नगरपालिकामा ५८ वटा बचत तथा ऋण, ४२ कृषि, २३ वटा बहुउद्देश्यीय र च्याउ तथा दुग्ध २–२ वटा गरी १२७ सहकारी दर्ता छन् ।
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाको कार्यक्षेत्रमा अन्र्तगत रहेका सहकारीमध्ये २० वटा निश्क्रिय पाइएको छ । सहकारी शाखा प्रमुख ऋषिराम अधिकारीले चलाउन नसकेको, कतिपय अनुदानको लोभमा खुलेका सहकारी निश्क्रिय हुन थालेको जानकारी दिए । ‘अनुदान पाएपछि चुप लागेर बसे’ उनले भने ।
त्यस्तै नगरपालिकाले आर्थिक हिनामिना गरेका सहकारीलाई कारवाहीका लागि सिफारीस समेत गरेको छ । शाखा प्रमुख अधिकारीले उत्साह र रसाह बचत तथा ऋण सहकारी संस्थाका संचालकलाई कारवाहीका लागि प्रहरीमा सिफारीस गरिएको जानकारी दिए ।
गोदावरीका ५० प्रतिशत सहकारीले तरकारी खेती लगायत उत्पादनमुलक काम गरेका छन् । यसैगरी किरानालगायतका व्यापारका साथै घरजग्गामा समेत लगानी गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले तत्कालिन डिभिजन कार्यालयबाट हस्तान्तरण भएका १ सय २८ सहकारीहरुको संख्या वृद्धि नगर्ने नीति लिएको छ । तर, पछिल्लो समयमा चारवटा सहकारी मर्जरपछि प्रदेशमा गएकाले त्यसको ठाउँमा चारवटा बहुउद्देश्यीय संस्था दर्ता गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सहकारी प्रवद्र्धनका लागि लेखा हेर्ने कर्मचारी, कोषाध्यक्ष, लेखा संयोजकलाई तालिम दिनुका साथै सहकारी व्यवस्थापक तथा शिक्षा तालिम समेत गर्दै आएको छ । नगरपालिकामा हाल ५८ वटा बचत तथा ऋण, ४२ कृषि, २३ वटा बहुउद्देश्यीय र च्याउ तथा दुग्ध सहकारी २–२ वटा रहेका छन् ।
नगरपालिकाले अनुगमनलाई पनि तिव्रता दिएको छ । यस वर्ष १५ वटा सहकारीको अनुगमन गरिएको शाखा प्रमुख अधिकारी बताउँछन् । प्रचलित कानुन, मापदण्ड अनुसार सहकारी सञ्चालन भए÷नभएको अनुगमनका क्रममा हेर्ने गरिएको र लेखा व्यवस्थापन कुन ढंगले राखिएको भन्ने विषयमा पनि अनुगमन गरिएको जानकारी दिए ।
नगरपालिकाको शाखालाई सहकारीका साथसाथै उद्योग, व्यवसाय, घ वर्गको निर्माण कम्पनीको समेत जिम्मेवारी दिइएको छ । शाखा प्रमुख अधिकारीका अनुसार ८७३ वटा व्यवसाय, १०० वटा निर्माण व्यवसायीलाई नियमन गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।
तीन जना कर्मचारी रहेको शाखाबाट चारवटा क्षेत्रको काम गर्नुपर्ने भएकाले सहकारीको अनुगमन ओझेलमा परेको उनले बताए । ‘अनुगमन राम्रो बनाउन एकदिन मात्रै गरेर पुग्दैन’ उनले भने, ‘नियमित अनुगमन गर्न कर्मचारीकै अभाव छ ।’
Leave a comment