झापा । झापा जिल्ला सहकारी संघले विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। ६५ औं सहकारी दिवसको अवसरमा आयोजित ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’ सम्मेलनको अवसर पारेर संघले सम्मान तथा पुरस्कार घोषणा गरेको हो ।
संघले हरेक वर्ष सहकारी दिवसको अवसर पारेर पुरस्कार तथा सम्मानको घोषणा गर्ने र साधारणसभामा प्रदान गर्ने प्रचलन गरेको संघका अध्यक्ष गणेश ढकालले जानकारी दिए ।
६५ औं सहकारी दिवसको अवसरमा शनिबार विर्तामोडमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले यस वर्षको पुरस्कार घोषणा गरे ।
यस वर्ष संघले ‘झापा सहकारी सम्मान पुरस्कार’ राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बास्कोटालाई प्रदान गर्ने घोषणा गरेको छ । पुरस्कारको राशी २५ हजार ५५५ रुपैयाँ रहेको छ ।
यसैगरी संघले पूर्व संचालक सम्मान हरिकिशोर आचार्य र उत्कृष्ट संचारकर्मी सम्मान लक्ष्मण ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ । दुवै सम्मानको राशि १० हजार ५५५ रुपैयाँ रहेको छ ।
यसैगरी संघले उत्कृष्ट कारोबार गर्ने सहकारी संस्थाहरुलाई पनि सम्मान घोषणा गरेको छ । जसमा बहुउद्देश्यीय सहकारी सम्मान गणेश बहुउद्देश्यीय सहकारी संस्था, उत्कृष्ट बचत तथा ऋण सहकारी सम्मान सिम्रिक बचत तथा ऋण, र उत्कृष्ट कृषि सहकारी सम्मान लगनशिल कृषि सहकारी छन् ।
त्यसैगरीउत्कृष्ट बचत कारोबार सम्मानबाट नेपाल बहुउद्देश्यीय, उत्कृष्ट कर्जा कारोबारबाट फाल्गुनन्द बचत तथा ऋणलाई समेत सम्मान प्रदान गर्ने घोषणा गरेको छ । सबै सम्मानको राशि १० हजार ५५५ रुपैयाँ रहेको छ ।
यस्तै संघले उत्कृष्ट व्यवस्थापकमा महिलाबाट हिमाञ्चल बचत तथा ऋणकी अरुणा राई र पुरुषबाट विराट बहुउद्देश्यीय सहकारी रुद्र सिटौलालाई प्रदान गर्ने निर्णय गरेको छ । सम्मानको राशी ५ हजार रुपैयाँ रहेको अध्यक्ष ढकालले जानकारी दिए ।
Leave a comment