Sahakari Akhabar

घोराहीकी उपमेयर उम्मेदवार डिसीको भिजन : सहकारीबाट सम्वृद्धि 

घोराहीकी उपमेयर उम्मेदवार डिसीको भिजन : सहकारीबाट सम्वृद्धि  :: Sahakari Akhabar

दाङ । घोराही उपमहानगरपालिकाकी उपमेयर उम्मेदवार हुमा डिसीले सहकारीमार्फत आर्थिक सम्वद्धिको हासिल गर्ने भिजन अगाडी सारेकी छिन् । स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी उनले सहकारीमार्फत उद्यमशिलताको विकास, रोजगारी सिर्जना गर्दै गरिबी निवारण गर्ने प्रतिवद्धता गरेकी छिन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को पूर्व लेखा समिति सदस्य समेत रहेकी डिसी घोराहीकै सौभाग्य महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुन् ।

स्थानिय तहमा निर्वाचित भएमा सहकारीमार्फत सडकमा मकै बेच्ने र फुटपाटमा तरकारी बेच्नेलाई सस्तोमा ऋण दिएर उद्यमी बनाउने उनको योजना छ । उपमहानगरपालिका भित्रका सबैलाई सहकारीमा आबद्ध गराउने र यसैबाट आर्थिक रुपान्तरण गर्न सकिनेमा उनी विश्वस्त छिन् ।

यसैगरी सहकारीमार्फत गृहणी महिलालाई उद्यमी बनाइने डिसीको योजना छ । ‘सहकारीको चर्को ब्याजलाई नियन्त्रण गर्र्दै सहुलियत ब्याजमा ऋण प्रदान गरेर बढी भन्दा बढी व्यक्तिलाई उद्यमी बनाउनेतर्फ लाग्ने छु’ उनले भनिन् ।

नीति, विधि र प्रविधिमा संस्था संचालन गर्दै सहकारीमा सुशासन कायम गर्ने उनको योजना छ । यसैगरी सहकारी नपुगेका ठाउँमा दर्ता गर्ने र बाक्लो उपस्थिति भएका शहरी क्षेत्रका भने मर्जर अभियान संचालन गर्ने तथा दोहोरो सदस्यता हटाउने पनि उनको योजना छ ।

डेढ दशक भन्दा बढि समयदेखि सहकारी अभियानमा क्रियाशिल डिसी सहकारीमार्फत उद्यमशीलता विकासका काममा सक्रिय छिन्।उपमेयरमा निर्वाचित भए उपमहानगरवासीको जीवनस्तर उकास्ने सशक्त योजना ल्याउने उनले बताइन् । सहकारीलाई व्यवस्थित गर्र्दै त्यसैका माध्यमबाट घोराहीलाई उदाहरणीय उपमहानगर बनाउने सकिनेमा उनको विश्वास छ ।

सामाजिक अभियन्ताको रुपमा समेत उदाहरणीय काम गरेकी डिसी त्यसकै आधारमा पनि चुनाव जित्नेमा ढुक्क छिन् । विधवा महिला, बालबालिकाको क्षेत्रमा आफुले गरेका कामका आधारमा घोराहीवासीले न्याय गर्नेमा उनी विश्वस्त छिन् ।

वडा नागरिक समितिदेखि काम गरेकी डिसी हिंसा पीडित महिलाको लागि सुरक्षित आवासगृह सञ्चालन गरेर जिल्लामै उदाहरणीय भएकी थिइन् । ‘विकास निर्माणका काम मेरो नेतृत्वमा भएका छन् ।

खानेपानीका लागि गाउँमा कुवा खन्नेदेखि ढलका लागि ह्युम पाइपको व्यवस्था, विद्युतिकरणलगायतका क्षेत्रमा काम गरेको छुँ’ उनले भनिन्, ‘हिंसामा परेका महिलाका लागि काम गरेँ । विधवा महिलालाई रंगभेदको आवाज उठाएका कारण आज सहजरुपमा रातो लुगा लगाउन पाउछन् ।’



Leave a comment