Sahakari Akhabar

सहकारीमा महिला सहभागिता

सहकारीमा महिला सहभागिता :: Sahakari Akhabar

महिला उद्यमी बन्न सफल भएका छन्

सीता पौड्याल (उपाध्यक्ष– बागमती प्रदेश सहकारी सङ्घ )

म २०६२ देखि सहकारीमा आबद्ध छु ।  सुरुदेखि युनाइटेड गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीमा छु । त्यसको उपाध्यक्ष छु । जिल्ला सहकारी सङ्घ र बागमती प्रदेश सहकारी सङ्घको उपाध्यक्ष भएर काम गरिरहेको छु । बागमती सङ्घ हालै मात्र बनेकाले त्यसको उपसमिति बनाउन बाँकी छ ।

प्रदेशमा उपसमिति बनाएर महिला सशक्तीकरणमा लाग्न जरुरी छ । काठमाडौँ जिल्ला सहकारी सङ्घको महिला उपसमिति संयोजक अमरावती महर्जन हुनुहुन्छ ।

महिलाको सहभागिता विगतको तुलनामा बढ्दै गएको छ । २०७० सम्म जिल्ला सङ्घको साधारण सभा हुँदा महिलाको सङ्ख्या निकै कम थियो । अहिले सङ्घको साधारण सभामा महिला सहभागिता बढेको पाएको छु ।

नेतृत्व तहमा पनि महिला पुगेका छन् । महिलाले मात्रै सञ्चालन गरेका सहकारी पनि धेरै छन् । सहकारी क्षेत्रमा महिलाको सहभागिता पनि पुरुषको तुलनामा बढी छ।

सहकारीका कारण महिला स्वावलम्बी भएका छन् । व्यवसाय गरेर आर्थिक उपार्जन गरेका छन् । कुनै समय गृहिणीको पहिचान बनाएका महिला उद्यमी बन्न सफल भएका हुन् ।  सहकारीले महिलाको उत्थानमा टेवा पुगेको छ ।

महिलालाई सहकारीबारे प्रशिक्षित गरेकी छु

रोहिणी जोशी (संस्थापक अध्यक्ष–ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ)

म २०४८ सालदेखि सहकारी क्षेत्रमा लागेकी छु । पहिला नेपाल बैङ्कमा काम गर्थे । बैङ्कको म्यानेजर जागिरपछि सहकारी क्षेत्रमा लागेकी हुँ । सहकारी सङ्घसंस्था स्थापना गर्न मेरो महत्त्वपूर्ण भूमिका छ । ललितपुर बचत तथा ऋण सहकारी सङ्घको संस्थापक अध्यक्ष भएर काम गरे ।

त्यस्तै नेफ्स्कून तथा राष्ट्रिय सहकारी सङ्घ स्थापना गर्न योगदान गरेको छु । महिला सशक्तीकरणमा काम गरेको छु । गाउँ गाउँमा पुगेर महिलालाई सहकारीबारे प्रशिक्षित गरेको छु । द्धन्द्धकालमा पनि जिल्ला जिल्ला गएर महिलालाई प्रशिक्षण दिएर यहाँ सहकारी खोलिदिएकी छु । त्यति बेला जोस, जाँगर पनि थियो ।

अहिले पनि स्वस्तिक महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष भएर संस्था हाँकिरहेको छु । पहिला जस्तो महिला सदस्य छैनन् । तर सहकारीमा लाग्ने महिला बढेका छन् । सहकारीले महिलालाई रूपान्तरण गर्न सघाउ पुर्याएको छ । आर्थिक रूपान्तरणमा सहकारीको योगदान अतुलनीय छ ।

सहकारीमा महिला सहभागिता पनि बढ्दै छ । यतिका वर्ष सहकारीमा समर्पित भएर अहिले पनि महिलाहरूलाई रूपान्तरण गर्न जोस जाँगरकारसाथ काम गरिरहेको छु । मेरो जोस र जाँगर देखेर नयाँ पुस्ताका बहिनीहरूलाई प्रेरणा मिलेको छ । 

सहकारी मेरो मन मुटुमा छ 

सरिता भट्टराई ( सञ्चालक– राष्ट्रिय सहकारी बैङ्क)

