हाइलाइट

सहकारीका समस्या समाधान गर्न अग्रसर हुँदै बैंक

सहकारीका समस्या समाधान गर्न अग्रसर हुँदै बैंक :: Sahakari Akhabar

ललितपुर । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी बैंकले ‘सहकारीको वर्तमान अवस्थाः समस्या र समाधान” विषयक लघु गोष्ठी गर्ने भएको छ । गोष्ठीपश्चात सहकारीका समस्या पत्ता लगाइ निराकरणका लागि बैंकले पहल गर्ने भएको हो ।

कार्यक्रममा ‘सहकारीको वर्तमान अवस्थाः समस्या र समाधान’ विषयक कार्यपत्र प्रस्तुुत हुने छ । बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता (लगानी योग्य पूँजि) को अवस्थाका बारेमा सहभागीहरुको भोगाई, अवलम्बन गरेका नीति, संस्थाद्वारा गरिएका असल अभ्यास र अपनाउनु पर्ने उपायकाबारेमा केन्द्रीत भएर छलफल गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

सहकारी सुदृढिकरणका समस्या, राष्ट्रव्यापी तरलता समस्याका सम्भावित कारण, तरलता संकटमा :सहकारीको अवस्था, तरलता संकटबाट बच्न सहकारीले तत्काल अवलम्बन गर्नु पर्ने उपायहरुको विषयमा समेत छलफल हुने छ । छलफलमा प्राप्त भएको सुझाव, गोष्ठीको निचोडको आधारमा बैंकले थप नीति तथा कार्यक्रम मार्फत योजना बनाउने बैंकले जनाएको छ ।

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने थिमका साथ चैत्र २० गते मनाइने ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बैंकको ६८ वटै शाखा कार्यालय मार्फत चैत्र १८ देखि २१ गते सम्म ‘लघु गोष्ठी’ गर्ने बैंकका अध्यक्ष के.बी. उप्रेतीले बताए  ।

गोष्ठी कार्यक्रम प्रत्येक शाखा कार्यालयमा हुने छ ।  गोष्ठीमा बैंकका सञ्चालक, शाखा समन्वय उप–समितिका संयोजक तथा सदस्य, बैंकका सदस्य सहकारी संघ संस्थाका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक तथा संञ्चालकहरु सहभागी हुने छन् ।

अध्यक्ष उप्रेतीका अनुसार सहकारीको पैसा सहकारीमै राखी सहकारी क्षेत्रको साख जोगाउन अभिप्रेरित गर्न पनि यो गोष्ठी कार्यक्रमले सहयोग पुग्ने अपेक्षा राखिएको बताए । चैत २० गते ६५औं राष्ट्रिय सहकारी दिवस सफल बनाउन राष्ट्रिय सहकारी बैंकले आफ्नो ठाउँबाट सहयोग र सहकार्य गर्ने भएको छ ।

सहकारी बैंकले देशभर रहेका शाखा कार्यालयहरु मार्फत जिल्ला र केन्द्र स्तरमा आयोजना हुने सबैखाले कार्यक्रमलाई सफल बनाउन बैंकका अध्यक्ष, सञ्चालक, उप–समितिका संयोजक तथा सदस्यहरु, कार्यरत सम्पूर्ण कर्मचारीहरु सहभागी हुने छन् ।

‘उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक’ परिकल्पना लिई अघि बढेको बैंकमा देशभरका करिब १५ हजार सदस्य सहकारी संघ संस्था सदस्य भएका छन् । ६८ वटा शाखा कार्यालयमार्फत वित्तीय तथा गैर–वित्तीय सेवा दिइरहेको छ । बैंकमा आबद्ध सहकारी संघ÷संस्थामार्फत ४० लाख भन्दा बढी जनतालाई प्रत्यक्ष–परोक्ष रुपमा बैंकले सेवा प्रदान गरिरहेको छ ।



Leave a comment