७ बुँदे घोषणा जारी गर्दै कास्कूनको एकदिने गोष्ठि सम्पन्न

७ बुँदे घोषणा जारी गर्दै कास्कूनको एकदिने गोष्ठि सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ(कास्कून)ले ‘सामाजिक न्याय र लैंङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ विषयक गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीले ७ बुँदे घोषणा जारी गरेको थियो ।

गोष्ठीमा राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले राज्यका निर्णायक तहमा अर्थपूर्ण र प्रतिष्पर्धी महिला सहभागिता हुनुपर्नेमा जोड दिइन । उनले अबको महिला सहभागिता क्षमतावान, प्रतिष्पर्धी र प्रमुख निर्णायकको भूमिकामा रहनुपर्ने बताइन् ।

मल्लले हरेक क्षेत्रमा महिला सहभागिता बढ्दो रहेपनि अझै महिला पछाडि परेको र अर्थपूर्ण सहभागिता हुननसकेको बताइन् । महिलाले पनि सूचना, समय व्यवस्थापन र अध्ययन तीन कुराको व्यवस्थापन सके महत्वपूर्ण जिम्मेवारी लिन सक्ने उनको धारणा थियो ।

कार्यक्रमलाई संबोधन गर्दै कास्कूनका अध्यक्ष दिपक पनेरुले हिजोको तुलनामा आज समग्र महिलाहरु हरेक क्षेत्रमा सशक्त रहेको र चेतनास्तर बृद्धि भएको प्रष्ट पारे । महिलाहरुले आज प्रतिष्पर्धालाई स्वीकार्दै राज्यका विभिन्न तहमा र सहकारी क्षेत्रमा पनि निर्णायक सहभागिता सुनिश्चित गर्न दृढ भएर लाग्नुपर्ने उनले बताए ।

दिगो विकास लक्ष्यका १७ आयामहरुमध्ये करिब ५ बुँदामा सहकारीमार्फत सशक्तिकरण र समानताका विषयहरुलाई अगाडि बढाइएको छ, यसले सामाजिक न्याय र लैङ्गिक समानता मार्फत दिगो विकास सुनिश्चित गर्न सघाउ पुग्ने उनले जनाए ।

राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता भट्टराई र अधिवक्ता कुमारी खरेलले दुई छुट्टछुट्टै विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका सहभागी बक्ताहरुले महिलाहरुलाई सहकारीमार्फत उद्यमशीलता प्रवर्धनमा जोड्दै आर्थिक सशक्तिकरण र लैङ्गिक समतामूलक समाज निर्माणका लागि आआफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

गोष्ठिमा राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता भट्टराई, नेफ्स्कूनका सञ्चालक मन्दरा मिश्र, काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङ, राष्ट्रिय सहकारी महासंघी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ, काठमाडौं जिल्ला समन्वय समितिकी उपप्रमुख सीता दाहाल, बागमती प्रदेश बचत संघकी सञ्चालक राधा कडरिया लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कास्कूनका सञ्चालक समिति सदस्य, लेखा सुपरीवेक्षण समिति सदस्य, विभिन्न  उपसमिति सदस्यहरु सहित काठमाडौं जिल्लाभरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, सञ्चालक समितिका सदस्य एवम् व्यवस्थापकहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।



Leave a comment