सहकारीको कारोबार २५ प्रतिशतले वृद्धि 

सहकारीको कारोबार २५ प्रतिशतले वृद्धि  :: Sahakari Akhabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा सहकारीको कारोबार २५ प्रतिशतले वृद्धि भएको पाइएको छ । प्रादेशिक आर्थिक गतिविधिबारे गरिएको अध्ययन प्रतिवेदनमा प्रदेश तथा स्थानिय सरकारको प्राथमिकता र सर्वसाधारणको बढ्दो आकर्षणका कारण सहकारीको कारोबार वृद्धि हुदै गएको औल्याइएको छ ।

राष्ट्र बैंकले हरेक प्रदेशका १० वटाका दरले नमूना छनौट गरी सात प्रदेशका  ७० सहकारी संस्थाहरूको अध्ययन गरेको थियो । अध्ययनमा समेटिएका सहकारीहरुको कुल पूँजी २६.५ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर २१.९ प्रतिशत रहेको थियो ।

यसैगरी सहकारीहरुको बचत २३.१ प्रतिशत र कर्जा २७.२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बचत २०.५ प्रतिशत र कर्जा १५.१ प्रतिशतले बढेको थियो । त्यसैगरी, गत वर्ष सहकारी संस्थाका सदस्यको संख्या १२.६ प्रतिशत र कर्मचारीको संख्या ३५.२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा सदस्य संख्या ८.६ प्रतिशत र कर्मचारीको संख्या १२.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

स्थानिय स्रोत साधानको परिचालन गर्नका लागि सहकारी उपयुक्त मोडल हुने प्रतिवेदनमा उल्लेख छ । गण्डकी र कणर्ली प्रदेशमा एक सहकारी-एक उत्पादन कार्यक्रम सुरु भएको र सहकारीबाट बाँझो तथा खाली जमिनहरुमा कागती, सुन्तला, जुनार, ओखर, नासपाती, आरुबखडा, किवी, जस्ता फलफूलहरुको व्यवसायिक खेतीका लागि विभिन्न कृषक, कृषि समूह, कृषि सहकारी तथा उद्यमीहरुलाई उत्प्रेरित गरी ग्रामीण स्तरमा उत्पादन तथा रोजगारी बढाउन सकिने सम्भावना समेत अध्ययन प्रतिवेदनमा औल्याइएको छ ।



Leave a comment