हाइलाइट

तुलसी कुवर विष्टको एजेण्डा सहकारी मार्फत महिलाहरुलाई उद्यमी बनाउने

तुलसी कुवर विष्टको एजेण्डा सहकारी मार्फत महिलाहरुलाई उद्यमी बनाउने :: Sahakari Akhabar

चीना थापा, विराटनगर । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट पनि धेरै सहकारी अभियान्ता तथा सहकारीकर्मीहरु जनप्रतिनिधि बनेका थिए । तर सहकारीको क्षेत्रमा सोचेजस्तो काम भने कसैले गर्न सकेनन । 
२०७९ बैशाख ३० को स्थानीय तहको निर्वाचनको सरगर्मी अहिले  जताततै छ । विभिन्न खाले आश्वासन बाढ्दै नेताहरु चुनावी अभियानमा छन् । धेरै सहकारीकर्मीहरु पनि उम्मेदवार बनेका छन् ।

मोरङको बुढिगंगा गाउँपालिकाकी उपप्रमुखकी उम्मेदवार तुलसी कुवर विष्ट पनि सहकारी अभियान्ता हुन । २०५७ सालदेखि सहकारीमा आवद्ध भएकी विष्ट अहिले बुढीगंगामा रहेको राजसती महिला बचत तथा ऋण सहकारी संस्थाकी सचिव हुन । उनले दुई कार्यकाल जिल्ला सहकारी संघको लेखा समिति सदस्य भएर काम गरिन् । उनी नेकपा एमालेबाट उम्मेदवार बनेकी हुन ।

मोरङका कुनै पनि स्थानीय तहका उम्मेदवारले सहकारीको बारेमा छुट्टै यो गर्छु भनेर उल्लेख गरेका छैनन् । कुनै पनि पार्टीको प्रतिवद्धता पत्रमा सहकारी परेको छैन । एमाले कृषिसँग सहकारीलाई जोडेको छ ।  सबै स्थानीय तहको प्रतिवद्धता पत्र एमालेको उस्तै छ । त्यसैक्रममा नेकपा एमाले बुढीगंगा गाउँपालिकाले पनि सहकारीलाई कृषिसँग जोडेको छ ।

२३ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको बुढीगंगा एमालेले ६ नम्बर बुँदामा व्यवसायिक कृषकहरुलाई प्रोत्साहन गर्ने र व्यवसायिक बनाउन पाडा–पाडी, बाख्राका पाठाहरु, सुंङ्गुर, बुङ्गुरका पाठाहरु र तरकारी खेतिलाई निजी सहकारी तथा गाउँपालिकाको सहकार्यमा एउटा सुविधा सम्पन्न कृषि उपज संग्रह तथा बजार व्यवस्थापन केन्द्र निर्माण गरिने भनिएको छ ।

लामो समय सहकारी क्षेत्रमा काम गरेकी विष्ट सबै कुरा प्रतिवद्धता पत्रमा अटाउनुपर्ने भएकाले सहकारीका धेरै कुरा समेट्न नसकेको बताउछिन् । तर आफु सहकारी क्षेत्रमा काम गरेको र सहकारीको अभियान्ता भएकाले प्रतिवद्धता पत्रमा उल्लेख नभएपनि सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई छ ।

सहकारी मार्फत महिलाहरुलाई उद्यमी बनाउने उनको योजना छ । आफु निर्वाचित भए साना लगानीका तथा सञ्चालन हुन नसकेका सहकारीलाई एकिकरणको माध्यमबाट अगाडि बढाउने, साना साना पुँजीका सहकारीलाई एकिकरण गर्न प्रोत्सान गर्ने, ठूला पुँजीका सहकारीलाई उत्पादन क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने लगायतका काम गर्ने विष्टले बताईन ।

बुढीगंगा गाउँपालिकामा धेरै सहकारीहरु भएकाले कृषि सहकारीहरुलाई प्रोत्साहन गरेर कृषि कामका लागि सहयोग गर्ने, बचत तथा ऋणलाई पनि उत्पादन क्षेत्रमा लाग्न प्रेरित गर्ने, बहुउदेश्यीय सहकारीहरुलाई साना तथा मझौला उद्योग सञ्चालनको लागि प्रोत्साहन गर्ने योजना  रहेको बताउँदै उनले सहकारीलाई उत्पादन क्षेत्रमा लाग्न प्रोत्साहन गर्यो भने अर्थतन्त्रमा टेवा पुग्नुका साथै रोजगारी पनि सिर्जना हुने बताईन । सहकारीलाई तीन तहकै सरकारले उपेक्षा गरिरहेको उनको भनाई छ । आफु निर्वाचित भए सहकारीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले प्रतिवद्धता जनाईन ।



Leave a comment