ललितपुर । जिल्ला सहकारी संघ ललितपुरको नयाँ नेतृत्व सर्वसहमतिबाटै हुने भएको छ । नयाँ नेतृत्वका लागि दर्जनौं आकांक्षी भएपनि तीनजना बलिया उम्मेदवार बनेका छन् । सञ्चालकहरु केदार गोर्खाली, बिनोद डंगोल र लेखासमिति संयोजक अनिलबीर बज्राचार्यमध्ये एक जनाले नेतृत्व गर्ने बुझिएको छ ।
संघका अध्यक्ष माधव दुलालले आकांक्षी धेरै भएपनि सर्वसहमतिबाट नयाँ नेतृत्व चयन हुने बताए । ‘निर्वाचनका लागि खासै कोही तयार छैनन्’उनले भने,‘तर, नेतृत्व गर्ने इच्छा आधा दर्जनभन्दा बढीको छ ।’ सर्वसम्मतिको प्रयास भइरहेकाले मिलाएरै नयाँ नेतृत्व हस्तान्तरण गर्ने दुलालले बताए । ‘सर्वसम्मत गर्ने सवालमा इच्छुकहरुले पनि छोड्नुपर्ने हुन्छ’ उनले भने ।
सकभर सहमतिबाट नेतृत्व लिने पक्षमा आधा दर्जनभन्दा बढी आकंक्षी देखिए पनि चुनाव लड्न तयार छैनन् । नेतृत्वका लागि आकांक्षा देखाउनेहरुमा उपाध्यक्ष रामशरण बस्नेत, सञ्चालकहरु शशीधर पोखरेल, ईन्द्र घिमिरे, सदस्य अम्बिकाप्रसाद थापा पनि छन् ।
आउँदो चैत्र २० गते सहकारी दिवसको दिन जिल्ला सहकारी संघ ललितपुरको नयाँ नेतृत्व चयन हुँदैछ । त्यसका लागि चैत्र १७ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने तालिका सार्वजनिक गरिएको छ ।
Leave a comment