काठमाडौं । हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । दिवस मनाउनका लागि हरेक वर्ष अलग–अलग नारा (थिम) पनि तय गर्ने प्रचलन छ । तर उक्त नारा अनुसार योजना बनाउने त्यस अनुसार वर्षभरीको गर्ने कामको समीक्षा नगर्दा सहकारी दिवसमा तय गरिएका नारा नेताका भाषण र कार्यक्रमका ब्यानरहरूमा मात्र सिमित भएका छन् ।
दिवसमा चर्चा ल्याउन सहकारीको नेतृत्व शब्दजालमै रमाइरहेको देखिन्छ । आकर्षक थिम तय गरिए पनि त्यस अनुरुप योजनाबद्ध ढंगले सहकारी अघि बढेको देखिदैँन । न त सहकारीलाई राज्यले प्राथमिकता दिन सकेको छ न सहकारी अभियानले गति प्रदान गर्न सकेको छ ।
यस वर्ष आकर्षक शब्द चयन गर्नेलाई उपयुक्त पुरस्कार दिइने सार्वजनिक सूचना नै जारी गरियो । राष्ट्रिय सहकारी महासंघले उत्कृष्ट नारा तय गर्नेलाई पुरस्कार दिने घोषणा गरेपनि उत्कृष्ट प्रस्ताव नआएको भन्दै पूरानै नारालाई निरन्तरता दिने निर्णय गरिएको छ ।
महासंघले गत वर्ष ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारा तय गरेको थियो । यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि गाइडलाइन बनाउने चर्चा पनि गरियो । तर महासंघले अझै गाइडलाइन बनाउन सकेको छैन ।
सहकारीविज्ञ सुर्दशन अधिकारीले मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने थिम अघिल्लो वर्ष नै तय गरिए पनि त्यस अनुरुप व्याख्यात्मक टिप्पणी आउन नसकेको बताए । सहकारीमा सुशासन ल्याउँदै मर्यादित व्यवसायका रुपमा अघि बढाउने एवम् अन्तर सहकारी कारोबार, मोवाइल बैंकिङ, कोपोमिस, प्रविधिबाटै अनुगमनको व्यवस्था हुनुपर्ने भएपनि त्यसो हुन सकेको छैन ।
सहकारीविज्ञ ढकाल भन्छन्, ‘सहकारीलाई वास्ता गरिएन, भाषण गर्ने ठाउँ मात्रै बन्यो ।’ सहकारीलाई ट्रयाकमा ल्याएर समाजवादतर्फ जाने बाटो तय गर्न सरकाकारले ध्यान दिनुपर्ने उनी बताउँछन् । तर, सहकारीलाई यस दिशातर्फ उन्मुख गराउन कसैको पनि ध्यान पुग्न सकेको छैन ।
विभागका पूर्व रजिष्ट्रार समेत रहेका ढकालले अभियानले रजिष्ट्रारको स्वागत, र विदाइ गर्ने, भाषण गर्ने, आफ्नो स्वार्थको कुरा गर्नेबाहेक अरुमा चासो दिन नसकेको बताउँछन् । ‘अभियानले नीतिमा प्रभाव पार्न सकेन’ उनले भने,‘नेतृत्व वर्गले प्रारम्भीक सहकारीलाई भिजनसमेत दिन सकेन ।’
राष्ट्रिय सहकारी विकास बोर्ड बेकम्मा बनेको छ । अभियानकै सक्रियतामा बनाइएको नीति कार्यान्वयनमा आउन सकेको छैन । यसले गर्दा हरेक वर्ष तय गरिने थिम भाषण गर्नका लागि बाहेक अरु कुनै उपलब्धि हासिल हुन नसकेको जानकारहरु बताउँछन् । नाराको मर्म अनुरूप सहकारीले काम नगर्दा नारा, नारामा मात्रै सीमित भएका छन् ।
महासंघले लगातार तीन वर्षसम्म ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ नारा तय गर्याे । ६०, ६१ र ६२ औँ दिवसमा नारा दोहोरिए । एकै नारा तय भए पनि दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीको भूमिका बढेको पाइँदैन । महासंघले तीन वर्षसम्म एउटै नारा तय गर्नु महत्व दिएको बुझ्न सकिए पनि दिगो लक्ष्य प्राप्तिका लागि सहकारीले के ग¥यो भन्ने विषयमा महासंघसँग स्पष्ट जवाफ छैन ।
महासंघले विगतदेखि नै दिवसका लागि नारा तय गर्दै आएकामा त्यस अनुरूप के कति काम भयो भनेर कुनै लेखाजोखा भने गरिएको छैन । नारा औपचारिक कार्यक्रममा मात्रै सीमित भएकाले यस्ता नाराले सार्थकता पाउन नसकेको हो ।
