Sahakari Akhabar

सहकारी एकीकरणमा स्थानीय सरकारको ध्यान जानुपर्छ

सहकारी एकीकरणमा स्थानीय सरकारको ध्यान जानुपर्छ :: Sahakari Akhabar

दोलखा पर्यटकीय धार्मिक एवं सांस्कृतिक क्षेत्रमा अगाडी रहे जस्तै सहकारी क्षेत्रमा पनि निकै नै अगाडि बढेको छ । यहाँ अन्तर्राष्ट्रिय स्तरका नमुना योग्य सहकारी संस्थाहरू छन् । दोलखा एकीकरण अभियानको अगुवा जिल्ला पनि हो । जिल्लामा एकपछि अर्को सहकारी एक अर्कामा एकीकरण हुने लहर नै चलेको छ । पछिल्लो समय जिल्लालाई सहकारीको नमुना जिल्ला घोषणा गर्नुले पनि यसको पुस्ट्याइँ गर्दछ ।

जिल्लामा ५२३ सहकारीको तथ्याङ्क रहेको छ । यसमध्ये २३ वटा सहकारी संस्था मर्ज भइसेका छन् भने धरै सहकारीले एकीकरणको प्रक्रिया सम्पन्न गरेका छन् । केहीले एकीकरणको तयारी गरिरहेका छन् । जब प्रदेश सहकारी नियमावली आयो तब सहकारी मर्जरले गति लियो ।

तर स्थानीय तहमा अझै सहकारी दर्ता भइरेका छन् । सङ्घीय सहकारी विभागले सहकारी दर्ता गर्न रोक लगाएर एकीकरणलाई प्राथमिकता दिँदै गुणस्तरमा ध्यान दिनु पर्छ भनिरहँदा स्थानीय सरकारले सहकारी दर्तालाई रोक लगाउन सकेको छैन । जसका कारण सहकारीको एकीकरण कार्य प्रभावित बनेको छ ।

सहकारीको सेवा प्रति मानिसको अविश्वास बढ्नुको साथै नियामकको आपसी तालमेल नहुँदा भद्रगोलको अवस्था हुने देखिन्छ । अब भएका सहकारीबाट गुणस्तर सेवा दिने कि थप सहकारी दर्ता गर्ने त । सहकारी किन एक आपसमा मर्जर हुन सकेका छैनन् त ।

सहकारी मर्जर नहुनुको कारण पत्ता लगाउन गारो छ । सहकारीको साधारण सभा होस् या अन्य कुनै कार्यक्रम होस् । सहकारीका नेताले भाषणमा सधैँ झुन्डाउने शब्द हो सहकारी एकीकरण तर एकीकरणको सहजीकरण गर्ने कसले र कार्यान्वयन गर्ने कसले भन्ने बारे अहिले पनि अनभिज्ञ छन् सहकारी नेता । हाल कति सस्ताहरूले आफ्नै सहकारी संस्थाहरूमा सहकारी एकीकरण कार्यदल बनाएर सहकारी एकीकरण गरेका छन् ।

एकीकरणको आवश्यकता किन

दोलखा जिल्लामा  सहकारी मर्जर आवश्यक हो कि होइन भन्नु भन्दा पनि जिल्लालाई ५०२ सहकारी आवश्यक हो कि होइन भन्ने प्रश्न उठ्छ । जिल्लामा ५०० सहकारी छन् र ९ वटा स्थानीय तह छन् । प्रत्येक स्थानीय तहहरुमा राम्रो सहकारी पनि छन् । ती सहकारी कसरी राम्रा भए त किन अरू सहकारी राम्रा बन्न सकेन ।

प्रत्येक स्थानीय तहमा सदर ५० भन्दा माथि सहकारी छन् र राम्रा पनि छन् । स्थानीय तहमा समान रूपमा चाहिँ सहकारी छैनन् । जिल्लामा बचत तथा ऋण सहकारी कै बाहुल्यता छ । यसको मतलब सबै नाफामुखी सहकारी छन् । जिल्लाको सहकारी अभियानलाई सदस्यमुखी, रोजगारमुखी, सदस्यको स्तर उन्नतिको लागि र गुणस्तरीय सेवा कालागि अव सहकारी संस्था मर्जरमा जानु परेको छ ।

