काठमाडौं । सरकारले सहकारीलाई स्थानिय तहमा जिम्मेवारी दिएपछि चन्द्रागिरी नगरपालिकामा १६ वटा सहकारी थपिएका छन् । नगरपालिकाले १५ वटा बहुउद्देश्यीय र एक उपभोक्ता सहकारी दर्ता गरेको हो ।
नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख रजस खड्काले जनशक्ति कम भएकाले सहकारीको वास्तविक तथ्यांक राख्न नसकिएको बताए । नगरपालिका बल्ल सहकारीको सेयर पुँजी, बचत तथा निक्षेप परिचालन, सदस्य तथा रोजगारीको संख्यालगायतका तथ्यांक संकलनमा लागेको छ ।
डिभिजन सहकारी कार्यालय काठमाडौंले चन्द्रागिरी नगरपालिकालाई १ सय ३७ वटा सहकारीको अभिलेख हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरिएकामध्ये ९२ बचत तथा ऋण, ३४ वटा बहुउद्देश्यीय, ९ वटा कृषि सहकारी र २ वटा उपभोक्ता सहकारी संस्था हुन् ।
जनशक्ति अभावका कारण नगरपालिकाले सहकारीको सघन अनुगमन गर्न सकेको छैन । तर, सहकारीको मासिक प्रतिवेदन माग्ने, प्रवद्र्धनात्मक काम भने गर्दै आएको आर्थिक विकास शाखा प्रमुख रजस खड्काले बताए । नगरपालिकाले कोपोमिसमा सहकारी आबद्ध गराउन पहल सुरु गरेको छ ।
नयाँ दर्ता भएका सहकारीले युजर नेम र पासवर्ड पाएका छैनन् । विभागले दिएको सहकारीको ४० वटाले पनि पछिल्लो समयमा नियमित अपडेट गरेका छैनन् । सुरुमा प्रतिवेदन कोपोमिसमा आएपनि नियमित आउन छोडेको उनले जानकारी दिए । नगरपालिकाले सहकारीका लागि यस वर्ष १० लाख बजेट विनियोजन गरेको छ । त्यसबाट प्रवद्र्धनात्मक काम गर्दै आएको छ ।
नगरपालिकाले ७० सहकारीलाई एक दिनको कोपोमिस तालिम दिएको थियो । नगरपालिकाले सहकारीले बचत तथा ऋणको कारोबारसँगै उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । यहाँका सहकारीले किराना पसल, कृषि, फर्म, कुखुरापालन, च्याउ उत्पादन लगायतका काम गरिरहेका छन् ।
केहीले सहकार्य गरेर बस सेवा सञ्चालन गरेका छन् । चन्द्रागिरी बस सहकारीकै साझेदारीमा सञ्चालनमा आएको हो । गाइभैंसी पालेर दूध बेच्ने सदस्य पनि बढ्दै गएको उनले बताए । केही सहकारीले डिपार्टमेन्टल स्टोर पनि सञ्चालन गरेका छन्।
Leave a comment