सिन्धुपाल्चोक । शिक्षण पेसासँगसँगै सहकारी र सामाजिक अभियन्ताको कामबाट सिन्धुपाल्चोक जिल्लामा ‘चक्र सर’ को पहिचाहन स्थापित गरेका छन् चक्र बस्नेतले । उनै चक्र सर यतिबेला सुनकोसी गाउँपालिका वडा नम्बर–६ को वडा अध्यक्षको उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिएका छन् । सहकारी र सामाजिक कामबाटै लोकप्रिय बनेका उनी अब जनप्रतिनिधि बनेर जनताकै सेवामा सर्मपित हुने योजना लिएर प्रचार प्रसारमा ब्यस्त छन् ।
जिल्ला सहकारी संघ सिन्धुपाल्चोकका उपाध्यक्ष एवम् बागमती प्रदेश बचत संघका सञ्चालकसमेत रहेका बस्नेतको सहकारीमार्फत नै जनताको जीवनस्तर उकास्ने योजना छ । वडा नम्बर ६ मा ३ हजार ९ सय मतदाता छन् । आफु निर्वाचित भएमा कसैलाई काखा, कसैलाई पाखा नगरी सम्पूर्ण मतदाताको जीवनस्तर उकास्न सहकारीमार्फत विशेष कार्यक्रम ल्याउने उनले योजना सुनाए ।
‘जनतालाई कसरी धनी बनाउने, आर्थिक उपार्जनसँग जोड्ने भन्ने विषयमै मेरो विशेष जोड रहेनछ’ सहकारी अखबारसँग उनले आफ्नो योजना सुनाए, ‘सर्वसाधारणको जीवनस्तर उकास्नका लागि नयाँ कार्यक्रम ल्याउने छु।’ सबै काम सहकारीसँग जोडेर गर्न सकिने बताउने उनी दिगो विकास गरी नमूनायोग्य वडा बनाउने सकिने विश्वास व्यक्त गर्छन् ।
सहकारीमार्फत सबैलाई उत्पादन र रोजगारीमा जोड्ने सकिने बस्नेतको भनाई छ । ‘सबैलाई उत्पादनमूलक काममा जोडेर आयआर्जन वृद्धि गर्न सकिन्छ’ उनले भने । शिक्षा, यातायात, सञ्चार, पर्यावरणीय क्षेत्रमा योजनाबद्ध ढंगले काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
राजनीतिक मतभेदको संस्कार बन्द गर्दै सामूहिक भावना अनुरुप अघि बढ्ने उनले बताए । ‘मतदाताको चेतनास्तर वृद्धि गर्दै असल राजनीतिक संस्कार बसाल्न पहल लिने छु’ उनले भने । नेकपा एमालेको सिफारीसमा वडा अध्यक्ष उम्मेदवार बनेका बस्नेत सहकारी अभियान्तासँगै अवकाशप्राप्त शिक्षक पनि हुन् । सामाजिक अभियन्ता एवम् लोकप्रिय नेताका रुपमा स्थापित भएका बस्नेतले आफ्नो माहोल राम्रो भएको र लोकप्रिय मतका साथ विजयी हुने दावी गरे ।
Leave a comment