हाइलाइट

राजसति महिला सहकारीद्वारा सदस्यलाई स्वास्थ्य सचेतना

राजसति महिला सहकारीद्वारा सदस्यलाई स्वास्थ्य सचेतना :: Sahakari Akhabar

विराटनगर । राजसति महिला बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरूको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

सहकारीको आयोजना तथा एन्जल फाउन्डेशन, उर्लाबारी–मोरङ र नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा दुई सयभन्दा बढी शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम संस्थाकी अध्यक्ष तुलसी कुँवर बिष्टको अध्यक्षता तथा बुढीगंगा गाउँपालिका–१ का वडा अध्यक्ष सोमराज काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काफ्लेले यस्ता स्वास्थ्य सचेतना कार्यक्रमले सर्वसाधारणलाई स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी प्राप्तहुने भएकाले सामान्य विषयमा अस्पताल धाउनुपर्ने अवस्था कम हुने बताए ।

उनले विशेषगरी गोप्य रोगका विषयमा धेरै मानिसले लाज वा संकोचका कारण समयमै उपचार नगरी लुकाउने प्रवृत्ति रहेको उल्लेख गर्दै त्यसले पछि जटिल स्वास्थ्य समस्या निम्त्याउने गरेको बताए ।

यस्ता सचेतनामूलक कार्यक्रमले रोगको समयमै पहिचान गरी उपचार गराउनुपर्छ भन्ने सन्देश प्रवाह गर्ने भएकाले समुदायका लागि निकै प्रभावकारी हुने उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीकी अध्यक्ष विष्टले ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल नारालाई आत्मसात गर्दै सहकारीले सदस्यहरूको आर्थिक सशक्तीकरणसँगै स्वास्थ्य प्रवद्र्धनलाई पनि प्राथमिकतामा राखेको बताइन् ।

उनले सदस्यहरूको हितका लागि स्वास्थ्य सचेतना, निःशुल्क स्वास्थ्य शिविर, सहकारी शिक्षा तथा विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिइन् । सहकारीले सदस्यहरूको आर्थिक उन्नतिसँगै स्वस्थ जीवनशैली निर्माणमा समेत महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ थियो ।

स्वास्थ्य सचेतना कार्यक्रममा एन्जल फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत तथा स्वास्थ्यकर्मी जीवन सिंह राजवंशीले पायल्स रोग, त्यसका कारण, लक्षण तथा उपचारका विधिबारे विस्तृत जानकारी गराए ।

उनले कुनै पनि रोगलाई सामान्य ठानेर बेवास्ता नगर्न आग्रह गर्दै समयमै परीक्षण र उपचार गराउनुपर्नेमा जोड दिए। विशेषगरी असन्तुलित खानपान र जीवनशैलीका कारण पायल्सको समस्या बढ्ने भएकाले स्वस्थ खानपान र नियमित जीवनशैली अपनाउन उनले सुझाव दिए ।

कार्यक्रममा स्वास्थ्यकर्मी विना सुब्बाले प्राथमिक उपचारसम्बन्धी व्यवहारिक जानकारी दिएकी थिइन् । उनले सर्प तथा अन्य विषालु जीवजन्तुले टोकेको अवस्थामा अपनाउनुपर्ने सावधानी, दुर्घटना वा आकस्मिक अवस्थाहरूमा प्राथमिक उपचार गर्ने विधि तथा समयमै स्वास्थ्य संस्थामा पुग्नुको महत्वबारे सहभागीहरूलाई जानकारी गराइन् ।

सहभागीहरूले कार्यक्रमलाई उपयोगी र ज्ञानवद्र्धक भएको प्रतिक्रिया दिएका थिए । सहकारीले आगामी दिनमा पनि सदस्यहरूको स्वास्थ्य, शिक्षा र आर्थिक सशक्तीकरणलाई लक्षित गर्दै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



Leave a comment