मोरङ्ग साकोसको मोबाइल बैंकिङ्ग सेवा सञ्चालनमा 

मोरङ्ग साकोसको मोबाइल बैंकिङ्ग सेवा सञ्चालनमा  :: Sahakari Akhabar

मोरङ्ग । लेटाङ्गमा रहेको मोरङ्ग बचत तथा ऋण सहकारी संस्थाले मोबाइल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । सदस्यको आवश्यकता र समयको मागलाई मध्यनजर गर्दै संस्थाले मोबाइल एप सञ्चालनमा ल्याएको जनाएको छ ।

मोरङ्ग मोबाइल एपबाट सदस्यहरुले बैंकमा रकम ट्रान्सफरदेखि विभिन्न युटिलिटी पेमेन्ट र डिजिटल कारोबार गर्न सक्ने संस्थाका व्यवस्थापक निरज शाक्यले बताए ।

कोभिड महामारीले गर्दा डिजिटल कारोबार अति आवश्यक हुन गएको उनले बताए । यसको प्रयोगबाट समय, लागत र श्रोतसाधनको समेत किफायत हुने भन्दै सदस्यहरुको कारोबारलाई सहज बनाउन सघाउ पुग्ने उनले जनाए । 

मोबाइल एपको प्रयोगबाट विभिन्न बैंकहरुमा समेत रकम ट्रान्सफर गर्न सकिने हुँदा सदस्यहरुको आकर्षण बढेको उनको भनाई छ ।

धेरैजसो सदस्यहरुले बैंक तथा वित्तीय संस्थाको मोबाइल एप प्रयोग गरिराखेकाले आफुहरुलाई पनि यो सेवा सञ्चालन गर्न खासै समस्या नभएको उनले जानकारी दिए ।

मोबाइल एप प्रयोग गर्न नसक्ने सदस्यहरुलाई भने संस्थाले नै सबै कुरा सिकाएर प्रविधिको प्रयोगमा अग्रसर गराउँदै आएको छ । संस्थामा ३ हजार ६२ सदस्य आवद्ध रहेको र सदस्यहरुलाई आवश्यकताका आधारमा मोबाइल बैंकिङ्ग प्रयोग गर्न प्राथमिकता दिएको उनले जानकारी दिए । 

मोबाइल बैंकिङ्ग प्रयोग गरेवापत वार्षिक १०० रुपैया शुल्क लिने गरेको संस्थाले जनाएको छ । बैंकहरुले उक्त एप प्रयोग गरेवापत वार्षिक दुईसय भन्दामाथि शुल्क लिँदै आएको भएपनि संस्थाले भने एक सय रुपैयामा नै उक्त सेवा उपलब्ध गराएको शाक्यको भनाई छ । 

क्यूआर र मोबाइल बैंकिङ जस्ता प्रविधिको प्रयोगले ९० प्रतिशत भन्दा बढि काम गर्न सकिने हुँदा यसको प्रयोग आवश्यक रहेको उनले बताए । संस्थाको १ करोड ५० लाख शेयरपुँजी र ३० करोडको कारोबार रहेको छ ।

सदस्यकेन्द्रित रहेर वित्तीय कारोबार गर्दै आएको संस्थाले सहकारीप्रति सदस्यको आकर्षण दिनप्रतिदिन बढ्दै गएको जनाएको छ ।संस्थाले सदस्यहरुलाई समयसमयमा सहकारीका आधारभूत विषयका बारेमा पनि तालिम दिँदै आएको छ । 



Leave a comment