जिल्लाको सहकारी अभियानलाई मर्जर किन गर्नु पर्छ भने, सहकारीहरूको प्रशासनिक खर्च (कष्ट अफ फन्ड) समेत धरै छ । यसलाई कम र नियन्त्रण गर्न पनि अब जिल्लाका सहकारीहरू मर्जरमा जानु आवश्यक पर्छ । त्यस्तै यो मर्जरको अभियानमा पनि स्थानीय तहले पनि पहल गर्नु पर्छ ।

यसले सबै सहकारी संस्थाकै लागि फाइदाको कुरा हो । स्थानीयले यस कार्यमा कडाइका साथ पहल पनि गर्नु पर्छ । अबको सहकारी अभियानको बाटो भनेको नीति, विधि, प्रविधि र सुशासन युगको हो र अबका दिनमा सहकारीले डिजिटल युक्त प्रविधिमा जोड दिनु पर्छ ।

सहकारी संस्थामा कारोबार गर्दा डिजिटले प्रविधिमा हुन आवश्यक छ र हुनु पनि पर्छ  । यस्तो गर्न जिल्लामा रहेका सहकारी साना ठुला सहकारी एक भएर अघि जान आबश्यता छ । साना सहकारीलाई नीति, विधि र प्रविधिमा जान पनि गारो हुन्छ त्यो कार्य गर्न सक्दैनन् ।

साना सहकारीलाई त मर्जरमा जानुको विकल्प नरहेको सरोकारवालाहरूको भनाई छ । साना साना सहकारीलाई एकीकरण नगर्दा पनि समस्या भएको छ । किनभने प्रविधियुक्त सहकारी र ठुला सहकारीमा भएको जस्तो सेवा सुविधा दिनसकेका छैनन अहिले सदस्यहरूले प्रविधि युक्त सेवा र सुविधा खोज्छन् ।

एकीकरणको लहर 

दोलखा जिल्लामा सहकारीको तथ्याङ्क हेर्दा नेपालका नमुना र देशका उत्कृष्ट सहकारी रहेका छन् । सहकारी अभियानले पनि दोलखालाई थप परिचित गर्दछ । दोलखामा एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारीले एकै पटक ९ वटा र हालसम्म १५ वटा सहकारी एकीकरण गरी सकेको छ ।

त्यस्तै जिल्लाको ठुलो र एसिया स्तरको सहकारी बैतेश्वर ५ मैना पोखरीमा रहेको जनसचेतन साकोसले हाल सम्म ४ वटा सहकारी एकीकरण गरी सकेको छ । त्यस्तै बैतेश्वर ५ मैना पोखरीमा रहेको जनमुखी साकोसले १ वटा एकीकरण गरेको छ भने केही सम्झौतामा रहेका छन् ।

मिलीजुली कालिन्चोक साकोसले हाल सम्म  १२ वटा सहकारी एकीकरण गरी सकेको छ । त्यस्तै अर्थभूमी साकोसले ५ वटा सहकारी एकीकरण गरेको छ । बैतेश्वर गाउँपालिका ३ मा मुख्य कार्यालय भएको जनउत्थान साकोसले पनि २ वटा संस्था एकीकरण गरेको छ । कति संस्थाहरूले किरणमा सम्झौता गरेका छन् भने कतिले प्रमाण पत्र लिन बाँकी रहेको छ ।

सजिलो छैन सहकारी एकीकरण

जिल्लामा सहकारी मर्जरको विषय उठाउन जति सजिलो छ त्यसलाई कार्यान्वयनमा लैजान निकै कठिन छ । किन भने सहकारीहरू आफै मर्जरमा जान चाहँदैनन् । जिल्लामा सहकारी मर्जरको विषयमा प्रयास नभएको होइन । सङ्घीय सहकारी विभागले सहकारी मर्जरको निर्देशिका जारी गरेको थियो ।

तर सहकारी संञ्चालकहरुले यस निर्देशिकालाई आजसम्म प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन सकेका छैनन् । अब सहकारी मर्जरमा स्थानियतहले दबाबमूलक नीति ल्याउनुपर्ने देखिन्छ । यता सहकारीलाई फोर्स मर्जरमा लैजान कहीँ कतै बाध्यकारी व्यवस्था नभएकोले पनि सहकारीको गुणात्मक भन्दा सङ्ख्यात्मक मात्र विकास भएको पाइएको छ । सहकारी एकीकरण भाषणमा मात्र सीमित नराखी मनबाटै एकीकरणमा सरोकारवालाको ध्यान गयो भने सहकारी शुद्धि करणमा टेवा पुग्छ ।



Leave a comment