म सहकारीको विद्यार्थी हुँ । सहकारी क्षेत्र मेरो मन मुटुमा छ । २०औँ वर्षदेखि यसैलाई आफ्नो क्षेत्र बनाएर पढिरहेकी छु । सिकिरहेकी छु । सिकेका कतिपय कुरालाई व्यवहारमा ऊतार्ने प्रयास पनि भइरहेको छ । धेरै पद भन्दा पनि पाएको जिम्मेवारी निभाउन कटिबद्ध छु ।

महिला अभियान बचत तथा ऋण सहकारी संस्था बाल कोटको संस्थापक अध्यक्ष हुँ । अहिले सल्लाहकारको भूमिकामा छु ।  सहकारी यात्रामा विभिन्न किसिमका शिक्षा तालिम लिने र दिने काम गर्छु । संस्थाकै प्रतिनिधित्व गर्दै २०६५ सालदेखि राष्ट्रिय सहकारी बैङ्कको सञ्चालक समिति सदस्य र शिक्षा तथा तालिम उपसमितिको संयोजकको जिम्मेवारीमा छु ।

यो क्षेत्रमा काम गर्दा धेरै आरोह–अवरोह आए । तर कति पनि विचलित नभई अघि बढ्ने कोसिस गरेँ, गरिरहेको छु । मलाई व्यक्तिगत रूपमा कुनै क्षेत्रमा पनि म महिला हुँ, त्यसैले मलाई काम गर्न गाह्रो हुन्छ होला भन्ने ठानिन । ममा इच्छा शक्ति र आत्मबल छ । म ढुक्क छु, जहाँ जसरी हुन्छ नजानेको सिक्दै हतोत्साहित नभई  अघि बढी रहेकी छु ।

सहकारी क्षेत्रमा महिलाको सहभागिता पुरुषको तुलनामा बढी छ । नेतृत्व विकास पनि क्रमशः हुँदै छ । अझै बढाउनु पर्छ । पहिलेदेखि नै उपस्थितिको संरचनामै फरक भएकोले अब सहभागिताले मात्र पुग्दैन । नेतृत्व तहमा पनि वृद्धि गर्न सहकारी ऐन २०७४ बमोजिम सङ्घ संस्था विनियम संशोधन गर्दै समितिमा महिलाको सहभागिता बढाउनुपर्छ । 

नेतृत्व विकास, क्षमता विकासका क्रियाकलापहरू गर्नुपर्ने हुन्छ तब मात्र समानताका कुरा आउँछ । आर्थिक रुपन्तरणका लागि सहकारी माध्यम हो । यो सामाजिक व्यवसाय हो । सहकारीबाट आर्थिक रूपान्तरणले खुट्टा टेक्न सुरु गर्छ । सहकारीलाई गुणात्मक बनाउन आवश्यक भइसकेको छ । उद्यमशीलताको विकास गरी कृषि उत्पादन क्षेत्र, उद्योग, व्यवसायमा लगानी गर्नुपर्छ । यसले महिला सशक्तीकरण हुनुका साथै आत्मनिर्भर हुन सघाउँछ ।

महिलालाई नेतृत्व दिन हिचकिचाइन्छ

इन्दिरा पन्त ( उपाध्यक्ष–रोयल बहुउद्देश्यीय सहकारी संस्था काठमाडौँ )

सहकारीमा महिलाको सहभागिता राम्रो छ । सहकारीमा आबद्ध भइसकेपछि आर्थिक, सामाजिक रूपान्तरण भएको छ । हिजो पकेट मनी नहुने महिलाले अहिले बचत गर्छन् । सामाजिक रुपमा सङ्गठित भएका छन् । महिला सशक्तीकरण भएको छ ।

लोकतन्त्रको अभ्यास गर्दै जाँदा बोल्न सक्ने भएका छन् । राजनीतिक क्षमता विकास भएको छ । अन्धविश्वास तोडिएको छ । म तालिममा जाँदा श्रीमानको नाम लिँदा पाप लाग्छ भन्ने सुनिन्थ्यो । अहिले अन्धविश्वास तोडिएको छ । सहकारीले आधारभूत तहमा उत्साहित र उत्प्रेरित गरेको छ ।

