काठमाडौं । वीरेन्द्रनगर ६, गणेशचोक, सुर्खेतमा मुख्य कार्यालय रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था २५ वर्ष प्रवेश गरेको छ । संस्थाले विभिन्न सामाजिक कार्यगर्दै स्थापना दिवस तथा रजत जयती मनाएको छ ।
संस्थाले असार २२ गतेका दिन २५औँ स्थापना दिवस (रजत जयन्ती) समारोह सम्पन्न गरेको हो । समारोहमा सदस्यलाई सम्मान तथा स्मारिका ‘२५ वर्षे स्मृति सङ्गालो’ विमोचन गरेको छ । संस्थाका अध्यक्ष बमबहादुर बिसीको अध्यक्षतामा आयोजित समारोहमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनोदकुमार शाहको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाको २५ वर्षे गौरवपूर्ण यात्रा, उपलब्धि तथा गतिविधिहरू समेटिएको २५ वर्षे स्मृति सङ्गालो नामक स्मारिकाको प्रमुख अतिथिबाट हस्ताक्षर गरी विमोचन गरिएको थियो । त्यसैगरी, संस्थाको स्थापना कालदेखि हालसम्मका प्रमुख गतिविधि, उपलब्धि, सेवा विस्तार तथा विकास यात्रालाई समेटेर तयार गरिएको भिडियो डकुमेन्ट्रीसमेत प्रदर्शन गरिएको थियो ।
संस्थाले आफ्नो रजत जयन्तीको अवसरमा संस्थाको उद्देश्य प्राप्ति, व्यावसायिक विकास, साख अभिविद्धि र संस्थागत सुदृढीकरणमा योगदान पुर्याउने संस्थापक अध्यक्ष देवकिरण बुढा, पूर्व अध्यक्ष कृष्णबहादुर खड्का, पूर्व उपाध्यक्ष कालिप्रसाद नेपाली, पूर्व सञ्चालक बसन्ता भण्डारी, मुख्य सल्लाहकार बिष्णुबहादुर खड्कालाई सम्मान गरेको छ ।
एकीकरणमा सहभागी संस्थाका तत्कालिन ७ जना अध्यक्षहरूलाई समेत सम्मान गरिएको थियो । त्यसैगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापालाई रजतसेवा सम्मान प्रदान गरेको छ भने १४ जना कर्मचारीलाई दीर्घ सेवा सम्मानद्धारा सम्मान गरेको छ ।
त्यसैगरी, सदस्यतर्फ विभिन्न विधामा छनोट भएका ४३० जना सदस्यलाई संस्थाको आगामी २५औँ वार्षिक साधारणसभाको अवसरमा सम्मान गरिने जानकारी दिइएको छ । कार्यक्रमका प्रमुख अतिथि मन्त्री शाहले सुर्खेत जिल्लाको सन्दर्भमा सहकारी अभियान समग्र रूपमा सन्तोषजनक रहेको भए पनि देशका अन्य केही जिल्लामा देखिएका सहकारीसम्बन्धी समस्याका कारण आमसदस्यमा सहकारीप्रतिको विश्वास केही कमजोर बन्दै गएको बताए ।
उनले आगामी दिनमा सहकारी संस्थाहरूले सदस्यमैत्री वित्तीय तथा गैरवित्तीय गतिविधिलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्दै सदस्यहरूको हकहित संरक्षण, संस्थागत साख अभिवृद्धि तथा सहकारीप्रतिको जनविश्वास कायम राख्न विशेष ध्यान दिनुपर्ने बताए ।

संस्थाका अध्यक्ष बिसीले संस्थाले स्थापनादेखि हालसम्म गरेका गतिविधिहरू सदस्यमैत्री र सदस्यको हक हितलाई ध्यानमा राखेर सञ्चालन गरिएको बताए । संस्थाले २०६३ सालदेखि नै व्यावसायिक रणनितिक योजना निर्माण गरी सोहि अनुरूप संस्थागत गतिविधिहरू सञ्चालन गर्ने अभ्यास गरेको र आगामी दिनहरूमा पनि सैही अनुरूप सञ्चालन गरिने र त्यसका लागि सुशासन, पारदर्शिता, उच्चतम् प्रविधिको प्रयोग गरी सदस्यको जीवनस्तरमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
अध्यक्ष बिसीले संस्थाले आफ्नो नेतृत्वमा सहकारीहरूबीच सहकार्य अभियान चलाएर १५० बढी सहकारी संस्थाहरूसङ्ग भाइचारा सम्बन्ध स्थापित भएको र त्यसको उच्चतम् रूप ८ वटा संस्थाहरूबीचको एकीकरण भएको जानकारी गराए ।
