‘सहकारीमा महिला सहभागिता बढाउन शिक्षामा जोड दिऔ’

‘सहकारीमा महिला सहभागिता बढाउन शिक्षामा जोड दिऔ’ :: Sahakari Akhabar

पोखरा । सहकारीमा महिलाको अर्थपूर्ण सहभागिताका लागि देशव्यापी रुपमा सहकारी शिक्षा तथा सचेतना अभियान सञ्चालन गर्नु पर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर राष्ट्रिय सहकारी बैंक तालचोक शाखाले बिहीवार पोखरामा आयोजना गरेको सहकारी महिला र युवाको गुणस्तरीय सहभागिता विषयक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।

सहकारीका सदस्यहरुमा महिलाको संख्या अत्यधिक बढी छ, तर नेतृत्वमा कम छ, कर्मचारीको संख्या महिलाको बढी छ तर व्यवस्थापन प्रमुखको भूमिकामा महिला कम छन्, महिलाको सहभागिता जस्तै गुणस्तरीय र अर्थपूर्ण सहभागिताका लागि सबैको ध्यान जानु पर्नेमा सहभागीहरुको जोड थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले समाजका हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिताका लागि शिक्षा, सचेतनासंगै आर्थिक क्षेत्रमा पहुच वृद्धि गर्नु पर्ने बताए ।

सहकारी ऐनले सहकारी क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता अनिवार्य गरेको छ, तर अझै पनि सहकारीको नेतृत्वमा महिलाको सहभागिता कमजोर रहेको छ, जिसीले भने–सहभागिता मात्रै पनि होइन सहकारीको प्रवद्र्धनका लागि महिलाको अर्थपूर्ण सहभागिता आवश्यक छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक तालचोक शाखाका प्रमुख सन्तोष घिमिरेले सहकारीमा महिला र युवाको सहभागिताका विषयमा सहजीकरण गरेका थिए ।

तालचोक शाखा अन्तरगत बैंकका सदस्य सहकारी संस्थामा कार्यरत महिला कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा स्वागत बैंकका कर्मचारी आयुषा भुषालले गरेकी थिइन ।



Leave a comment