सहकारी दिवसको थिम खोज्दै महासंघ, उत्कृष्टलाई नगद पुरस्कार

सहकारी दिवसको थिम खोज्दै महासंघ, उत्कृष्टलाई नगद पुरस्कार :: Sahakari Akhabar

काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवसका लागि राष्ट्रिय सहकारी महासंघले थिम प्रस्ताव आह्वान गरेको छ । महासंघले यस वर्ष प्रतिष्पर्धाबाट थिम छनोट गर्ने  जनाएको छ । आउँदो चैत्र २० गते नजिकिदैँ गर्दा महासंघले थिम छनोट गर्न प्रस्ताव आह्वान गरेको हो ।

महासंघले सोमबार सूचना प्रकाशित गरी १५ दिनभित्र पेश गर्न समय दिएको छ । छनोट भएको थिमलाई नगदबाट पुरस्कृत गरिने महासंघले जनाएको छ । गत वर्ष महासंघले ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ थिम तय गरेको थियो । तर, महासंघले थिम अनुसार काम गर्न सकेन ।

सहकारीलाई प्रविधिमैत्री बनाउन महासंघले गत वर्ष थिम घोषणा गरेसँगै गाइडलाइन  बनाउने घोषणा गरेको थियो । लामो समयसम्म छलफल गरेपनि महासंघले एक वर्ष बितिसक्दा पनि प्रविधिमा सहकारीलाई हिँडाउन गाइडलाइन बनाउन सकेन जसले गर्दा प्रविधि प्रयोग गर्न चाहने सहकारी पनि अलमलमा परेका छन् ।

केही सयले मात्रै प्रविधिमा आधारित भएर सेवा दिइरहेका छन् । अधिकांश सहकारी म्यानुअलमै कारोबार गरिरहेका छन् । महासंघले हरेक वर्ष नारा तय गर्ने गरेको छ । कुनै वर्ष दोहोर्याएर पनि थिम प्रयोग गर्ने गरिएको छ ।

वर्षेनी थिम ल्याइने गरेपनि महासघंले त्यस अनुरुप कार्य भए/नभएको र उपलब्धि का बारेमा समीक्षा गर्ने गरेको पाइदैँन । २०१३ साल चैत्र २० गते चितवनमा बखानपुर सहकारी ऋण समिति स्थापना भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइन्छ । विविध कार्यक्रम गरी दिवस मनाउने गरिएको छ । देशभर ३० हजार सहकारी छन् । सहकारीले १० खर्ब कारोबार गर्दै आएको छ ।



Leave a comment