झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ‘म पनि उद्यमी’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । उद्यमशीलता बढाएर उत्पादन बढाउन सहाराले अभियान सञ्चालन गर्न लागेको हो । सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले सबै सदस्यलाई स्वरोजगार तथा उद्यमी बनाउन प्रोत्साहन गर्ने गरिएको बताए ।
उनका अनुसार ८० प्रतिशत कर्जा आयआर्जनमै केन्द्रीत भएको छ । यस ‘म पनि उद्यमी’ कार्यक्रम अन्र्तगत सदस्यहरुलाई प्राविधिक सहयोग, ऋण, बजारीकरण, सीपमूलक तालिम लगायतका कार्यक्रम गर्ने तयारी संस्थाको छ ।
संस्थाको पछिल्लो तथ्यांक अनुसार सदस्यको संख्या १ लाख ५८ हजार पुगेको छ । संस्थाले ऋण लगानी १३ अर्ब १० करोड गरेको छ । संस्थाको सेयर पुँजी १ अर्ब ६० करोड पुगेको छ । संस्थाले गत आर्थिक वर्षसम्म १० अर्ब कर्जा तथा सापटी दिएको थियो ।
धेरैजसो कर्जा कृषि तथा कृषिजन्य उद्योगमा जाने गरेको प्रमुख कार्यकारी अधिकृत गिरी बताउँछन् । उनका अनुसार मौरी उद्योग सञ्चालन, व्यवसायिक बाख्रा, दाना उद्योग, कुखुरापालन, फ्रेस हाउस, एग्रोभेट, होटल, च्याउ खेती, माछापालन, तरकारी खेती, पशुपालन, टनेल भिलेज निर्माण लगायतका क्षेत्रमा कर्जा प्रोत्साहन गर्ने गरिएको छ ।
संस्थाले सीपमूलक तथा व्यवसायिक तालिम पनि दिने गरेको छ । संस्थाले गत आर्थिक वर्षमा ८ अर्ब २४ करोड निक्षेप संकलन गरेको थियो । संस्थाको सेयर पुँजी गत असारसम्म १ अर्ब ४६ करोड संकलन गरेको थियो ।
९४ करोड जगेडा कोष, ३८ करोड अन्य कोषमा, १ अर्ब ३२ करोड बाह्य ऋण, ४१ करोड सम्पत्ति रहेको २५ औं वार्षिक साधारणसभाको प्रतिवेदनमा उल्लेख छ । संस्थाले गत वर्ष करपछिको नाफा ४५ करोड गरेको थियो । १ अर्ब ६७ करोड आय गरेको सहाराले १ खर्ब १९ करोड खर्च गरेको थियो ।
बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा केन्द्रीय कार्यालय रहेको सहाराले लघुवित्त कार्यक्रम, नवीकरणीय उर्जा, सामुदायिक विकास, कृषि, रेमिट्यान्स, बिमालगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । २०५२ को अन्तिमतिर ३३ जनाले ३४ हजार रकम जम्मा गरी सुरु गरेको सहारा नेपाल प्रदेश १ का ६ जिल्लामा पुगेको छ ।
संस्थाले सदस्यलाई विभिन्न प्रकारका आयमूलक, सीपमूलक तथा उद्यमशील तालिममार्फत रोजगारीको सृजना गर्ने गरिएको गिरीले बताए ।संस्थाले युवालाई सहुलियतमा ऋण दिई अटो व्यवसायी बनाउनुका साथै साइनो हाम्रो सहारामार्फत युवालाई उद्यमी बनाएको छ ।
Leave a comment