काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था स्थापनाको १२ औं वर्षमा प्रवेश गरेको छ । २०६७ साल माघ ११ गते डिभिजन सहकारी कार्यालय काठमाण्डौमा दर्ता भई वित्तीय कारोबार गर्दै आएको संस्था आजबाट १२ औं वर्षमा प्रवेश गरेको हो ।
शुरुमा बचत तथा ऋण सहकारी संस्थाको रुपमा दर्ता भएपनि २०७२ सालमा भने संस्थाले उद्देश्य परिवर्तन गरी बहुउद्देश्यीय सहकारीमा रुपान्तरण गरेको थियो । संस्था सहकारीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्तमा रहेर समाजमा रहेका ससाना श्रोतलाई एकिकृत गरी सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि क्रियाशील रहेको अध्यक्ष महाशंकर रेग्मीले बताए ।
संस्थाले प्रतिष्पर्धात्मक वित्तीय बजारमा सदस्यहरुबाट संकलित पुँजीलाई सदस्यहरुको आयआर्जन वृद्धि गर्नका लागि कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, लघु तथा मझौला उद्योग एवं उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै आएको अध्यक्ष रेग्मी बताउँछन् । सदस्यहरुको व्यवसाय प्रवर्धन गरी आर्थिक स्तर सुधार्नका लागि सर्वसुलभ ब्याजदरमा ऋण लगानी गर्दै आएको र उनीहरुलाई सबल, आत्मनिर्भर र सक्षम बनाउन संस्था क्रियाशील रहेको उनको भनाई छ ।
“स्वस्थ, व्यवसायिक र उत्कृष्ट मेगाड्रिम” का रुपमा स्थापित हुने परिकल्पनाकासाथ संस्थाले नवीनतम प्रविधिहरुको प्रयोग गरी सदस्यहरुलाई सहज र सरल रुपमा वित्तीय सेवा प्रदान गरिरहेको छ । संस्थाको कार्यप्रणालीलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन आधुनिक प्रविधिको प्रयोग गर्नुका साथै एटिएम, क्युआर कोड र मोबाइल बैंकिङ तथा बैंक फण्ड ट्रान्सफर जस्ता सेवाहरु प्रयोगमा ल्याई सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले मुख्य कार्यालय बालाजुसहित कालिमाटी, न्यूरोड, चाबहिल, जोरपाटी र थानकोट सेवा केन्द्रबाट सदस्यहरुलाई वित्तीय तथा अन्य सुविधा दिँदै आएको छ भने निकट भविष्यमा भक्तपुरको गठ्ठाघर र ललितपुरको सातदोबाटोमा सेवा केन्द्र विस्तार गर्ने योजना बनाएको छ । उपत्यकासहित काभ्रे जिल्लाभर कार्यक्षेत्र रहेको उक्त संस्थाले हाल १० हजारभन्दा बढि सदस्यहरुलाई समेटेको छ । संस्थाले ८८ जनालाई प्रत्यक्ष रोजगारी समेत प्रदान गरेको छ ।
२०७८ असार मसान्तसम्म संस्थाको १३ करोड ८० लाख शेयरपुँजी, १ अर्ब २१ करोड ८२ लाख बचत संकलन र १ अर्ब ५२ करोड ३८ लाख ऋण लगानी गरेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा मात्रै ४ करोड ७३ लाख ५७ हजार रहेको छ ।
संस्थाले सदस्यहरुको आवश्यकताअनुसार विभिन्न २६ प्रकारका बचत योजना सञ्चालनमा ल्याएको छ भने व्यापार व्यवसाय, घरजग्गा खरिद, वैदेशिक रोजगार, कृषि, लघुवित्त, सामुहिक, व्यक्तिगत जस्ता शीर्षकमा सदस्यहरुमाझ ऋण लगानी गर्दै आएको छ ।
संस्थामा आवद्ध सदस्यहरुबीच नियमित बचतको बानी विकास गर्ने, व्यक्तिगत एवं सामुहिक क्षमताको अभिवृद्धि गरी स्वावलम्बी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पु¥याउने, सदस्यहरुको प्राथमिकता र आवश्यकता अनुसार आय आर्जनको क्षेत्रमा लगानी बढाउने र समुदायमा सहकारीको महत्व स्थापित गर्ने जस्ता उद्देश्य संस्थाका रहेका छन् ।
१२औं वर्ष प्रवेश गरेको अवसरमा संस्थाले सम्पूर्ण शेयरसदस्य, सञ्चालक समिति तथा विभिन्न उपसमिति, कर्मचारी नियामक निकाय, शुभेच्छुक र सहकारी बैंक तथा संघहरुप्रत आभार प्रकट गरेको छ ।
Leave a comment