काठमाडौं । उपभोक्ता केन्द्रीय सहकारी संघको ८ वर्षपछि चुनावसहित साधारणसभा गर्ने भएको छ । संघको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २० गते साधारणसभा बोलाएको छ । माउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाको भवन सानो भर्याङमा हुने साधारणसभाले सञ्चालक तथा लेखा समितिको निर्वाचनका साथै संघको विनियम संशोधन र पुर्नलेखन गर्ने एजेण्डा तय गरिएको छ ।
साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, वार्षिक कार्यक्रम तथा बजेट पारित गर्ने तथा लेखापरीक्षक नियुक्त गर्न र उसको पारिश्रमिक तोक्ने कार्यतालिका तय गरिएको छ ।
साधारणसभाका लागि संघले जेठ १८ गतेसम्म सदस्यता नवीकरण गर्न आफ्ना सदस्यहरुलाई निर्देशन जारी गरेको छ । सचिव सीताराम काफ्लेले नवीकरण नगरेका सदस्यले साधारणसभामा भाग लिन नपाउने बताए ।साधारणसभाको मिति तय भएपनि नयाँ नेतृत्वबारे छलफल भइ नसकेको अध्यक्ष दीपकप्रसाद पौडेलले जानकारी दिए ।
अध्यक्ष पौडेलले ५ वर्षदेखि कार्यसमितिको बैठक समेत बसाउन सकेका थिएनन् । केन्द्रीय संघको कार्यालय पनि छैन । कर्मचारी पनि छैनन् । संघले उपभोक्ता सहकारीको हितमा कुनै पनि काम गर्न नसकेको अवस्थामा नयाँ नेतृत्व चयन हुन लागेको हो ।
अध्यक्षले साधारणसभा तथा बैठकसमेत बसाउन नसकेपनि केन्द्रीय संघको प्रतिनिधित्व गर्दै अन्य कार्यक्रममा सहभागी हुन्थे तर, अन्य पदाधिकारी संघमा छु भन्न पनि लाज मान्दै आएका थिए । सहकारी विभागले ताकेता गरेसँगै वर्षाैदेखि साधारणसभा गर्न नसकेका केन्द्रीय संघ सक्रिय हुन थालेका हुन् ।
बहुउद्देश्यबाहेक अन्य ८ वटा संघले पनि साधारणसभा गर्न सकेका छैनन् । केन्द्रीय संघको साधारणसभा नभएको वर्षौै बितिसक्दा पनि नियायमक निकाय सहकारी विभाग मौन रहदै आएकोमा पछिल्लो समयमा विभागले सक्रियता बढाएको हो । विभागले साधारणसभा नगर्ने सहकारीलाई स्पष्टीकरण सोधेको थियो ।
संघका उपाध्यक्ष गोविन्द शर्मा पौडेलले लामो समयको कसरत पछि साधारणसभाको मिति तय गर्न सकिएको बताउँछन् । रुग्ण भएको संघ बचाउन साधारणसभा गर्न पहिल्यैदेखि दवाव दिएको पनि उनले बताए । ‘अध्यक्ष अमेरिका हुँदादेखि नै दवाव दिएको हुँ’ पौडेल भन्छन्, ‘अब काम गर्ने सशक्त टिम संघमा ल्याउनुपर्छ।’
२०७० सालमा दीपकप्रसाद पौडेलको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । त्यसयता संघले कुनै गतिविधि सञ्चालन गर्न सकेको छैन । संघको आयस्रोत नहुँदा कार्यालय र कर्मचारी समेत छैनन् । केही वर्षअघिसम्म एक जना कर्मचारी भएपनि तलब खुवाउन नसकेपछि संघले बिदाइ गरिसकेको छ ।
सहकारी विभागको २०७४ को तथ्यांक अनुसार १ हजार ४ सय २३ वटा उपभोक्ता सहकारी छन् । त्यसयता विभागले विषयगत सहकारीको तथ्यांक प्रकाशन गर्न सकेको छैन । तर, १ सय ७२ वटा उपभोक्ता सहकारी मात्रै संघमा आबद्व छन् । त्यसमध्ये पनि १ सय ४५ वटा संस्थाले मात्रै उपभोक्ताका काम गरेका छन् । अन्य सहकारी निश्क्रिय छन् ।
सहकारीका उत्पादन बजारसम्म ल्याउन र बजारका प्रविधि गाउँसम्म पुर्याउन उपभोक्ता सहकारीले भूमिका खेल्न सक्छन् । तर केन्द्रीय संघको अस्तित्व नै धरापमा भएपछि उपभोक्ता सहकारी पनि अलमलिएका छन् ।
Leave a comment