सहकारी अभियान साझा अभियान भएको उल्लेख गर्दै कुनै एउटा सहकारी सफल हुदा सहकारी सफल भएको अर्थ लगाइदैन, तर एउटा सहकारी असफल हुदा सारा सहकारी क्षेत्रनै खतम् हो भन्ने अर्थ लगाएर सहकरी क्षेत्रलाई नै बदनामि गराइएको उनको भनाइ छ। सहकरी क्षेत्रका लागि ठूलो चुनौती हो भन्दै यस्ता गलत विषयहरूलाई विस्थापित गर्न सबै सहकारीकर्मीहरू सहकारी संस्थाहरूबीच सहकार्यको आवश्यकता रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य हरिहरनाथ योगी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक कालिप्रसाद महतारा, सहकारी रजिस्ट्रार खिमानन्द अर्याल, जिल्ला सहकारी संघका अध्यक्ष प्रकाशकुमार तिमिल्सिना, जनहितकारी साकोसका अध्यक्ष नवराज कडेल तथा सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पूर्णप्रसाद नेपालीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अतिथिहरुले संस्थाले आगामी दिनमा पनि सदस्यमुखी, पारदर्शी र दिगो सहकारी सेवामार्फत अझ उत्कृष्ट सफलता हासिल गर्दै अघि बढ्न शुभकामना व्यक्त गरे । कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले गरेका थिए ।
समुदायमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र सांस्कृतिक जर्गेना जस्ता विकासमा टेवा पुर्याउने उद्देश्यले २०५८ असार २२ गते २७ जनाको भेलाद्वारा वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो ।
संस्थाले २५औं वर्षसम्म आइपुग्दा सुर्खेत जिल्लाका विभिन्न १२ वटा स्थानमा सेवाकेन्द्र र वीरेन्द्रनगर ६, गणेशचोकमा मुख्य कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । ८ वटा सहकारी संस्थाहरूबीच एकीकरण भई एकीकृत संस्थाको रूपमा संस्थाले आफ्ना कार्यहरू निरन्तर अगाडि बढाउँदै आएको छ ।
सुर्खेत जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले २५औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै शिक्षा, स्वास्थ्य तथा सरसफाइ प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले विविध कार्यक्रम सम्पन्न गरेको हो ।
रजत जयन्तीको अवसरमा सम्पन्न कार्यक्रमः
संस्थाको २५औँ स्थापना दिवस (रजत जयन्ती) को अवसरमा अभ्युदय सेवाकेन्द्र, बबियाचौरको आयोजनामा पञ्चपुरी नगरपालिका–६ स्थित समूह प्राथमिक विद्यालयमा अध्ययनरत १५ जना असक्त तथा जेहेन्दार विद्यार्थीहरूलाई कोलगेट, टूथब्रस, नुहाउने साबुन तथा सोडा लगायतका सरसफाइ सामग्री वितरण गरेको छ ।
कार्यक्रममा अभ्यूदय सेवाकेन्द्रका व्यवस्थापन उपसमितिका संयोजक तथा पदाधिकारीहरू, विद्यालयका ६० जना विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, उपसमिति सदस्य, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी संस्थाको बड्डीचौर सेवाकेन्द्रको आयोजनामा बराहताल गाउँपालिका–५, बड्डीचौरस्थित स्थानीय मन्दिर परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ । कार्यक्रममा बड्डीचौर सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक गोपालबहादुर गुरुङ, बराहताल गाउँपालिका–५ का वडा अध्यक्ष धिमराज जोल्मी, बड्डीचौर टोल विकास संस्थाकी अध्यक्ष इमादेवी पोखरेल, सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्यहरू तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
यसै अवसरमा छिन्चु सेवाकेन्द्रद्वारा मन्दिर सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । असार २० गते, अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भेरीगङ्गा नगरपालिका–४ स्थित निर्माणाधीन महांकाल मष्ठो मन्दिर तथा शक्तिमान पार्क परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।
छिन्चु सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक लालबहादुर खड्काको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य विध्या खत्री, उपसमितिका सदस्यहरू, शक्तिमान टोल विकास संस्थाका अध्यक्ष तुल्सी देवकोटा, स्थानीय टोलवासी, नमुना मिश्रित स्व–सहायता समूहका शेयर सदस्यहरू तथा संस्थाका कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कल्की, छतिवन, लप्सी, अमला, कपुर, गुलमोहर, वीरेन्द्रफूल लगायतका विभिन्न बहुवर्षीय फूल तथा जडीबुटीजन्य बिरुवाहरू रोपण गरिएको जनाइएको छ ।
