बागलुङ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले विपन्न समुदायको आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण माध्यम सहकारी भएकाले सहकारीमार्फत स्थानीय तहको विकासमा जुट्न आव्हान गरेका छन् । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आइतवार बागलुङमा आयोजित मुल समारोहको उद्घाटन पछि बोल्दै नगरप्रमुख पौडेलले यस्तो बताएका हुन् ।
सहकारीले ग्रामिण समुदायमा वित्तीय पहुँच पुर्याउनुका साथै समाजमा मेल मिलाप कायम गर्न, आर्थिक स्रोतको पहिचान र परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, नगर प्रमुख पौडेलले भने, सहकारीले धेरै राम्रो काम गर्दा गर्दै पनि कतिपय सहकारीले सहकारीको मर्म विपरित काम गरेका कारण यो क्षेत्रले सोचेजति प्रतिफल दिन नसकेको बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीले सञ्चालन गर्ने व्यवसायलाई सदस्य केन्द्रीत बताउने, मर्यादित बनाउनुका साथै प्रविधिको अधिकतम उपयोग गरी सहज र सर्वसुलभ सेवा दिन सहकारीलाई सक्षम बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार दिपक गौतम, जिल्ला कृषि सहकारी संघका अध्यक्ष नर बहादुर थापा, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।
मुल समारोह पूर्व समिटचोकबाट शुरु भएको सहकारी संघ संस्थाका ब्यानर, प्लेकार्ड सहितको र्यालीले बजार परिक्रमा गरेको थियो । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा ३ दिनसम्म आयोजित कार्यक्रम अन्तरगत पहिलो दिने बजार सरसफाई, दोस्रो दिन प्रविधिमा हुने जोखिम न्यूनिकरण (साइवर सेक्युरिटी तालिम) सम्पन्न गरिएको थियो । जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी (अञ्जु) को अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।
Leave a comment