दाङ । तुल्सीपुर उपमहानगरपालिकाका सहकारीले कृषि उत्पादनमा उच्च प्राथमिकता दिएका छन् । तरकारी तथा फलफूल, पशुपालन गरी दुग्ध क्षेत्रलगायतका कृषिका विविध क्षेत्रमा काम गर्दै आएका छन् ।
तुल्सीपुर उपमहानगरपालिकाका सहकारी अधिकृत सुनिता पाण्डेले यहाँका सहकारीले कृषि उत्पादनमा प्राथमिकता दिएको बताइन् । ठूलो स्केलमा काम गर्न नसकेपनि धेरै सहकारीले कृषि उत्पादनका काम गरिरहेको उनको भनाइ छ ।
कृषि, तरकारी, च्याउ, टनेललगायतका कृषिसँग सम्बन्धीत काम गर्ने गरेको तुल्सीपु उपमहानगरपालिकाले जनाएको छ । कृषि उत्पादनमा सहकारी फोकस भएपनि उपमहानगरले अनुदान दिने गरेको छैन । गत वर्ष दूग्ध सहकारीलाई मेसिन उपलब्ध भने गराएको थियो ।
तुल्सीपुरमा १ सय ६५ सहकारी छन् । त्यसमध्ये ९० वटा कृषि सहकारी छन् । त्यस्तै बहुउद्देश्यीय सहकारी १५ वटा छन् । उपभोक्ता सहकारी ७, दूग्ध उत्पादक सहकारी ६, पशुपन्छी २, मत्य सहकारी १, सामाजिक उद्यमी सहकारी ५, माहुरीपालन १ सहकारी छन् ।
उपमहानगरका अनुसार ४९ वटा बचत तथा ऋण, ३ वटा विद्युत सहकारी र एउटा सूचना तथा सञ्चार सहकारी छन् । यहाँका आधा भन्दा कमले मात्रै नियमित प्रतिवेदन बुझाउने गरेको पाण्डेले बताइन् । नियमन तथा अनुगमन गर्न समेत कठिन भएको उपमहानगरपालिकाले जनाएको छ ।
तुल्सीपुरले अब कोपोमिस तालिम दिने योजना बनाएको छ । सहकारी विभागबाट कोपोमिसको युजर नेम र पासवर्ड लिएपनि सहकारीलाई दिइसकेको छैन । कोपोमिसमा नियमित अपडेट गरेमा नियमन गर्न सहज हुने उनको भनाइ छ । तुल्सीपुरमा सहकारी शाखामा २ जना कर्मचारी छन् । चालू आर्थिक वर्षमा सहकारीका लागि २ लाख मात्रै बजेट विनियोजन गरिएको छ ।
सहकारी अधिकृत पाण्डेका अनुसार २ वटा सहकारीका सदस्य निक्षेप नपाएको गुनासो आएको बताइन् । ‘हामीले छलफल गरेर निक्षेप दिलाउन सफल भएका छौं’ उनले भनिन् । ताकेता गरी साधारणसभा गरेपछि सहकारी राम्रोसँग सञ्चालन भइरहेको उनले बताइन् ।
Leave a comment