मर्जपछि एकीकृत संस्थाको सेयर पुँजी २ करोड ६८ लाख रुपैयाँ, बचत १५ करोड र कर्जा प्रवाह १२ करोड पुगेको छ । यसैगरी सदस्यहरुको संख्या पनि ५ हजार पुगेका छ । ७५ प्रतिशतले नियमित बचत गर्ने संस्थाले बचतमा ८ प्रतिशतसम्म र कर्जामा १२ प्रतिशतसम्म व्याजदर तोकेको छ ।
ललितपुर । शहरी क्षेत्रमा सहकारीको संख्या अत्याधिक भएपनि एकिकरण हुन सकेको छैन । सरकारको सहकारी मर्जरको नीति तथा कार्यक्रमप्रति शहरी क्षेत्रमा सहकारीहरुले चासो नदिएका बेला ग्रामीण क्षेत्रका सहकारीहरु यसतर्फ आकर्षित हुन थालेका छन् ।
काभ्रे, चितवन, दोलखा, ललितपुरलगायतका जिल्लाहरुका सहकारीहरु मर्जरतर्फ अग्रसर हुन थालेका हुन् । जिल्लाका स–सानो कारोबार भएका सहकारीहरु एकीकरण गरी ठूलो र बलियो संस्था बनाउने अभियान अघि बढेको छ ।
यसैक्रममा दक्षिणी ललितपुरको महांकाल गाउपालिका, गोटीखेलमा चारवटा सहकारी एकीकरण भएका छन् । गोटीखेल बजारमा केन्द्रीत भई बचत तथा ऋणको कारोबार गर्ने शुभकामना, विश्वासिलो बचत तथा ऋणका साथै नमूना पशुबिमा र गोटिखेल महिला बचत तथा ऋण सहकारी एक आपसमा मर्ज भई एकता बचत तथा ऋण सहकारी संस्था बनेको हो ।
पुस २४ गते संयुक्त साधारणसभा गरी चारवटा सहकारीको एकीकृत कारोबार सुरु गरिएको संस्थाका अध्यक्ष चन्द्रबहादुर लामाले जानकारी दिए । फरक—फरक ठाउँमा बसेर भन्दा एकै ठाउँमा रहेर सदस्यलाई गुणस्तरीय सेवा दिन सकिने भएकाले मर्जर गरिएको उनले बताए ।
मर्जरका लागि चारवटै संस्थाको प्रतिनिधि सम्मिलित समिति गठन गरीएको थियो । समितिमा शुभकामनाबाट चार जना र अन्य सहकारीका ३÷३ जना प्रतिनिधि रहेका थिए । समितिमा व्यापक छलफल पश्चात मर्जरलाई मुर्त रुप लिएको लामाले अनुभव सुनाए ।
नमूना पशुधनले बिमासँगै बचत तथा ऋणको समेत कारोबार गरिरहेकाले बचत तथा ऋण सहकारीमा मर्जर गरिएको हो । संस्थाले एकीकरणपछि बिमाको काम नगर्ने र यसअघि लिएको बिमाको दायित्व समेत फिर्ता गरिसकेको अध्यक्ष लामाले बताए ।
मर्जपछि एकीकृत संस्थाको सेयर पुँजी २ करोड ६८ लाख रुपैयाँ, बचत १५ करोड र कर्जा प्रवाह १२ करोड पुगेको छ । यसैगरी सदस्यहरुको संख्या पनि ५ हजार पुगेका छ । ७५ प्रतिशतले नियमित बचत गर्ने संस्थाले बचतमा ८ प्रतिशतसम्म र कर्जामा १२ प्रतिशतसम्म व्याजदर तोकेको छ ।
संस्थाले सदस्यको माग अनुसार कर्जा प्रवाह गर्छ । अधिकांश सदस्यहरु कृषि पेशमा आवद्ध भएकाले अधिकांश ऋण पनि कृषिमै लगानी भएको छ । यसबाहेक वैदेशिक रोगगार तथा व्यवसायका लागि समेत ऋण लगानी भएको संस्थाले जनाएको छ ।
Leave a comment