यद्यपि, यस वर्ष सहकारीलाई प्रविधिमा भित्र्याउने प्रयासले भने सार्थकता पाएको छ । राष्ट्र बैंकले सहकारीलाई प्रविधि प्रयोग गर्न दिने मौद्रिक नीतिमा समावेश गरेसँगै सहकारीलाई प्रविधि प्रयोगमा सहज भएको छ ।हरेक वर्ष दिवसको नारा तय गरेर सहकारीलाई दिशानिर्देश गर्न खोजिए पनि महासंघले त्यस अनुरुप योजना बनाउन एवम् वर्षको अन्तमा समीक्षा गर्न समेत नसकेको सहकारीकर्मी नै गुनासो गर्छन् ।
सहकारी स्थापनादेखि हालसम्म जागरणमै सीमित छ । थिम अर्थात नारा पनि जागरणमै टेवा पुग्ने बाहेक व्यवसायिक उपलब्धि हासिल गर्न ध्यान दिइएको छैन । अर्थतन्त्रमा सहकारीलाई बलियो खम्बाका रुपमा स्थापित गराउन कुनै निकायले चासो नदिएको सहकारी विज्ञहरु बताउँछन् ।
राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडालले सहकारीले नतिजामुखी काम गर्न जोड दिनुपर्ने बताउँछन् । ‘विकास क्रमिक रुपमा अघि बढेको छ । केही समस्या पनि छन् । सबै समस्या एकैचोटी हल हुुँदैनन्’ उनले भने, थिमलाई नतिजामुखी बनाउन लाग्नुपर्छ’ उनले भने । ‘पछिल्लो समयमा सहकारी प्रविधिमा जान थालेका छन् । अझै प्रविधि र सुसासन आवश्यक भएकाले गत वर्षको थिमलाई निरन्तरता दिइएको छ’ उनले भने ।
महासंघले विगतमा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी, आर्थिक विकास र समाज रूपान्तरण, आयात प्रतिस्थापन र सामाजिक न्याय, दिगो आर्थिक विकास तथा सामाजिक न्याय, स्वाधीन अर्थतन्त्रका लागि सहकारी, मर्यादित श्रम र पर्यटनका लागि सहकारी, मर्यादित व्यवसाय र प्रविधिमा सहकारी, आर्थिक उन्नतिका लागि सहकारी लगायत नारा तय गरी सकेको छ ।
५५ औँ देखि ६५ औँ राष्ट्रिय सहकारी दिवस सम्म आइपुग्दा दर्जन बढी नाराको रचना गरिएपनि नारा औपचारिकतामा मात्रै सीमित भएका छन् । सहकारीहरू पनि त्यसरी कार्य योजना बनाएर अघि बढ्न सकेका छैनन् ।
महासंघका अध्यक्ष मिनराज कँडेलले नारा अनुसार उपलब्धि हासिल गर्न कार्य योजना बनाएर अघि बढ्ने बताउँछन् । ‘यस वर्ष कति सहकारीलाई प्रविधि प्रयोग गर्न सकिन्छ भनेर गृहकार्य गर्दै छौं’ उनले भने,‘गत वर्ष छलफल व्यापक भएपनि ठोस उपलब्धि हुन सकेन ।’देशभर ३० हजार सहकारी भएपनि वित्तीय सेवा प्रवाहमै प्रविधि प्रयोग गर्ने सहकारी निकै कम छन् । व्यवसाय गर्ने सहकारीको संख्या पनि न्यून छ ।
महासंघले गत वर्ष ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी नारा तय गरेको थियो । उक्त नारा पूर्णरुपमा असफल भएको छ । पर्यटन क्षेत्रमा सहकारीले खासै काम गर्न सकेका छैनन् । सहकारीले रोजगारी पनि सिर्जना गर्न सकेको छैन । ८८ हजार मात्रै सहकारीबाट रोजगारी सिर्जना भएको छ । कति उद्यमी भए भन्ने कसैसँग तथ्यांक छैन ।
नारा तय गरिए पनि सहकारी मार्फत रोजगारी सिर्जना गर्न र पर्यटनमा लगानी बढाउन कुनै भूमिका खेलिएको छैन । सहकारीको संख्याको तुलनामा रोजगारी निकै कम छ । यसरी औसतमा हिसाब गर्दा एक सहकारीले तीन जनालाई मात्रै रोजगारी दिएका छन् । महासंघले कोभिडपछि रोजगारी सिर्जना गर्नतर्फ हालसम्म पनि कुनै ठोस योजना ल्याउन सकेको छैन ।
