Sahakari Akhabar

महालक्ष्मीमा मेयरका उम्मेदवार कट्टेलको योजना : उद्यमशिलता र रोजगारी बढाउन सहकारी 

महालक्ष्मीमा मेयरका उम्मेदवार कट्टेलको योजना : उद्यमशिलता र रोजगारी बढाउन सहकारी  :: Sahakari Akhabar

ललितपुर । महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेदवार शिव कट्टेलले सहकारीको माध्यमबाट विभिन्न क्षेत्रमा काम गर्दै नगरपालिकाको समग्र विकास गर्ने योजना अघि सारेका छन् ।

सत्ता गठबन्धन अन्तर्गत कांग्रेस र माओवादीका तर्फबाट साझा उम्मेदवार बनेका कट्टेलले महालक्ष्मी पर्यटकीय गन्तव्य स्थलका रुपमा रहेकाले यसको विकास गर्न सहकारी क्षेत्रलाई परिचालन गर्ने जनाएका छन् ।

‘यहाँको पर्यटनलाई सहकारीमार्फत व्यवस्थापन गरी नगरपालिकाको आम्दानीको मुख्य स्रोतको रुपमा विकास गर्न सकिने प्रशस्त संभावना छ’ कट्टेलले भने ।

सहकारी र पर्यटनलाई एकीकृत गर्दै स्थानीय उत्पादन बढाउने र त्यही खपत गर्ने वातावरण सिर्जना गर्ने उनको योजना छ । ‘यसो गर्न सक्दा सहकारीमार्फत उद्यमशीलता र रोजगारी बढ्छ’ उनले भने ।

ललितपुर पर्यटन जिल्ला सहकारी संघका अध्यक्ष एवम् पर्यटन केन्द्रीय सहकारी संघका उपाध्यक्षसमेत रहेका कट्टेलले सहकारीमार्फत पर्यटन प्रवद्र्धन गरिने बताए । ‘सहकारीमा गर्नुपर्ने विषय धेरै छन्,’ उनले भने, पर्यटन तथा सामुदायिक क्षेत्रमा फोकस गर्न सकिन्छ ।’

सहकारीबाट उद्योग, कलकारखानासमेत खोल्न सकिने भन्दै कट्टेलले नगरवासीले मत दिएमा कांग्रेससँग आपसमा छलफल गरी सहकारीमार्फत आर्थिक संमृद्धि ल्याउन खाका कोरिने बताए ।

सहकारीमा आबद्ध थुर्पै साथीहरु भएकाले उनले सहकारीकर्मी भएकै नाताले जुनसुकै पार्टीका व्यक्तिहरुले पनि भोट हाल्नेमा उनी विश्वस्त छन् । ‘जित्नका लागि उठ्ने हो । हार्न कोही पनि उठ्दैन’ उनले भने, कांग्रेससँगको गठबन्धनकै कारण चुनाव जित्ने छु’ उनले भने ।

कट्टेल २०७४ सालमा पनि महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचन लडेका थिए । नेकपा माओवादी केन्द्रका नेता कट्टेलले कस्तो खाले सहकारी बनाउने भन्ने विषयमा जितेपछि गठबन्धनबीच छलफल गरेर रणनीति बनाउने बताए । ‘संघीय सहकारी ऐनसँग नबाँझिनेगरी नीति, नियम ल्याउँछौं’ उनले भने, ‘बचत, बहुउद्देश्यीय, पर्यटन, कृषि लगायत थुप्रै प्रकृतिका सहकारीलाई समेट्ने गरी नयाँ मापदण्ड बनाउने छौं’ उनले भने ।

महालक्ष्मी नगरपालिका ५ वटा गाविस मिलेर बनेको नगरपालिका हो । यो सानो क्षेत्र भएकाले पनि आर्थिक रुपान्तरण गर्न चुनौतीका साथै संभावना पनि रहेको मेयरका उम्मेदवार कट्टेल बताउँछन् । पदमा पुगेपछि अल्पकालीन, मध्यकालिन र दीर्घकालीन नीति बनाएर आर्थिक रुपान्तरण गरिने उनको जोड छ ।

‘घोषणापत्रकै आधारमा आर्थिक प्याकेज घोषणा गर्नेछौं’ उनले भने । सहकारीमार्फत युवा उद्यमशीलता बढाउने पनि कट्टेको योजना छ । ‘उत्पादन गर्न जमिन खाली छैन, तैपनि थोरै जग्गामा राम्रो आम्दानी हुनेगरी आर्थिक प्याकेज ल्याउने योजना छ’ उनले भने ।



Leave a comment