झापा । झापा जिल्लाका सहकारी संस्थाहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएका छन् । ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’ मा जिल्लाका सहकारी अभियानको अवस्थाबारे कार्यपत्र पेश गर्दै संघका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका संचालक महेन्द्र गिरिले जिल्लामा सिंगो सहकारी अभियानले नै अनुशरण गर्न लायक उदाहरणीय काम भएको उल्लेख गरे ।
सहकारीमार्फत वित्तीय सेवाका साथसाथै कृषि, उपभोक्ता पसल, सहकारी अस्पताल, आयमुलक तथा सिपमुलक कार्यक्रम संचालन भइरहेको गिरीले बताए । सहकारीहरु विस्तारै उत्पादन तथा व्यवसायकरणतर्फ आकर्षित हुन थालेका छन् ।
सहकारीहरुले वित्तिय सेवा अन्र्तगत बचत, ऋण, रेमीटान्स र बिमा सेवा दिएका छन् । यस्तै कृषी तथा पशुसेवा अन्र्तगत विउ विजन, मलखात, प्राविधिक सेवा, दुग्ध संकलन तथा वितरण, सामुहीक खेतीमा सहकारीहरुले काम गरिरहेका छन् ।
सहकारीको सेवाका कारण जिल्ला मासुमा आत्मनिर्भर भएको, उत्पादन, प्रशोधन र वजारीकरणको काम भएको, जडीवुटी, मह, दुुध, सुपारी र चिया उद्योग संचालन भएको, उपभोक्ता पसल, सहकारी अस्पतालका साथै आयमुलक तथा सिपमुलक कार्यक्रम संचालन भएको गिरीले बताए ।
झापामा कुल ८०२ वटा सहकारी संस्था दर्ता रहेका छन् । यसमध्ये जिल्ला संघमा ४९६ वटा संस्था सदस्य रहेका छन् । जिल्लामा एक जिल्ला सहकारी संघ, बिषयगत संघ आठ, राष्ट्रिय सहकारी बैकका सेवा केन्द्र तीन, नेफ्स्कुनका फिल्ड कार्यालय तीन, विशिष्टकृत संघ दुई र पालिका स्तरीय समन्वय समिती १५ वटा सहकारी अभियानमा सक्रिय छन् ।
संघको शेयर पूँजी ३६ करोड ६२ लाख रुपैयाँ, कर्जा लगानी १९ करोड २३ लाख र निक्षेप २६ करोड ३९ लाख रुपैयाँ पुगेको छ । संघले संस्थाहरुकोे प्रर्वधन र विकासका लागि नेतृत्व विकास गर्न क्षमता अभिवृद्धि, अभियानको सकारात्मक प्रचार प्रसारका साथै प्रारम्भिक संस्था, विभिन्न एकाई ,विषयगत संघ, प्रदेश संघ, केन्द्रीय संघ, र महासंघको बीचमा समन्वय र सम्वन्ध बिस्तार भएको समेत कार्यपत्रमा उल्लेख छ ।
जिल्लामा सहकारीप्रति समुदायको आकर्षणमा बढ्दो अवस्थामा रहेको र त्यसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीहरुको श्रृर्जना भएको, विपन्न सदस्यहरुको वित्तीय पहुँच बृद्धि भएको, सहकारी संस्थाहरु परम्परागत तौरतरिकाबाट आधुनिक प्रविधितर्फ उन्मुख भएको र उद्यमशिलताबाट औद्योगीकता तर्फ उन्मुख हुदै गएको समेत गिरीले उल्लेख गरे ।
झापाका सहकारीहरुले सहकारी अभियानले नै अनुशरण गर्न लायक काम गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय पहीचान वनाउन सफल भएको र राष्ट्रिय स्तरमा समेत नेतृत्व लिन सफल भएका उपलब्धी सुनाए ।
यसैगरी जिल्लामा प्रारम्भीक संस्थाहरु सवल भएपनि अभियान अझै दिगोे र सवल हुन नसकेको, प्रयाप्त अध्यन अनुसन्धान नभएको, स्थानिय तथा प्रदेश सरकारसँग समन्वय र सहकार्यमा कमी भएकोलगायतका चूनौति प्रस्तुत गर्दै यसलाई सुधार गर्नुपर्नेमा गिरीले जोड दिए ।
Leave a comment