हाइलाइट

सहकारीले आर्थिक विकासमा जोड दिनुपर्छ : प्रमुख खापुङ 

सहकारीले आर्थिक विकासमा जोड दिनुपर्छ : प्रमुख खापुङ  :: Sahakari Akhabar

चीना थापा, विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले सहकारी संघ संस्थाहरु उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्ने बताए । ६५ औं राष्टिय सहकारी दिवसको अवसरमा दिवस मूल समारोह समिति मोरङले लेटाङमा आयोजना गरेको सहकारी दिवस कार्यक्रममा बोल्दै उनले आर्थिक विकास भएमा मात्र राष्टिय एकता हुने बताउँदै राष्टिय एकताको बलबाट नै देशको एकता कायम गर्नुपर्ने बताए । उनले मुलुकमा प्राप्त भएको तोकतन्त्र गणतन्त्र बलियो बनाउनुपर्ने भएकाले सहकारी क्षेत्र यी कुरमा अगाडी बढेको खण्डमा लक्ष्यमा पुग्न सक्ने बताए ।

खापुङले सहकारी क्षेत्रमा महिलाको सहभागिता बढी हुनु सकारात्मक भएको बताउँदै अर्थपूर्ण सहभागितामा जोड दिए । राजनीतिक, प्रशासनिक क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत पनि नपुगेको अवस्थामा सहकारी क्षेत्रमा ५६ प्रतिशत महिला सहभागिता हुनुले अन्य क्षेत्रमा पनि महिलाको सहभागिता बढाउन सघाउ पुर्याउने उनको भनाई छ ।

त्यसैगरी मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा सहकारी अभियानता घनश्याम खतिवडाले अहिले तीनै तहको सरकारले सहकारीलाई सात्मसाथ गरेर जानुपर्ने बताए । तीनै तहको सरकारको दायित्व पनि रहेको उनको भनाई छ । सहकारीलाई काम गर्न सहकारी ऐन बाधक भएकाले सहकारी ऐन २०७४ लाई संसोधन गर्नुपर्ने धेरै बुँदाहरु रहेका उनले बताए । सहकारी ऐन संसोधनका लागि आफुले पहल पनि गरिरहेको खतिवडाले बताए ।

सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्री ओम प्रकाश सरावगीले सहकारीले बचत गरेर ऋण प्रवाह गरेर मात्र आर्थिक विकास नहुने बताए । सहकारीहरुले उत्पादनको क्षेत्रमा लगानी गरे पनि त्यो पर्याप्त नभएको उनकोे भनाई छ । आयात प्रतिस्थापनका लागि सहकारीले उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्नेमा मन्त्री सरावगीले जोड दिए ।

त्यस्तै यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले सहकारीले महिलाको सहभागिता बढाएको बताए । महिलाको सहभागिता बढाएको सहकारीले अब महिलाहरुले आर्थिक विकासमा पनि जोड दिनुपर्ने उनको भनाई छ । प्रदेश सरकारले सहकारीहरुले उत्पादन गरेको बस्तुलाई प्रदेश सरकार आफैले किनिदिने व्यवस्था गरेकाले सहकारीहरुलाई उत्पादनमा जोड दिन मन्त्री घिमिरेले आग्रह गरे ।

प्रदेश रजिष्ट्रार कार्यालयका निमित्त रजिष्टार हरि बहादुर खत्रीले सहकारीले ग्रामिण क्षेत्रको जनजीवनलाई परिवर्तन गरेको बताए । वित्तिय अनुशासनको क्षेत्रमा सहकारीले उल्लेखिय काम गरेको उनको भनाई छ । महिलाको आर्थिक अवस्थामा सुधार सहकारीले ल्याएको खत्रीले बताए ।

पहिला सहकारी डिभिजनले सबै क्षेत्रको सहकारी हेर्ने हुँदा डिभिजनले नै सहकारीको अवस्थाको बारेमा एकरुपताका साथ रिपोर्ट विभागलाई पढाउने हुँदा सजिलो भएको स्मरण गर्दै उनले अहिले स्थानिय तहले सहकारीलाई प्राथमिकतामा नराख्दा समस्या देखिएको बताए ।

सहकारी अभियान्ताहरु धेरै स्थानिय तहमा निर्वाचित भएर गएको भएपनि काम गर्ने बेलामा सहकारीलाई प्राथमिकतामा नराखेको उनको गुनासो छ । प्रदेशमा ४७२९ सहकारी संस्था रहेको र प्रदेश रजिष्टार कार्यालयमा १०६५ वटा आवद्ध भएको उनले जानकारी दिए ।

जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले सहकारी अभियान आर्थिक परिचालनका लागि मात्र नभएर विकासको रुपमा अघि बढ्नुपर्ने बताए ।

पुरस्कार र सम्मान

सहकारी दिवसको अवसरमा मूल आयोजक समितिले निकालेको र्यालीमा प्रथम हुने दिपज्योति नारि विकास बचत तथा ऋण सहकारी संस्था लि. बेलबारी, द्धितीय हुने सदावहार प्राङ्गारिक कृषि सहकारी संस्था लि. लेटाङ,  तृतीय हुने नेवा : बचत तथा ऋण सहकारी संस्था लि. लेटाङ र सान्त्वना हुने प्रकाश बचत तथा ऋण सहकारी संस्था लि. जहदालाई पुरस्कृत गरिएको छ । क्रमश ः ५, ३, २ र १हजार नगद सहित उनीहरुलाई पुरस्कृत गरिएको हो ।

त्यस्तै पन्चेबाचासहित कार्यक्रममा सहभागि भएको जनकल्याण बचता तथा ऋण सहकारी संस्था लि लेटाङलाई नगद ५ हजार सहित सम्मान गरिएको थियो । कार्यक्रममा अग्रज  सहकारीकर्मी मित्रप्रसाद भण्डारी र मिनादेवी बराललाई सम्मान गरिएको छ । सहकारी दिवस कार्यक्रम मनाउनको लागि ५ हजार माथि आर्थिक सहयोग गर्ने सहकारीहरुलाई पनि कदर पत्र तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।



Leave a comment