झापा । प्रदेश नं १ का सहकारीकर्मीमाझ परिचित नाम हो भवानी प्रसाद दंगाल (भानु) । प्रारम्भिक संस्थादेखि प्रदेश सहकारी संघको नेतृत्वमा रहि उनी सहकारी अभियानको विकासमा विगत एक दशक भन्दा बढि समयदेखि सक्रिय छन् ।
सहकारी अभियानमा सफल नेताको परिचय बनाएका उनै दंगाल यतिवेला जनप्रतिनिधिका रुपमा स्थानिय सरकारको नेतृत्व गर्न तम्सिएका छन् । आसन्न स्थानिय तहको निर्वाचनमा यनी झापाको हल्दिबारी गाउँपालिका अध्यक्षको उम्मेदवार बनेर चुनावी मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट अध्यक्षको प्रत्याशीका रुपमा अघि सरेका उनले आफ्नो चुनावी एजेण्डा र मतदातासँग गरेको प्रतिवद्धतामा पनि आफ्नो पहिचान अनुसार सहकारी क्षेत्रलाई प्राथमिकता दिएका छन् ।
२०६५ सालदेखि सहकारी क्षेत्रमा प्रवेश गरेका दंगालले बिर्तामोडको कर्णाली सहकारीमा ३ वर्ष सचिव रुपमा नेतृत्व गरे । उनकै अध्यक्षतामा २०६९ सालमा स्थापना भएको हाम्रो नेपाल साकोस प्रदेश नं– १ को ठूलो सहकारी संस्थामध्ये एक बन्न सफल छ । झापा जिल्ला सहकारी संघको सह–सचिव हुदै सचिव रहेका उनी प्रदेश सहकारी संघको सचिव समेत रहेर सहकारी अभियानको नेतृत्व गरिरहेका छन् ।
सहकारी अभियान मार्फत नागरिकलाई आत्मनिर्भर बनाउँदै आय–आर्जनमा जोड्ने भिजन बोकेका दंगालले चुनावमा प्रतिवद्धतामा पनि सहकारी कार्यक्रमलाई प्राथमिकता दिएका छन् । उनले आफु निर्वाचित भएमा प्रत्येक वडामा शीत भण्डार निर्माण गर्ने, स्थानीय सरकारले किसानको उत्पादन खरीद गरिदिने, त्यसलाई ब्राण्डिङ तथा बिक्री वितरण समेतको जिम्मा लिने र कृषि एवम् पर्यटन मार्फत नै विकासको दिगो आधार खोज्ने प्रतिवद्धता गरेका छन् ।
यसैगरी हल्दिबारीमा भौतिक पूर्वाधार विकास निर्माणमा पनि उनले जोड दिएका छन् । उनको प्रतिवद्धतामा रिङरोड, खेल मैदान निर्माण, पालिकाभित्रका सबै सडकको स्तरोन्न्ति गर्दै कालोपत्रे गर्ने, बहु सांस्कृतिक संग्रहालय निर्माण गर्नेलगायतका विकास निर्माणका काम गर्ने समेत उल्लेख गरेका छन् ।
Leave a comment