हाइलाइट

सहकारीलाई उद्योग व्यवसाय गर्न प्रोत्साहन गर्ने अधिकारीको प्रतिवद्धता

सहकारीलाई उद्योग व्यवसाय गर्न प्रोत्साहन गर्ने अधिकारीको प्रतिवद्धता :: Sahakari Akhabar

चीना थापा, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार भोला अधिकारीले कृषि सहकारीहरुलाई कृषिजन्य उद्योग सञ्चालनका लागि प्रोत्साहन गर्ने योजना अघि सारेका छन् । सहकारीको बारेमा राम्रो ज्ञान भएका उनले आफ्नो प्रतिवद्धतामै जुन उद्देश्य राखेर सहकारी दर्ता भएको हो सोही अनुसारको कार्य गर्न लगाउने, सहकारी मार्फत सामुहिक खेति प्रणालीमा सहकारी सदस्यहरुलाई जोड दिने उल्लेख गरेका छन् ।

आफु निर्वाचित भएमा घोषणा पत्रमा समावेश प्रतिवद्धता कार्यान्वयन गर्ने अधिकारीले बताए । गाउँपालिकामा रहेका सहकारी संस्थाको र सदस्यहरुको हितलाई प्राथमिकता दिदै सहकारीलाई उत्पादन क्षेत्रमा लगाउने उनको योजना छ ।

सहकारीकर्मीबाट जनप्रतिनिधि हुने दौडमा रहेका अधिकारी यस अघि गाउँपालिकाको सहकारी समन्वय समितिको संयोजक पनि थिए । हरेक स्थानीय तहमा सहकारी समन्वय समिति गठन गर्ने प्रावधान रहे पनि मोरङको कानेपोखरी गाउँपालिका बाहेक अरु स्थानिय तहले गठन गरेका थिएनन् ।

विराटनगर महानगरपालिकाले पनि अहिलेसम्म समिति गठन गर्न सकेको छैन । मोरङमा १७ वटा स्थानीय तह रहेका छन् । सहकारीलाई एकिकृत गर्ने र छरिएर रहेको पुँजीलाई कसरी एक ठाउँमा ल्याउन सकिन्छ भन्ने विषयमा गाउँपालिकामा पहिला पनि काम भएको अधिकारीको भनाई छ ।

गाउँपालिकाको सहकारीको अवस्था देखि एकिकरणका प्रयासहरु पनि भएको बताउँदै उनले पाँच बर्षको अवधिमा केही सकारात्मक काम भएको र अव आफु निर्वाचित भए पूर्ण रुपमा सहकारीलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

अधिकारी कानेपोखरी गाउँपालिकामा रहेको रमाईलो जनएकता बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुन । केहि महिना अगाडि रमाईलो बचत तथा ऋण सहकारी संस्था र जनएकता सहकारी संस्था एकिकरण भएर रमाईलो जनएकता भएको हो । दोहोरो सदस्यता अन्त्य गर्ने र सुविधाको लागि धेरै सहकारीमा सदस्य बन्ने समस्यालाई मध्येनजर गरेर सबै कुरामा संस्थालाई अब्बल बनाउने उदेश्यले सहकारी एकिकरण भएको थियो ।



Leave a comment