शिव शिखर सहकारीको गार्डेन मार्टको १६ औं शाखा बाँकेमा

शिव शिखर सहकारीको गार्डेन मार्टको १६ औं शाखा बाँकेमा :: Sahakari Akhabar

भक्तपुर । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले गार्डेन मार्टको १६ औं शाखा बाँकेमा खोलेको छ । संस्थाले बैजनाथ गाउँपालिका–८, चाँदनी चोकमा गार्डेन मार्टको १६ औँ शाखा सञ्चालनमा ल्याएको हो ।

उपभोक्तालाई एउटै छानामुनि सबै किसिमका सामग्री किनमेलको व्यवस्था मिलाउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ ।

शनिवार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्रबहादुर अधिकारीले मार्टको शुभारम्भ कार्यक्रममा बोल्दै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र नागरिकहरूलाई एउटै थलोमा आवश्यक खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री किनमेल गर्ने अवसर मिलेको बताए ।

यस अघि सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको कीर्तिपुर, उदयपुरको लाहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौडामा मार्ट सञ्चालनमा ल्याएको छ ।

बुटवलको जोगिकुटी, नेपालगञ्जको न्यूरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगाढी, डडेलधुरा, दाङको घोराहीमा गार्डेन मार्टले सेवा दिइरहेको छ ।

मार्टमा दैनिक उपभोग्यवस्तु, चामल, चिनी, दाललगायत खाद्यान्न पाइन्छ । यसमा सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरू उपलब्ध रहने संस्थाका मुख्य प्रवन्धक लीलानाथ गौतमले बताए ।

यसका साथै महिलाहरूका लागि श्रृंगारका सामग्रीहरू, फ्रिज, वासिङ मेसिन, आइरन, गिजरलगायतका विद्युतीय उपकरणहरू मार्टमा उपलब्ध छन् । मार्ट शुभारम्भको अवसरमा यी सामग्रीहरूको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुटसमेत पाउने जनाइएको छ ।



Leave a comment