हाइलाइट

सहकारीकर्मीको बिरोधपछि प्राधिकरणले सच्यायो पदाधिकारीको शैशिक योग्यताको विषय

सहकारीकर्मीको बिरोधपछि प्राधिकरणले सच्यायो पदाधिकारीको शैशिक योग्यताको विषय :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाका पुराना पदाधिकारीका लागि शैशिक योग्यता लागू नहुने भएको छ।

प्राधिकरणले हिजो साँझ सूचना जारीगरी दर्ता अभिलेखीकरण मापदण्ड २०८२ सातौं संशोधनको सूचना जारी हुनुअगाडी निर्वाचित भएका पदाधिकारीको हकमा फिट एण्ड प्रोपर टेष्ट सम्बन्धी शैशिक योग्यता लागू नहुने व्यवस्था गरेको हो । तर उक्त सूचना जारी भएको मितिपछि निर्वाचित पदाधिकारी तथा कर्मचारीको हकमा भने उक्त व्यवस्था लागुहुने जनाएको छ ।

प्राधिकरणले असोज ५ गते बचत तथा ऋण मुख्य कारोबार गर्ने सहकारीको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ लाई संशोधन गरी २०८३ जारी गरेको थियो । मापदण्डमा सहकारी संस्थाका संचालक, पदाधिकारी तथा प्रमुख कार्यकारीको योग्यता तथा अनुभव सम्बन्धी व्यवस्था गरेको छ ।

उक्त व्यवस्था लागु भएपछि सहकारीकर्मीहरुले सहकारीमा संचालकहरुको खडेरी पर्ने भन्दै बिरोध गरेका थिए, सहकारीकर्मीको बिरोध पछि प्राधिकरणले संसोधन गरी कार्यकाल बाँकी रहेकाका हकमा शैक्षिक योग्यताको व्यवस्था लागु नहुने जनाएको छ ।

मापदण्ड ०८३मा संस्थाका संचालक, पदाधिकरी तथा प्रमुख कार्यकारी पदमा रहने व्यक्तिहरुको योग्यता, अनुभव सम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरेको छ ।

योग्यतामा २१ वर्ष उमेर पुराभएको, पाँचकरोड रुपैयाँसम्म कूल सम्पत्ति वा दायित्व भएको संस्थाको अध्यक्ष, सचिव र कोषाध्यक्ष पदको लागि कम्तिमा १० कक्षा उत्तीर्ण गरी सहकारी संस्थाको कुनै समितिमा रही कम्तिमा एकबर्ष कार्यानुभव हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी पाँचकरोड रुपैयाँ भन्दा बढी कूल सम्पत्ति वा दायित्व भएको संस्थाको अध्यक्ष, सचिव र कोषाध्यक्ष पदको लागि कम्तिमा बाह्र कक्षा उतीर्णगरी सहकारी संस्थाको कुनै समितिमा रही कम्तिमा दुईबर्ष कार्यानुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ ।

पच्चिस करोड रुपैयाँसम्म कूल सम्पत्ति वा दायित्व भएको संस्थाको व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृतको पदको लागि व्यवस्थापन, वाणिज्यशास्त्र वा वित्त विषयमा न्यूनतम दशजोड दुई उत्तीर्ण गरेको हुनुपर्ने ब्यवस्था गरेको छ ।

त्यसैगरी पच्चिस करोड भन्दाबढी कूल सम्पत्ति वा दायित्व भएको संस्थाको व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृतको पदको लागि व्यवस्थापन, वाणिज्यशास्त्र वा वित्त विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको र बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामा कम्तिमा दुई बर्ष कार्य गरेको हुनुपर्ने मापदण्डमा ब्यवस्था छ। प्राधिकरणले सहकारीका पुराना पदाधिकारीको हकमा यो व्यवस्था हटाए पनि कर्मचारीको हकमा भने लागुहुने जनाएको छ ।

त्यसैगरी प्राधिकरणबाट जारी सूचनामा बचत तथा ऋण मुख्य कारोबार गर्ने संस्थाको इजाजतपत्र नविकरणका लागि आवेदन पेसगर्न भनेको छ । प्राधिकरणले आव ०८२ / ०८३ मा सञ्चालन इजाजतपत्र प्राप्त गरेका सहकारी संस्थाले २०८३ असोज मसान्तसम्म आवेदन पेस गर्नुपर्ने जनाएको छ ।

प्राधिकरणका अनुसार नवीकरणका लागि संस्थाको सञ्चालन इजाजतपत्रको प्रतिलिपि, आव २०८ / १८२ को लेखापरिक्षण प्रतिवेदनको वासलात बिवरण देखिने प्रमाणित पृष्ठ, आव २०८ / १८२ को करचुक्ता प्रमाणपत्र, सञ्चालक समितिका पदाधिकारी निर्वाचनसम्वन्धि निर्णयको प्रतिलिपि लगायतका कागजात पेस गर्नुपर्ने जनाएको छ ।

त्यसैगरी, ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२’ को दफा ३क बमोजिम सञ्चालक पदाधिकारी तथा व्यवस्थापकको फिट एन्ड प्रोपर टेस्टसम्बन्धी कागजात, प्रहरी प्रतिवेदन, कारोबार कर्जासूचना केन्द्रबाट प्रमाणित कागजात, तोकिएको स्वघोषणा तथा संस्थाको वासलातका आधारमा तयार गरिएको नविकरण दस्तुरसम्वन्धि विवरण पनि पेस गर्नुपर्ने प्राधिकरणले जनाएको छ । तोकिएको अवधिभित्र नविकरणका लागि आवेदन पेस नगरेमा नियमावली बमोजिम थपदस्तुर लाग्ने सूचनामा उल्लेख छ।



Leave a comment