सहकारीले राजनीतिक रुपमा प्रशिक्षित बनाएको छ । तर अझै सहकारी क्षेत्रमा गर्न धेरै बाँकी छ । समाजमा अझै छोराछोरीको विभेद छ । महिला हिंसा, असमानता  छ । यसलाई चिर्न सहकारीले सशक्त ढङ्गले भूमिका खेल्न सक्छ । सहकारी स्थापित सङ्गठन भएकाले पनि व्यवस्थित गर्न भूमिका हुन्छ । 

म २० वर्षदेखि सहकारीमा निरन्तर लागेको छु । दुई दशकदेखि रोयल बहुउद्देश्यीय सहकारीमा सदस्य भएर सञ्चालक हुँदै उपाध्यक्षको भूमिकामा छु । म आउनुअघि महिला सञ्चालक थिएनन् । अहिले सात जनामा ३ जना सञ्चालक छौँ । सदस्य महिला पनि बढेका छन् । परिवर्तन मात्र होइन, सम्पूर्ण रुपमा रुपान्तरण भएको छ ।  

हाम्रो सहकारीमार्फत महिला आत्मनिर्भर भएका छन् । प्रशिक्षण दिन जाने क्रममा पनि धेरै महिला सक्षम भएको देखेको छु । सामानता, समावेशिता, नेतृत्वको विकास भएको छ । परिवर्तन देखेको छु । उपलब्धि भएका छन्  । तर अझै नेताका रूपमा प्रमुख व्यक्ति हुन्छ भन्ने स्वीकार गरिएको छैन ।

सङ्घ संस्थाहरूमा । महिलाको नेतृत्व आउन जरुरी छ । संविधानले समेत गाइड गरेकाले महिलालाई नेतृत्व तहमा पुर्याउनुपर्छ। सामाजिक न्याय र लैङ्गिक समानाः दिगो विकासको सुनिश्चितता नारा सार्थक बनाउन सहकारीले जोड दिनुपर्छ । अर्थिन रूपान्तरणमा महिलाको सहभागिता अझै बढाउन आवश्यक छ ।

अमरावती बलामी महर्जन

सञ्चालक ( जिल्ला सहकारी सङ्घ काठमाडौँ )

घरायसी काममा सीमित रहने महिलाहरू पछिल्लो समय सामाजिक क्षेत्रको नेतृत्वदायी भूमिका लिन अग्रसर बनेका छन् । आर्थिक रूपमा सक्षम भएर सामाजिक सङ्घसंस्थाको नेतृत्वसँगै सामाजिक विकृति न्यून गर्न महिलाहरू सक्रिय छन् । 

यति मात्रै होइन, गाउँ गाउँमा खुलेका महिला सहकारीमार्फत सङ्गठित बनेका महिला आजभोलि परिवारको दैनिकी चलाउने खर्च आफैँ जुटाउन सफल भएका छन् । सहकारीमार्फत महिलाहरूको आर्थिक निर्णय, नेतृत्व, सामूहिक भावना, जिम्मेवारी एवं जबाफदेहिता लगायतका क्षेत्रहरूको विकास भएको छ । महिला हिंसाको प्रमुख कारण आर्थिक परनिर्भरता हो । महिला हिंसा न्यूनीकरणमा सहकारी संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

सहकारीको अन्तर्राष्ट्रिय मूल्य–मान्यता र सिद्धान्तका साथै संस्थाको आफ्नै विनियमले महिलालाई सशक्तीकरण हुन सघाएको छ ।  सहकारीमा आर्थिक सहभागिताबाट गरिएको व्यवसाय एवं मुनाफामा महिला सदस्य बढी गौरवान्वित हुन्छन् । उनीहरूको आत्मसम्मानमा वृद्धि भएको पाइन्छ । महिलालाई घरबाहिर निस्किएर आफ्नो क्षमता विकास गर्दै उत्पादनशील क्षेत्रमा समय, श्रम र सञ्चित पुँजीलाई लगानी गर्न सहकारीले सिकाएको छ । 

नेपालमा महिलाहरूबाट सञ्चालित सहकारीहरूको सङ्ख्या झन्डै ४ हजार छ । सहकारीमा ५५ प्रतिशत महिला छन् । पुरुष प्रधान नेपालमा २ रुपैयाँ देख्न नपाउने महिलाहरू व्यवसाय र उद्यम गरेर घरपरिवार व्यवस्थित गर्नुका साथै मुलुककै आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएका छन् ।

