नमूना वडा बनाउने श्रेष्ठको प्रतिवद्धता

नमूना वडा बनाउने श्रेष्ठको प्रतिवद्धता :: Sahakari Akhabar

काठमाडौं । सहकारीकर्मी लेमन श्रेष्ठले चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ लाई नमूना वडा बनाउने उद्घोष गरेका छन् । नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष उम्मेदवार श्रेष्ठ सहकारीमार्फत आर्थिक संमृद्धि हासिल गर्न सकिने बताउँछन् । सहकारीबाट वडाको अधिकांश काम गर्न सकिने उनले बताए ।

वडामा रहेका सहकारी संस्थाहरुलाई व्यवस्थित गर्ने उनको योजना छ । आधारशीला कार्यक्रम (सहकारीमा जागरण, प्रवद्र्धन, विकास तथा संजालिकरण) संचालन गर्ने, सहकारीसँग समन्वय तथा सहकार्य गरि वडाका कार्य गर्ने उनले सुनाए ।

उनले पछिल्लो समयमा निर्वाचन जित्ने आधार बलियो बन्दै गएको बताए । ‘माहोल राम्रो बन्दै छ, यसपटक हाम्रो नेतृत्वले बिजय हासिल गर्ने निश्चितजस्तै छ’ उनले भने । उनले जितेमा सर्वदलीय, सर्वपक्षीय टिम बनाएर नमूना वडा बनाउनेतर्फ लाग्ने उनको अठोट छ ।

चन्द्रागिरी नगरपालिका सहकारी आर्थिक विकास अन्र्तगत राखिएको छ । उनले जितेमा सहकारी शाखा खोल्ने योजना राखेका छन् । सहकारीका लागि छुट्टाएको बजेट खर्च नहुने गरेको भन्दै प्रभावकरी ढंगले खर्च गरी रचनात्मक काम गर्ने उनले सुनाए ।

यस वडामा  ३ हजार ६ सय ३० जना मतदाता छन् । श्रेष्ठका प्रतिष्पर्धी कांग्रेसका कृष्णप्रसाद खड्गी छन् । काठमाडौं जिल्ला बचत तथा ऋण संघ (कास्कुन)का सञ्चालक श्रेष्ठले आर्थिक रुपान्तरण सहकारीमार्फत संभव भएको उनी बताउँछन् । रोजगार र कृषि, पर्यटन, खानेपानी, सडकलगायतमा उनले प्राथमिकता दिने योजना अघि सारेका छन् ।

 स्वरोजगार सम्बन्धी सीप अभिबृद्धि हुने तालिम नियमित रुपले संचालन गर्ने, कृषका लागि आवश्यकतानुसार निशूल्क माटो परिक्षणको ब्यवस्था मिलाउने, जेटि, जेटिए र भेटनरी डाक्टर सहितको परामर्श सेवा केन्द्रको स्थापना गर्ने उनको योजना छ ।

उन्नत बिउ बिजन तथा मलखादको बिक्रि वितरणको ब्यवस्थापन गर्ने, कृषि क्याम्पस स्थापनाका लागि समन्वय तथा पहल गर्ने, अर्गानिक खेतीको लागि प्रोत्साहन तथा प्रवद्र्धन गर्ने,  स्थानीय श्रोत तथा साधानबाट उत्पादित वस्तुहरुको विक्रि तथा प्रदर्शनी को आयोजना गर्ने श्रेष्ठले आफ्नो प्रतिवद्धतामा उल्लेख गरेका छन् ।

थानकोट क्षेत्रमा धार्मिक, सांस्कृतिक पर्यटन र होमस्टे प्रवद्र्धन गर्ने, चन्द्रागिरि पर्वतलाई संरक्षण तथा संबद्र्धन गरि ऐतिहासिक तथा पर्वतीय पर्यटन एवं हाईकिङ्ग स्थलको रुपमा बिकास एवं प्रचार प्रसार गर्ने योजना रहेको सुनाए । आर्थिक विकासमा सहकारीलाई प्रमुख साझेदारका रुपमा स्थापित गर्दै सहकारीलाई उत्पादन र बजारीकरणमा निर्वाधरुपमा लाग्न पहल गरिने श्रेष्ठको योजना छ ।



Leave a comment