त्यसैगरी संस्थाको मालिका सेवाकेन्द्रको आयोजनामा ठाँटी बजार तथा मन्दिर परिसर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक उदयबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक खत्रीले संस्था विगत २५ वर्षदेखि सदस्य तथा समुदायको हितमा सञ्चालन गर्दैआएका विभिन्न गतिविधि, उपलब्धि तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा शेयर सदस्यहरू, जनप्रतिनिधिहरू, बजार व्यवस्थापन समितिका पदाधिकारीहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसहित जम्मा ४८ जनाको सक्रिय सहभागिता रहेको थियो ।
त्यसैगरी राकम सेवाकेन्द्रको आयोजनामा जामुने बजार सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो । सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक लक्ष्मी प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुभकामना आदान–प्रदान गरिएको थिायो ।
कार्यक्रममा शेयर सदस्यहरू, जनप्रतिनिधिहरू, उधोग बाणिज्य संघ भेरी उप शाखा सिम्ताका पदाधिकारीहरु, बजार व्यवस्थापन समितिका पदाधिकारीहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो संस्थाको २५औँ स्थापना दिवस तथा रजत जयन्ती र अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा मेहेलकुना सेवाकेन्द्रद्वारा गुर्भाकोट नगरपालिका–६, बडाखोलीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
मेहेलकुना सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक उदय गिरीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सदस्य रेश्मा खत्री, वडा नं ६ का वडा अध्यक्ष गोबिन्द वली, सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक ढालबहादुर खत्री, शिक्षक, विद्यालयका सुचना अधिकारी कृष्णप्रकाश आरसी, शिक्षक तथा अनाथ आवशिय छात्रवासका वार्डेन रिता केसी लगायत संस्थाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
त्यसैगरी गुटू सेवाकेन्द्रको आयोजनामा चौकुने गाउँपालिका–८, विशालबजार क्षेत्र तथा चौकुने गाउँपालिका–७ स्थित शहीद स्मृति पार्कमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो । सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक मानबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौकुने गाउँपालिका–७ का वडा अध्यक्ष धनिराम धमाला, जिल्ला समन्वय समिति सदस्य तुलबहादुर नेपाली, नेपाल सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, बजार व्यवस्थापन समितिका पदाधिकारी, संस्थाका कर्मचारी तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।
संस्थाको वित्तिय अवस्थाः
संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार १६ करोड १८ लाख ७१ हजार चारसय रुपैंयाँ सेयरपूँजी रहेको छ । त्यसैगरी ६ करोड ५३ लाख ८७ हजार ७५८ रुपैंयाँ जगेडा कोष र २ करोड ३५ लाख ४३ हजार ८४२ रुपैंयाँ अन्य कोषमा रहेको जनाइएको छ । १ अर्ब ७ करोड ४८ लाख ६८ हजार ३१७ रुपैंयाँ बचत रहेको संस्थाले १ अर्ब १८ करोड ७७ लाख ३९ हजार ९४१ रुपैंयाँ ऋण लगानीमा रहेको जनाएको छ।
२४ हजार ४८४ सदस्य, ४ हजार ८१२ बाल सदस्य तथा १ हजार ९१७ जना ऋणी सदस्य रहेको संस्थाको १ अर्ब ४५ करोड ९४ लाख ६४ हजार ९७१ रुपैंयाँ कुल सम्पति रहेको छ । संस्थामा ६ करोड ८५ लाख २८ हजार ९६६ संस्थागत पूँजी रहेको जनाइएको छ।
Leave a comment