युथ फोरमको तयारी अन्तिम चरणमा 

युथ फोरमको तयारी अन्तिम चरणमा  :: Sahakari Akhabar

काठमाडौं । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय सहकारी महासंघले आयोजना गर्नेे युथ फोरमको तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौंको एभरेष्ट होटलमा चैत्र २५ र २६ गते हुने ‘को–अपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम’ को तयारी अन्तिम चरणमा पुगेको संयोजक तथा महासंघका संचालक सागर ढकालले जानकारी दिए ।

फोरमको सह आयोजकमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । सहभागिताको लागि नाम दर्ताको काम भने भईरहेको छ । कार्यक्रममा सहभागिता जनाउन केही सिट मात्र बाँकी रहेको महासंघले जनाएको छ ।

फोरममा देशभरका दुई सय पचास सहकारीका सञ्चालक, युवा उद्यमीहरु र प्रतिनिधिहरुको सहभागिता रहने महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक ढकालले बताए । फोरममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुती समेत हुने ढकालले बताए ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका गोविन्द घिमिरे, अष्ट्रेलियाका पूर्व राजदूत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोका लगायतले नेपालमा युवा र उद्यशीलता विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न सहयोग गर्नु गोष्ठिको प्रमुख उद्देश्य रहेको ढकालको भनाई छ । ‘युवाहरुलाई उद्यमशील बनाउने, मुलुकको आर्थिक विकास र समृद्धिमा सहभागीता र योगदान बढाउन फोरमले भमिका खेल्ने अपेक्षा हामीले गरेका छौैं’, संयोजक ढकालले भने, ‘फोरमले सहकारीको नीति निर्माणमा युवा सहभागिताको लागी दवाव सिर्जना गर्न र सहकारीमा नविन सोच, प्रविधिको विस्तार साथै युवा मैत्री वातावरण निर्माणमा फोरमले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।’



Leave a comment