भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा ख्वप अस्पतालको प्राविधिक सहयोगमा सहकारी संस्थामा कार्यरत कर्मचारीहरुले कोभिसिल्डको बुस्टर डोज पाएका छन् ।
सिद्धि गणेश स्वास्थ्य क्लिनीक, खँचा भक्तपुरमा संघमा आवद्ध सदस्य संस्थामा कार्यरत कर्मचारीहरुलाई बुस्टर डोज दिइएको हो । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संघमा २०० वटा प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाहरु आबद्ध रहेका जानकारी दिए ।
संघमा आबद्ध सदस्य संस्थामा कार्यरत सहकारीका २२९ जना कर्मचारीहरुले कोभिसिल्डको थप मात्रा लगाएको उनले जानकारी दिए ।
प्रारम्भिक संस्थाहरुले ३१ अर्ब ९२ करोड भन्दा बढी कारोबार गरी २ लाख ३० हजार भन्दा बढी व्यक्तिगत सदस्यलाई १ हजार ४६ जना कर्मचारी मार्फत सेवा प्रदान गरिरहेको उनले बताए ।
संघले सदस्य संस्थाहरुको संस्थागत, आर्थिक र जनशक्ति विकासमा निरन्तर सेवा प्रदान गर्दै आईरहेको र कोभिड महामारीमा पनि सहकारी क्षेत्रबाट जनचेतनामूलक सन्देश प्रवाह गर्नुको साथै कोभिड नियन्त्रणका लागि जिल्लाका नगरपालिकाहरुमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।
Leave a comment