सहकारीकालागि एटिएम कार्ड ‘कोप कार्ड’ जारी गर्न सम्झौता 

सहकारीकालागि एटिएम कार्ड ‘कोप कार्ड’ जारी गर्न सम्झौता  :: Sahakari Akhabar

ललितपुर । सहकारीको लागि आफ्नै ब्राण्डको एटिएम कार्ड जारी गर्न राष्ट्रिय सहकारी बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज र ग्लोबल आइएमई बैंकसंग सम्झौंता गरेको छ । आईतबार हिमालय होटल ललितपुरमा एक कार्यक्रमका बिच तीनवटा संस्थाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि एससिटीसँगको सहकार्यमा सबै प्राविधिक तयारी पुरा भएपछि राष्ट्रिय सहकारी बैंकले छिट्टै एटिएम कार्ड प्रदान गर्ने बैंकका अध्यक्ष के.बी. उप्रेतीले बताए । उनले बाणिज्य बैंकका ग्राहकहरुले प्रयोग गरे जस्तै सहकारी संस्थाका सदस्यहरुले कोप कार्ड प्रयोग गर्न सक्ने विशेषता रहेको बताए । नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानलाई पनि सहयोग पुग्ने उल्लेख गर्दै सहकारीका सदस्यहरुले पनि नगद रहीत कारोबार गर्न पाउनु आफैँमा ठूलो उपलब्धि रहेको  बताए ।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकले सहकारी र प्रविधि बिच काम गर्न बैंकको डिजिटल बैंकिंग युनिट तयार गरि कार्य अगाडी बढाएको बताए । उक्त यूनिटलाई परिचालन गरि सहकारी संस्थाहरुमा भएको प्रविधिलाई स्तरोउन्नती गर्ने तथा विकसित बैंकिङ प्रविधि भित्राउन समन्वयत्मक भुमिका निर्वाह गर्ने बताए ।

एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बैंकसँगको यो सहकार्यले कम्पनी उत्साही भएको बताउँदै उत्कृष्ट सेवा प्रदान गर्न तत्परताका साथ लाग्ने बताए । सम्झौता पश्चात सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंक मार्फत कोप कार्ड जारी गर्न सक्नेछन ।

सहकारीहरुले आफ्नो सदस्यहरुलाई कोप कार्डको वितरण गरेपछि आवद्ध सदस्यहरुले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जँंहाबाट पनि एटिएम  मार्फत रकम निकाल्न सक्नेछन् । त्यस्तै पिओएसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

यो सुविधाका कारण सदस्यहरुको सहकारी प्रति विश्वास बढ्दै जाने र सहकारीको बचत सहकारीमै रहिरहने विश्वास बैंकले लिएको छ ।यो सम्झौताले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय  कारोवारमा पहुँच बढदै जाने र साधारण बैंकिङ कारोवारको लागि बैंक गईरहनु पर्ने बाध्यतावाट मुक्ति हुने र सहकारीहरुको विकासमा थप योगदान पुग्ने छ ।

बैंकसँगको सम्झौता पश्चात सहकारीहरुले जारी गर्ने कोप कार्ड ग्लोबल आइएमई बैंकको ३ सय भन्दा बढी एटिएम बुथबाट निशुल्क रुपमा रकम झिक्न सक्नेछन् । सम्झौता कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कंडेललगायतको सहभागिता रहेको थियो ।



Leave a comment