काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले कोपोमिसमा सबै सदस्यलाई समावेश गराउने प्रतिवद्धता जनाएका छन् । नेपाल सहकारी पत्रकार समाज(सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा भएको ‘कोपोमिस अभिलेखीकरण अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले ६८ वटा शाखा मार्फत सदस्य सबै सहकारीलाई कोपोमिसमा जोड्न पहल लिने बताए ।
‘८ हजार बचत सहकारीसहित बैंकका १५ हजार सदस्यलाई कोपोमिसमा ल्याउन प्रतिवद्धता व्यक्त गर्दछु’ उनले भने,‘शाखा प्रमुखलाई तालिम दिएर सहकारीलाई आबद्ध गराउने निर्देशन दिनेछौं ।’ राष्ट्रिय सहकारी महासंघका सञ्चालकसमेत रहेका उप्रेतीले संघहरुलाई पनि सहभागी हुन निर्देशन जारी गर्ने बताए । ‘जवाफदेहिता सबैमा हुनुपर्छ’ उनले भने,‘हामी सहकार्य गर्न तयार छौं ।’
कोपोमिसमा आबद्ध गराउनका लागि सातै प्रेदशमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा सहकारी अधिकृतसँग कार्यक्रम गरौं’ उनले भने । पालिकाले भनेको भरमा सहकारीका तथ्यांक राख्दा वास्तविक नआउने भन्दै बैंकका अध्यक्ष उप्रेतीले कोपोमिसमार्फत यथार्थ तथ्यांक लिन सकिने बताए । १५ हजार सदस्य सहकारीमध्ये कति कोपोमिसमा आबद्ध भए भन्ने यकिन तथ्यांक लिई नआएका सहकारीको समस्यासहित विभागमा पठाउने उनले बताए ।
Leave a comment