हाइलाइट

मेची सहकारीको प्रदेश १ स्तरीय कार्यशाला सम्पन्न, ९ बुदेँ प्रतिवद्धता पत्र जारि

मेची सहकारीको प्रदेश १ स्तरीय कार्यशाला सम्पन्न, ९ बुदेँ प्रतिवद्धता पत्र जारि :: Sahakari Akhabar

बिराटनगर । झापा दमकमा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले रजत महोत्सवको अवसरमा प्रदेश १ स्तरीय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । दमकमा माघ ७ र ८ गते २ दिन चलेको कार्यशालाले ९ बुँदे प्रतिवद्धता पत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ ।

कार्यशालामा प्रदेश १ का मोरङ, झापा, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम लगायतका ८ वटा जिल्लाका ३ सय सहभागीहरु रहेका थिए । मोरङ र झापाका प्रारम्भिक सहकारीका प्रतिनिधि र अन्य जिल्लाका जिल्ला सहकारी संघका प्रतिनिधिहरु सहभागी थिए ।

कार्यशालामा ‘नेपालका विद्यमान सहकारी कानुन र कार्यान्वयनमा चुनौतीहरु’ शीर्षकमा बलराम निरौलाले कार्यपत्र प्रस्तुत गर्नुभयो । प्रदेश १ का निवर्तमान सहकारी रजिष्ट्रार तथा हाल बागमती प्रदेश भूमि व्यवस्था, गरिवी निवारण तथा सहकारी मन्त्रालयमा प्रमुख रहेका निरौलाले कानुनी रुपमा भएका व्यवस्थाको चर्चा गरे ।

कार्यशालाको पहिलो दिन नै राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङले ‘सहकारीको वर्तमान अवस्था, चुनौती र सम्भावना’ विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

दोस्रो दिन नेफ्स्कूनका पूर्व अध्यक्ष केशवप्रसाद पोख्रेलले ‘सहकारीमा जोखिम विश्लेषण र व्यवस्थापनका उपायहरु’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा ‘सहकारीमा प्रविधिको प्रयोग र नव प्रवद्र्धन’ विषयमा पूर्व अर्थ मन्त्री तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमबाट ९ बुँदे प्रतिवद्धता पत्र जारी गरेको छ । घोषणा पत्रमा वर्तमान नीति र नीयमअनुसार सहकारी सञ्चालन गर्ने, ऐनमा भएका बाधक व्यवस्थालाई संसोधन गर्न पहल गर्ने, सहकारीको मर्मअनुसारका कामहरु गर्ने लगायतका बुँदाहरु समेटिएका छन् । सो प्रतिवद्धता पत्र राष्ट्रिय स्तरमा समेत छलफलको विषय बनाउनका लागि पहल गर्ने वक्ताहरु प्रतिवद्धता जाहेर गरेका छन् ।

कार्यक्रमलाई पूर्व सहकारी मन्त्री केशव प्रसाद बढाल, पूर्व राज्य मत्री दिपक प्रकाश बास्कोटा, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, सहकारी बैंकका अध्यक्ष के.बि.उप्रेती, नेप्स्कूनका अध्यक्ष परितोष पौडेल, साना किसान केन्द्रिय सहकारी संघका अध्यक्ष खेम पाठक, सहकारी अभियान्ताहरु शिव बहादुर डाँगी, रामचन्द्र उप्रेती लगायतले सम्वोधन गरेका थिए ।

राष्ट्रिय स्तरमा भइरहेको सहकारी आन्दोलनलाई टेवा पुग्नेगरि दमकमा सहकारीका दिग्गज मान्छेहरुको जमघट गराउन सफल भएकाले कार्यक्रम पूर्ण रुपमा सफल भएको संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले बताए  ।

मेची सहकारीले हाल झापा र मोरङमा गरि १२ वटा सेवा कार्यालय मार्फत सेवा दिइरहेको छ । ३ अर्व ४० करोड हाराहरी पूँजी रहेको मेचीले गौरवको आयोजनाका रुपमा दमक ४ ताराबारीमा  मेची आवास योजना समेत सञ्चालन गरिरहेको छ । २०७९ साउन २९ भित्रमा हस्तान्तरण गर्नेगरि आवास योजनामा ५६ वटा घरहरु निर्माण भइरहेको छ ।



Leave a comment