हाइलाइट

एनएमसीको २९औं स्थापना दिवस सम्पन्न

एनएमसीको २९औं स्थापना दिवस सम्पन्न :: Sahakari Akhabar

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २९औं स्थापना दिवस मनाएको छ । २०५० साल फागुन २४ गते संस्था दर्ता भई कारोबार सुरु गरेको संस्थाले झापा, इलाम र मोरङमा रहेका ४८ वटा सेवा केन्द्र कार्यालय र तीनवटा व्यवसायिक प्रतिष्ठानमा फागुन २४ गते मंगलबार एकसाथ स्थापना दिवस मनाएको हो ।

संस्थामा वित्तीय कारोबार गर्ने सेवा केन्द्र ४८ वटा रहेका छन् भने एनएमसी डेरी उद्योग, एकीकृत नमूना कृषि फर्म र एनएमसी चिया उद्योगमा गरी ५१ स्थानमा मंगलबार एकै समयमा एउटै शैलीको कार्यक्रम गरिएको हो।

स्थापना दिवसका अवसरमा संस्थाको अवस्थाका बारेमा केन्द्रीय प्रतिनिधिहरुले चर्चा गरेका थिए भने सहभागी अधिकांशले आफू एनएमसीमा आवद्ध भएदेखि हालसम्म संगालेको अनुभवहरु साटासाट गरेका थिए । कतिपय कार्यालयहरुमा मन्तब्यका साथै सदस्य तथा कर्मचारीहरुले गीत, गजल, कविता, नृत्य आदि प्रस्तुत गरेर समारोहलाई  मनाएका थिए ।

वार्षिकोत्सव कार्यक्रममा प्रतिनिधित्व गर्ने केन्द्रीय प्रतिनिधिहरुले संस्थाको कार्यक्षेत्र विस्तार गरि तीनवटा जिल्लाका छिमेकी पालिकाहरुमा क्रमशः कार्यालय थप्दै लैजाने नीति रहेको जनाएका थिए । संस्थामा अहिले एक लाख २० हजारभन्दा बढी शेयर सदस्य पुर्याइएको छ ।

साथै एक अर्ब २८ करोड रुपैयाँ शेयर पुँजी रहेको जनाउँदै सबै कार्यक्रमका केन्द्रीय प्रतिनिधिहरुले चालू आर्थिक वर्षको बितेको ७ महिनामा १४ करोड रुपैयाँभन्दा माथि मुनाफा गरिएको जानकारी गराए । स्थापनाकालदेखि लगातार नाफामा रहेको एनएमसीले सदस्यहरुमाझ १० अर्ब ५० करोड रुपैयाँ लगानी गरेको जनाइएको छ ।

संस्थाले अवलम्बन गरेको असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्न नमस्ते अभियान, सामाजिक योगदानमा मेरो एक रुपैयाँ, मानिसको जन्मदेखि मृत्युसम्मका हरेक कर्ममा संस्थाका साथ र सहयोग पुर्याउँदै आएको छ ।

वित्तीय बजारमा विद्यमान तरलता संकटका कारण कर्जा लगानीमा असहजता भइरहे पनि यो लामो अवधि नजानेमा केन्द्रीय प्रतिनिधिहरु ढुक्क थिए । संस्थाले निक्षेप कारोबारमा कुनै अप्ठ्यारो आउन नदिन कर्जामा केही संकुचन गरिएको उनीहरुको भनाई छ ।

एनएमसीले विगत ६ वर्षदेखि आफ्नै उद्योगबाट दूध तथा दूधजन्य पदार्थहरु प्रशोधन गरी बिक्री गर्दै आएको छ । दैनिक १५ हजार लिटर कच्चा दूध संकलन गरी दूधजन्य बस्तुहरु उत्पादन गर्न थालेको ५ वर्षपछि गतसालमा डेरी उद्योग नाफामा गएको जनाइएको छ । संस्थाले नमूना कषि फार्म, सहकारी पसल र चिया उद्योग आदि गैर वित्तीय कारोबार गरेर सदस्यमाझ गुणस्तरीय उपभोग्य वस्तुहरु प्रदान गरिरहेको छ ।



Leave a comment