महिलाहरूले सञ्चालन गरेका सहकारी सिद्धान्त, मूल्य र मान्यता अनुसार छन् । महिलाले सञ्चालन गरेका सहकारी पारदर्शी हुनुका साथै हालसम्म समस्यामा परेका छैनन् । सहकारीले महिलाको समग्र विकास र सशक्तीकरणमा पारेको प्रभावलाई नर्कान नसकिएता पनि सहकारीको नेतृत्व तहमा महिलाहरूको सहभागिता बढ्दै गएको छ ।

तर सहभागिताको अनुपातमा नेतृत्वमा पु¥याउन चुनौती देखा परेको छ । व्यवसायका माध्यमबाट महिलाहरू सक्षम र आर्थिक रूपमा बलियो बन्दै गएका छन्, त्यसरी नै सामाजिक र नेतृत्व विकासका लागि पनि सहकारीले खेल्ने भूमिका प्रभावकारी हुनु आवश्यक छ ।

नेतृत्व विकास र क्षमता अभिवृद्धि गर्दै तालिम, अभिमुखीकरण र सशक्तीकरण गर्नुपर्छ । सहकारी भित्रको महिला नेतृत्वको विषयलाई नेपालका सहकारी अभियानकर्ताले विश्लेषण र मनन गर्दै आएका छन् र गर्नु पर्दछ । मैले उपासना महिला बचत तथा ऋण सहकारी हाँकिरहेको छु । धेरै महिलाहरू उत्साहित भएर सहकारीमार्फत उद्यमशीलतामा सदस्य जोडिनुभएको छ ।

नेतृत्व तहमा महिलाको उपस्थिति न्यून 

लक्ष्मी शाक्य ( उपाध्यक्ष– ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ )

म २१ वर्षअघिदेखि सहकारी अभियानमा लागेकी हुँ । पद्मावती बचत तथा ऋण सहकारी संस्थाबाट मेरो सहकारी यात्रा सुरु भएको हो । सामान्य सेयर सदस्य हुँदै उपसमितिको संयोजक भएर काम गरेँ । त्यस्तै सञ्चालक सदस्य तथा कोषाध्यक्ष भएर काम गरेँ ।

२०६० सालदेखि ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घको अभियानमा क्रियाशील छु । सङ्घको सदस्य, दुई कार्यकाल कोषाध्यक्ष भएर हाल उपाध्यक्षमा कार्यरत छु । सहकारी अभियानको विकास, प्रवर्द्धन क्रियाशील छु । सहकारितामा महिला सहभागिता तथा नेतृत्व विकासका लागि क्रियाशील भएर लागेको  छु । 

विगतको तुलनामा पछिल्लो समयमा सहकारी क्षेत्रमा महिलाको सहभागिता बढेको छ । झन्डै ६० प्रतिशत हाराहारीमा महिलाको सहभागिता भएको पाइन्छ । तर नेतृत्व तहमा महिलाको उपस्थिति न्यून छ । अझै पनि महिलालाई नेतृत्वमा ल्याउन सहज छैन ।

नेतृत्वमा पुग्न महिलाहरू सङ्घर्षशील छन् ।  सहकारीमार्फत महिला आत्मनिर्भरता बढाउनुपर्छ । पछिल्लो समयमा महिला सशक्तीकरण, आर्थिक रूपान्तरण हुनुका साथै क्षमता विकासमा सहकारीले योगदान पुर्याएको छ । 

अर्थपूर्ण सहभागिता भएन कि भन्ने लागेको छ

चित्राकुमारी सुब्बा ( महाप्रबन्धक–राष्ट्रिय सहकारी महासङ्घ )

राष्ट्रिय सहकारी महासङ्घमा २६ वर्ष काम गरे । लेखापाल, लेखा अधिकृत, वरिष्ठ प्रबन्धक, कायममुकायम महाप्रन्धक हुँदै महाप्रबन्धक  भएर काम गरिरहेको छु । महासङ्घमा बसेर हेर्दा सैद्धान्तिक क्षेत्रमा रचनात्मक काम गरेको छु । 

