक्षी   :: Sahakari Akhabar

काठमाडौं । आठ वर्षदेखि निश्कृय रहेको उपभोक्ता केन्द्रीय संघले निर्वाचन सहितको साधारणसभाको मिति तय गरेपनि अध्यक्षका लागि आधा दर्जन आकांक्षी देखिएका छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष दिपकप्रसाद पौडेल, उपाध्यक्ष गोविन्द शर्मा पौडेल, कोषाध्यक्ष टेकप्रसाद चौलागाई, लेखा समिति संयोजक रामचन्द्र अर्याल र सहकारीकर्मी इन्दिरा पन्तले लविङ सुरु गरेका छन् । 

अध्यक्ष पौडेलले यसअघि टिम नमिलेकाले काम गर्न नसके पनि फेरि नेतृत्व गर्ने इच्छा देखाएका छन् । टिम मिलेमा उपभोक्ता क्षेत्रमा रचनात्मक काम गर्न सकिने उनी बताउँछन् । सरकारसँग मिलेर उपभोक्ताका धेरै काम गर्न सकिने उनको भनाइ छ । अहिले संघ निश्क्रिय हुन पुगेकाले राष्ट्रिय सहकारी महासंघले उपभोक्ता सहकारीको काम गर्दा पनि चुप लागेर बसेको उनी बताउँछन् । 

उपाध्यक्ष शर्माले भने चुनाव लड्ने पक्षमा छैनन् । सर्वसम्मत नेतृत्व दिए जिम्मेवारी लिने पक्षमा भने उनी देखिएका छन् । सर्वसम्मत हुँदा आफ्नो नेतृत्व नस्वीकारिए उपाध्यक्षमा नबस्ने स्पष्ट पारेका छन् । 

संघका महासचिव सीताराम काफ्ले संघमा नबस्ने बताएका छन् । संघमा राजनीति हावी हुने भएकाले व्यवसायिक काम गर्न नसकिने उनी बताउँछन् । उनले संघको जिम्मेवारीबाट मुक्त भएर कम्पनीबाटै व्यवसायिकतामा जोड दिने योजना छ । 

‘मसँग समय पनि छैन, व्यवसायिक रुपमा संघ चलाउन पनि सकिएन । यहाँ राजनीति गर्ने थलो भयो’ काफ्ले भन्छन्, ‘राजनीति हुँदा व्यवसायिकता हरायो, यहाँ बस्दा नयाँपन पनि आउँदैन ।’ 

कोषाध्यक्ष टेकप्रसाद चौलागाईले उपभोक्ता केन्द्रीय संघलाई संकट मोचनबाट जोगाउन जिम्मेवारी लिन पछि नपर्ने बताउँछन् । ‘आकांक्षी धेरै छन्, नेतृत्वका लागि सल्लाह भएको छैन, चर्चा चलिरहेको छ’ उनले भने ।


राष्ट्रिय सहकारी महासंघका सञ्चालक समेत रहेका चौलागाईले उपभोक्ता संघमा बहुउद्देश्यीय सहकारी हाबी भएका कारण काम गर्न नसकेको बताउँछन् । ‘जो आए पनि उपभोक्तामा काम गरेका मान्छे लिनुपर्छ’ उनले भने । 
असार १७ गतेका लागि तय गरिएको साधारणसभाले संघको सञ्चालक तथा लेखा समितिको निर्वाचन गर्नुका साथै संघको विनियम संशोधन र पुर्नलेखन गर्ने छ ।

साधारणसभामा संघको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, वार्षिक कार्यक्रम तथा बजेट, लेखापरीक्षक नियुक्त गर्न र उसको पारिश्रमिक तोक्ने छ । 

५ वर्षदेखि कार्यसमितिको बैठक समेत बस्न सकेको थिएन् । साधारणसभा गर्ने निर्णय भएसँगै सञ्चालक समितिको सक्रियता बढेको छ ।  

२०७० सालमा दीपकप्रसाद पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । त्यसयता संघले खासै आफ्ना गतिविधि सञ्चालन गर्न सकेको छैन । संघको आयस्रोत नहुँदा कार्यालय र कर्मचारी समेत छैनन् । तर, यसअघि संघले आफ्नै ब्रान्डिङमा मेलम्चीबाट चामल खरिद गरेर बिक्री गरेको थियो । 

याे पनि पढ्नुहाेस् ः 

  1. किर्ते सूचनापछि उपभोक्ता केन्द्रीय संघद्धारा साधारणसभाको मिति परिवर्तन 

  2. उपभोक्ता केन्द्रीय संघले साधारणसभाको निर्णय मिति नै सच्यायो !

  3. उपभोक्ता केन्द्रीय संघको साधारणसभा निर्देशिका बिपरित 

  4. उपभोक्ता केन्द्रीय संघको ८ वर्षपछि निर्वाचनसहितको साधारणसभा, को बन्ला अध्यक्ष


 



Leave a comment