बागलुङ । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बागलुङमा आज बिहान बजार सरसफाई गरिएको छ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङ र बागलुङ नगरपालिकाको संयुक्त आयोजनामा ३ दिनसम्म मनाइने दिवस कार्यक्रमको पहिलो दिन बजार सरसफाई गरिएको हो ।
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सरसफाई कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । सरसफाई कार्यक्रमले बजार सफा राख्नु पर्छ भन्ने सन्देश प्रवाह गर्ने प्रमुख पौडेलले बताए ।
बागलुङ नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरु, जिल्ला सहकारी संघ, विषयगत सहकारी संघहरु तथा प्रारम्भिक सहकारी संस्थाका पदाधिकारी सदस्य र कर्मचारीहरुको सरसफाई कार्यक्रममा सहभागिता रहेको थियो ।
ट्राफिकचोकदेखि धौलागिरी अस्पतालसम्म सरसफाई गरिएको जिल्ला सहकारी संघले जनाएको छ । सरसफाई कार्यक्रममा सहभागीहरुलाई जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले धन्यवाद ज्ञापन गरेकी थिइन ।
उनले बागलुङ नगरपालिका र जिल्ला सहकारी संघको आयोजनामा मनाइने राष्ट्रिय सहकारी दिवस अन्तरगतका कार्यक्रमहरु सफल पार्नका लागि सबैलाई आव्हान गरेकी थिइन ।
कार्यक्रमको सञ्चालन बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद पौडेलले गरेका थिए । सहकारी दिवसका अवसरमा चैत १९ गते बिहान ११ बजेदेखि प्रविधिमा हुने जोखिम सम्बन्धी साइबर सेक्युरिटी तालिम र २० गते बिहान प्रभातफेरी सहित मुल समारोहको आयोजना गरिएको संघले जनाएको छ ।
Leave a comment