सैद्धान्तिक ज्ञानले मात्रै पुग्दैन भन्ने लागेर प्रारम्भिक सहकारी संस्था गठन गरी नेतृत्व गरे । २०६४ फागुन  २१ मा सुयोग्य बचत तथा ऋण सहकारी संस्था स्थापना गरी १४ वर्षसम्म नेतृत्व गरेँ । गत वर्षदेखि नेतृत्व हस्तान्तरण गरेको छु । 

अझै पनि क्षमता हुँदाहुँदै पनि महिलालाई नेतृत्व दिन हुन्छ रे भन्ने मानसिकता छ । ठुलो सङ्घर्षबाटै म यहाँसम्म पुगेको हुँ । काम गर्दै जाँदा धेरैले सही काम गरेको भन्दा खुसी लाग्छ । नेपालको सहकारी अभियानमा महिलाको सहभागिता बढेको छ  संविधानले महिलालाई दिएको अधिकार प्रयोग गरी सहकारी ऐन २०७४ ले ३३ प्रतिशत महिलाको सहभागिताको प्रत्याभूति गरेको छ ।

महिलाले मात्र सञ्चालन गरेका सहकारी पनि ४ हजार बढी छन् । व्यवस्थापनमा पनि उत्साहजनक सहभागिता छ । नेतृत्व तहमा ३९  प्रतिशत र व्यवस्थापनमा ४९ प्रतिशत महिलाको सहभागिता छ । नेपालको सहकारी अभियानमा महिलाको सहभागिता राम्रो छ ।

अन्तर्राष्ट्रियकरण पनि प्रशंसा आइरहेको छ । तर अझै पनि अर्थपूर्ण सहभागिता भएन कि भन्ने मेरो विश्लेषण छ । योजना तर्जुमा गर्दा, कार्यक्रम बनाउँदा महिलाको पहुँचमा भएन कि भन्ने लाग्छ । कार्यकारी पदमा महिलाको सङ्ख्या कम छ ।

व्यवस्थापनमा पनि उच्च र मध्यममा कमी नै । अब महिलालाई ल्याउनपर्छ । महिलामैत्री नीति, कार्यविधि बन्नुपर्छ । आर्थिक सशक्त बनाउन, व्यवसाय बढाउन सहकारीले उल्लेख्य योगदान दिएको छ ।

आर्थिक रूपान्तरणमा टेवा पुगेको छ 

लक्ष्मी तारा डङ्गोल ( अध्यक्ष, ठेचो महिला जागरण बचत तथा ऋण सहकारी )

ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था २०६५ सालमा स्थापना भएको हो । म स्थापना कालमा लेखा संयोजक भएर काम गरे । उपाध्यक्ष भएर केही समयपछि अहिले अध्यक्ष नेतृत्व गरिरहेको छु । हाम्रो अध्यक्षको निधन भएकाले उपाध्यक्ष भएको केही समयमै नेतृत्व गर्नुपरेको थियो । 

सुरुमा महिलाले बचत गर्न मान्दैनथे । समूह बनाएर गाउँ गाउँसम्म पुगेर महिलालाई सङ्गठित गरेका छौँ । हाल तीन हजार सदस्य छन् । पछिल्लो समयमा महिला सक्रिय सहभागी हुनुहुन्छ । उहाँहरूलाई अझ सक्रिय बनाइ राख्न समूह र संयोजक बनाएर बचत गराउँछौँ ।

महिनामा एक चोटि नियमित बचत हुन्छ । समूहमा २० देखि १ सय जना महिला हुनुहुन्छ । ठेचो, चापागाईँ, सुना कोठी, धापाखेलका महिलालाई हामीले समेटेका छौँ । बचत तथा ऋणसँगै सामाजिक काममा पनि हामी सक्रिय छौँ ।

सरसफाइ गर्ने अभियान सञ्चालन गर्छौ । सीप विकास तालिम दिएर महिलालाई आत्मनिर्भर बनाएका छौँ । हामीसँग १५ प्रकारको बचत छ । व्यवसायमा पनि सक्रिय छौँ । हामीले क्षमता अभिवृद्धि अभिवृद्धि गर्नुका साथै आर्थिक रूपान्तरणमा सघाइरहेका छौँ ।



Leave a comment