चीना थापा, विराटनगर । जिल्ला सहकारी संघ मोरङले होलीको अवसरमा होलीमिलन कार्यक्रमको आयोजना गरेको छ । सहकारीले संस्कृति संरक्षणमा पनि ध्यान दिनुपर्ने भन्दै संघले सहकारीकर्मीहरुविच होलीमिलन कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
संघका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले सहकारीले पनि आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रमा ठूलो योगदान गरेको सहकारी अभियानले संस्कृतिको संरक्षणको लागि पनि संयुक्त रुपमा कार्यक्रम गर्नुपर्ने बताए ।
भारतमा भन्दा नेपालमा सहकारीमा महिलाको सहभागिता धेरै रहेको उनको भनाई छ । वित्तिय साक्षरताको हिसाव महत्वपूर्ण भूमिका सहकारीले निभाएको पोखरेलले बताए ।
बैकको तुलनामा सहकारी तरलता अभाव पनि नदेखिएको उनले उल्लेख गरे । ७३ लाख नेपाली जनता सहकारीमा आवद्ध भएको बताउँदै उनले त्यसमा पनि ५६ प्रतिशत महिला आवद्ध भएको हुँदा सहकारीमा सबै खाले धर्ममान्ने मान्छेहरुको समायोजन गरेको बताए।
होलीमिलन कार्यक्रममा सहभागिहरुले सहकारी क्षेत्रमा भएको पहिलो सामुहिक होलीमिलन कार्यक्रमले सहकारी अभियानलाई पनि सघाउ पुर्याउने बताएका थिए ।
मोरङको विराटनगर लगायतका विभिन्न क्षेत्रका सहकारीहरुले आफ्ना कर्मचारी तथा सञ्चालकहरुबीच पनि होलीमिलन कार्यक्रमको आयोजना गरि मनाएका छन् । तराईमा विशेष गरी शुक्रबार होली खेल्ने चलन भएपनि एक हप्ताअघि देखि होलीमिलन कार्यक्रमको आयोजना भईरहेको छ ।
वसन्त ऋतु अन्तर्गत फागुन पूर्णिमाको दिन यो पर्व मनाइने गरिन्छ । विष्णुपुराणमा उल्लेख गरिएनुसार, दैत्यराज हिरण्यकश्यपकी बहिनी होलिका नाममा यो पर्वको नामाकरण भएको हो । होलिकाको दहन भएको खुशीमा प्रत्येक वर्ष हिन्दू धर्मावलम्बीले यो पर्व मनाइने गर्छन् ।
हिरण्यकश्यपले आफ्नो राज्यमा भगवान विष्णुको पूजापाठमा प्रतिबन्ध लगाएर स्वयंलाई भगवान घोषित गरी प्रजालाई ‘मेरो पूजा गर्नु’ भनेर कडा निर्देशन जारी गरेको थियो ।
तर, उनको आफ्नै छोरा प्रह्लादले पिताको निर्देशनलाई अवज्ञा गर्दै भगवान विष्णुको पूजा गर्दै रहे । छोरा प्रह्लादले पिताको आज्ञा नमानेपछि होलिकाको माध्यमबाट जलाएर मार्ने प्रयास गरेको थियो ।
ब्रह्माबाट आगोमा नजल्ने बरदान पाएकी होलीकाले प्रह्लादलाई काँखमा राखेर चारैतिर पराललगायत जल्ने बस्तुको घेरा बनाउन लगाएको र त्यसमा आगो लगाउन भनिएको थियो ।
उल्टै आगोमा होलिकानै जलेर भष्म भइन् । असत्यको बाटो अपनाएको कारणले बरदान फलिफाप भएन । असत्यमाथि सत्यको विजय भयो । त्यसपछि, सोही तीथिमा यो पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
Leave a comment