पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा र तालचोक शाखाको आयोजनामा पोखराका सहकारीकर्मीहरुका लागि एक दिने प्रविधिमा हुने जोखिम न्यूनिकरण साइबर सुरक्षा तालिम सोमबार सम्पन्न भएको छ ।
सहकारीहरु प्रविधिको उपयोगतर्फ अग्रसर भैरहेको अवस्थामा प्रविधिको प्रयोगमा आउन सक्ने जोखिमको पहिचान र न्यूनिकरणका लागि सहयोग पुग्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी क्षेत्रले वित्तीय, उत्पादन लगायतका क्षेत्रमा बिचौलियाको अन्त्यका लागि प्रयत्न गर्दै आएकोमा पछिल्लो समय प्रविधि क्षेत्रका बिचौलियाहरुसंग पनि लड्नु पर्ने अवस्था आएको बताए ।
उनले सहकारीलाई व्यावसायिक र मर्याृदित बनाउन प्रविधिको प्रयोग अपरिहार्य छ, प्रविधिको प्रयोग गर्दा पनि व्यसायमा हुने नोक्सानीलाई न्यूनिकरणका लागि साइवर सुरक्षा सम्बन्धी सचेतना आवश्यक रहेको बताए ।
कार्यक्रममा सहजीकरण गर्दै बैंकका आइटी विभाग प्रमुख नविन कुमार कार्कीले प्रविधिको पहुँच बढेसंगै यो क्षेत्रमा विभिन्न प्रकारका चुनौतीहरु पनि आएको बताए । प्रविधिमा आउन सक्ने चुनौतीलाई न्यूनिकरणका लागि सबै सचेत हुनु पर्नेमा जोड दिदै उनले सहकारी बैंकले आफ्ना सदस्य र आम सहकारीकर्मीहरुलाई प्रविधिमा हुने जोखिम सम्बन्धी सचेतना फैलाउने काम गर्दै आएको बताए ।
कार्यक्रम राष्ट्रिय सहकारी बैंक पोखरा शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङको अध्यक्षता, पोखरा शाखाका प्रमुख नरेश पाण्डेको स्वागत र तालचोक शाखाका प्रमुख सन्तोष घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
Leave a comment