Sahakari Akhabar

बैंकसँगै सहकारी पनि साताको दुई दिन बन्द 

बैंकसँगै सहकारी पनि साताको दुई दिन बन्द  :: Sahakari Akhabar

काठमाडौं । सरकारले जेठ १ गतेदेखि सातामा २ दिने विदा दिने निर्णय गरेपनि बैंक तथा वित्तीय संस्था र सहकारीहरु पनि साताको दुई दिन बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंकल बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै  सातामा दुई दिन (शनिबार र आइतबार) बिदा हुने निर्णय गरेको छ ।

सहकारीका लागि विभागले छुट्टै निर्देशन जारी नगरेपनि रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी क्षेत्रमा पनि साताको दुई दिन बिदा हुने जानकारी दिए । सरकारको निर्देशन अनुसार नै सहकारीमा पनि शनिबार र आइतबार बिदा हुनुका साथै शुक्रबार पूरा दिन सेवा प्रवाह हुने उनले बताए ।

बैंकहरुलाई भने सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपरान्ह ५ः३० बजेसम्म कायम गर्न र कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान साढे ९ बजेदेखि साढे ४ बजेसम्म कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेद्धारा जारी निर्देशनमा बैंकिङ कारोबार समय साढे ९ बजेदेखि ४ बजेसम्म कायम हुने र शुक्रबार पनि कार्यालय पोशाक लगाउनुपर्ने नियम बनाएको छ ।

२०७९ सालका लागि दसैं र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग(टक्सार महाशाखासमेत) बाट प्रवाह हुने सेवा भुक्तानी प्रणालीबाट प्रवाह हुने आरटिजिएस सेवा, मौद्रिक व्यवस्थापन विभागबाट प्रवाह हुने सेवालगायत अन्य अत्यावश्यक सेवाहरु नियमित गर्नुपर्ने छ ।

त्यस्तै प्रदेशस्थित कार्यालयको अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न सीमित संख्यामा कर्मचारी खटाइ निर्धारित कार्यालय समयसम्म सञ्चालन गर्नुपर्ने जनाइएको छ । उक्त सेवा सञ्चालनमा सहयोग गर्न सूचना प्रविधि विभागको आवश्यक परेमा आवश्यकता अनुसार कर्मचारी खटाउनुपर्ने सूचनामा उल्लेख छ ।

विभाग, कार्यालय, महाशाखा, इकाइले प्रत्यक्ष सेवाग्राहीले एकैदिनमा सम्पन्न हुने एकै सेवाका लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिन कार्य सुनिश्चितता गर्नुपर्ने राष्ट्र बैंकले भनेको छ । हप्ताको दुई दिन बिदा हुँदा हप्ताभरि सम्पन्न गरिएका कार्यहरुको सूची दैनिक तथा सेवा प्रवाहको संख्याको अध्ययन तथा मूल्यांकन राख्ने व्यवस्था हुने भएको छ ।



Leave a comment