वित्तीय साक्षरता र समावेशीकरणका लागि सहकारीको भूमिका महत्वपूर्ण

वित्तीय साक्षरता र समावेशीकरणका लागि सहकारीको भूमिका महत्वपूर्ण :: Sahakari Akhabar

काठमाडौं । वित्तीय साक्षरता तथा समावेशीकरणका लागि सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको एक प्रतिवेदनले औल्याएको छ । ‘एलाइन्स फर फाइनान्ससियल इन्क्लुजन’ तयार पारेको वित्तीय साक्षरता र समावेशीकरणसम्बन्धी एक अध्ययन प्रतिवेदनले नेपालमा सहकारी मोडलको प्रयोग ब्यापक बन्दै गएको र यसले वित्तीय पहुँच वृद्धि गर्र्दै साक्षरता बढाउन र समावेशी बनाउन ठूलो योगदान दिएको जनाएको छ ।

सहकारीहरुले सदस्यबाट बचत संकलन गर्ने र सदस्यहरुलाई नै लगानी गर्न पाउछन् । २०४८ सालमा सहकारी ऐन आएपछि सहकारी मोडलको प्रयोग ब्यापक भएको तथा हाल संविधानको प्रावधान अनुसार सहकारीको दर्ता तथा प्रवद्र्धन र नियमनको अधिकार स्थानिय तहसम्म पुगेको छ ।

हाल २९ हजार सहकारीमध्ये १४ हजार बचत तथा ऋण सहकारीहरु रहेको र सहकारीमा कुल ७५ लाख सदस्य पुगेको छ । स्रोत परिचालन र सेवा प्रयोगकर्ताहरूको संख्याको हिसाबले नेपालमा बैंक तथा वित्तीय संस्थापछि धेरै स्रोत परिचालन गर्ने र सर्वसाधारण आवद्ध रहेको क्षेत्र सहकारी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यद्यपी अनुगमन नहुँदा यसबाट जोखिम पनि बढिरहेको भन्दै अनुगमन प्रभावकारी बनाउन पनि सुझाव दिइएको छ । यसअघि राष्ट्र बैंकले प्रकाशित गरेको वित्तीय स्थायित्वसम्बन्धी अध्ययन प्रतिवेदनमा सहकारी क्षेत्रको नियमित रूपमा अद्यावधिक तथ्यांक र प्रभावकारी नियमन नहुँदा जोखिम बढिरहेको भन्दै यसका कारण समग्र वित्तीय स्थायित्वलाई जोखिममा पार्न सक्ने चेतावनी दिएको थियो ।



Leave a comment