बजेट, कार्यविधि र कार्यक्रम बनाएर दिवसको भोलिपल्टदेखि नै काम गर्ने र वर्षको अन्तमा ठोस उपलब्धि खोज्ने गरी काम गर्ने राष्ट्रिय सहकारी महासंघका सञ्चालक केबी उप्रेती बताउँछन् । ‘सहकारीलाई व्यावसायिक बनाउन के के गर्ने, मर्यादित तथा सुशासनयुक्त बनाउन र प्रविधि भित्र्याउन के के गर्ने भन्ने छलफल गर्दैछौं’ उनले भने, ‘यस वर्ष वर्ष केही उपलब्धि हासिल हुने छ ।’
एक दशक अवधिको सहकारी दिवसको नारा हेर्दा अर्थतन्त्रमा सहकारी अब्बल रूपमा स्थापित हुनुपर्ने हो । तर सहकारी आन्दोलनले अपेक्षाकृत काम गर्न सकेको छैन । एक अर्थले भन्नुपर्दा सहकारी अभियान जहाँको त्यही देखिएको छ ।
सहकारीले उत्पादन गर्न नसक्दा व्यापारघाटा बढिरहेको छ । कृषि तथा बहुउद्देश्यीय सहकारी पनि बचतमै लाग्ने गरेकाले सहकारीमार्फत उत्पादन बढ्न नसकेको सहकारीकर्मी नै स्वीकार गर्छन् । जसले गर्दा आयात प्रतिस्थापनमा सहकारीको योगदान देखिएको छैन । कृषि सहित पर्यटन, उद्योग, सेवा क्षेत्रमा सहकारीले काम गर्न सके मात्रै दिगो आर्थिक विकास हुनुका साथै सामाजिक न्याय स्थापित हुन सक्ने जानकारहरु बताउँछन् ।
महासंघले लगातार तीन वर्षसम्म ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ नारा तय गर्याे । ६०, ६१ र ६२ औँ दिवसमा नारा दोहोरिए । एकै नारा तय भए पनि दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीको भूमिका बढेको पाइँदैन । महासंघले तीन वर्षसम्म एउटै नारा तय गर्नु महत्व दिएको बुझ्न सकिए पनि दिगो लक्ष्य प्राप्तिका लागि सहकारीले के ग¥यो भन्ने विषयमा महासंघसँग स्पष्ट जवाफ छैन ।
दिगो विकासमा मुख्य लक्ष्य गरिबी निवारण र रोजगारी सिर्जना भएपनि यसतर्फ सहकारीको योगदान नगण्य अवस्थामा छ । अझैपनि सहकारीले विभिन्न बाहानमा चर्को व्याज लिने, सदस्यको शोषण गर्ने गरेकाले ऋण लिने व्यक्ति उद्यमी बन्न नसकी गरिबीको मारमा परेका छन् ।
आर्थिक विकास र सामाजिक रूपान्तरणमा सहकारी नारा तय गरिए पनि त्यस तर्फ सहकारीले खासै काम गर्न सकेको छैन । सहकारीले देखिने गरी कुनै पनि क्षेत्रमा उदाहरणीय काम गर्न सकेका छैनन् । बचत तथा ऋणमै सहकारी फोकस छन् । सहकारीका सदस्यले समेत ऋण लिएर व्यावसायिक भन्दा अन्य क्षेत्रमा लगानी गर्ने गरेकाले आर्थिक विकासमा सहकारीको भूमिका कम देखिएको छ ।
एक दशक अघि ‘आर्थिक उन्नतीको आधार सहकारी’ नारा तय गरिए पनि अर्थतन्त्रमा सहकारी कमजोर बन्दै गएको छ । संविधानले तीन खम्बाका रुपमा सहकारीलाई आत्मसात गरेको छ तर, पनि सहकारीले आर्थिक उन्नति हुने गरी काम गर्न सकेका छैनन् । जसले गर्दा सहकारीले अर्थतन्त्र उकास्न उल्लेखनीय काम गर्न सकेको छैन ।
महासंघले तय गरेको नाराले आयात प्रतिस्थापन र स्वाधीन अर्थतन्त्रमा सहकारीलाई जोड्न खोजेको देखिन्छ । तर नेपालको व्यापार घाटा दिनप्रतिदिन चुलिँदो छ । कृषि क्षेत्रमै २ खर्ब भन्दा बढीको आयात भइरहेको छ। चालू आर्थिक वर्षमा आयात निकै चुलिएको छ ।
सहकारीले उत्पादन गर्न नसक्दा व्यापारघाटा बढिरहेको छ । कृषि तथा बहुउद्देश्यीय सहकारी पनि बचतमै लाग्ने गरेकाले सहकारीमार्फत उत्पादन बढ्न नसकेको सहकारीकर्मी नै स्वीकार गर्छन् । जसले गर्दा आयात प्रतिस्थापनमा सहकारीको योगदान देखिएको छैन । कृषि सहित पर्यटन, उद्योग, सेवा क्षेत्रमा सहकारीले काम गर्न सके मात्रै दिगो आर्थिक विकास हुनुका साथै सामाजिक न्याय स्थापित हुन सक्ने जानकारहरु बताउँछन् ।
Leave a comment