मोरङका दुई सहकारी एकीकरण, कोषमा १० करोड ३० लाख

मोरङका दुई सहकारी एकीकरण, कोषमा १० करोड ३० लाख :: Sahakari Akhabar

चीना थापा, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ६ रमाइलोमा रहेका रमाइलो बचत तथा ऋण सहकारी र जनएकता बचत तथा ऋण सहकारी एकीकरण भएका छन् । एकीकरण पछि संस्थाको नाम रमाइलो जनएकता बचत तथा ऋण सहकारी  संस्था रहेको छ । एकीकरण पछि शनिवार संयुक्त साधारण सभा गरिएको छ । 

रमाइलो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टङ्क बहादुर अधिकारीको अध्यक्षतामा भएको संयुक्त साधारण सभामा गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले संयुक्त नामको घोषणा गरेका थिए ।

संयुक्त साधारण सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले पहिला कसरी बढी भन्दा बढी सहकारी स्थापना गर्न लागिएको बताउँदै अहिले कसरी गुणस्तरको सेवा दिने भन्ने बारेमा चिन्ता थपिन थालेको बताए ।

‘सुरुमा एक सय बचत गरेर ५ हजार ऋण लगानी गर्दा नि धेरै जस्तो लाग्ने गर्थ्यो’,उनले भने, ‘समय अनुसार सबै कुरा परिवर्तन भएको छ र विभिन्न खाले लघुवित्त बैङ्कहरू गाउँ गाउँमा छिरेकाले अब सहकारीले सेवा सुविधा सहित शेयर सदस्यको हितमा काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’

शेयर सदस्यको सङ्ख्या बढाउने तर्फ मात्र नभई सदस्य बनिसकेपछि उनीहरूले पाउने सेवा सुविधाको बारेमा पनि संस्थाले ध्यान दिनुपर्ने र सदस्यलाई सहकारी शिक्षा तालिम प्रभावकारी रूपमा दिन सक्नुपर्नेमा काफ्लेले जोड दिए ।

उनले सहकारीले समूहहरू विस्तार गरी समूहमार्फत पनि ऋण प्रवाह गर्नुपर्ने उल्लेख गरे । अहिले जुनसुकै प्रकृतिको सहकारी भए पनि बचत तथा ऋणको नै काम गरिरहेकाले सहकारी व्यावसायिक रूपमा जानको लागि एकीकरणमा जानुपर्ने उनको भनाई छ । सहकारीको विकास र शेयर सदस्यको विकासको लागि सहकारीहरू द्रुत गतिमा एकीकरणमा जानुपर्ने अध्यक्ष काफ्लेले बताए ।

त्यसै गरी गाउँपालिका उपाध्यक्ष राजमती इङगामले साना साना सहकारी मात्र हैन ठुला ठुला सहकारी पनि एकीकरणमा गएर आर्थिक क्षेत्रमा योगदान गर्नुपर्नेमा जोड दिइन । जिल्लामा एक दुई ओटा मात्र हैन धेरै सहकारी एकीकरण भएर ठुलो पुँजीको विस्तार गरी व्यावसायिक रूपमा अघि बढ्नुपर्ने उनको भनाई छ ।

जिल्ला बचत तथा ऋण सहकारी सङ्घ मोरङका वरिष्ठ उपाध्यक्ष प्रेम प्रसाद कोइरालाले सामान्य व्यापार गर्न हिजोका दिनमा थोरै रकमको आवश्यकता भएता पनि अहिले समय परिवर्तनसँगै आवश्यकता पनि बढिरहेको बताए ।

सहकारी पुँजी परिचालनको दृष्टिकोणबाट सबैभन्दा उत्कृष्ट र गुणस्तरीय बन्नु आवश्यक रहेको उनको भनाई छ ।  सदस्यले सुरक्षा, ब्रान्ड र गुणस्तर खोजेका कारण सहकारीहरू यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए। सहकारीले बढी मात्रामा नीति, नियम पालना गरेर सुशासन कायम गरी काम गर्नुपर्ने उल्लेख गरे । 

संयुक्त साधारण सभामा रमाइलो साकोका अध्यक्ष टङ्क बहादुर अधिकारी र जनएकता साकोका अध्यक्ष भोला प्रसाद अधिकारीले आ आफ्नो संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा आ आफ्नो संस्थाका नियमित बचत तथा ऋणको आर्थिक कारोबार गर्ने उत्कृष्ट शेयर सदस्य, पूर्व सञ्चालक, दैनिक बचत कर्ता, बाल बचत कर्ता, ज्येष्ठ सदस्य सम्मान लगायतका पुरस्कार तथा सम्मानहरू प्रदान गरिएको थियो । 

निक्षेप ६५ करोड भन्दा बढी

दुई सहकारी एक भए पनि सहकारीको कारोबार बढेको छ । सहकारीको पुँजी तथा दायित्व ९ करोड ९४ लाख १५ हजार ८ सय रुपैयाँ रहेको छ भने कोष हिसाब १० करोड ३० लाख ४८ हजार ५४९ रुपैयाँ रहेको छ । त्यसै गरी बचत तथा निक्षेप ६५ करोड ४५ लाख ४२ हजार २८९ रुपैयाँ रहेको छ ।

दुवै सहकारीको ऋण लागा नि ७६ करोड २१ लाख २९ हजार २ रुपैयाँ रहेको छ । सहकारीको स्थिर सम्पत्ति २ करोड ३४ लाख ६२ हजार ४५१ रुपैयाँ रहेको छ भने सहकारीले ५ करोड २४ लाख २६ हजार ६६५ रुपैयाँ आम्दानी गरेको छ ।

सहकारीको अ वितरित बचत १ करोड ८४ लाख ९ हजार ४४४ रुपैयाँ रहेको  छ । सहकारी एकीकरण पश्चात् माघ ६ गतेसम्मको एकीकृत वासलात सार्वजनिक गरिएको हो । सहकारी एकीकरण भएपश्चात् माघ १५ सम्म कार्यालय बन्द गरेर सबै हिसाब मिलाएपछि कार्यालय सञ्चालनमा ल्याउने जनाइएको छ । 

एकीकरण पश्चताको रमाइलो जनएकता साकोको अध्यक्षमा अधिकारी

संयुक्त रूपमा भएको साधारण सभाले सहकारीको १५ सदस्यीय सञ्चालक तदर्थ समिति पनि बनाएको छ । जसको अध्यक्षमा भोला प्रसाद अधिकारी, उपाध्यक्षमा अम्बिका प्रसाद अर्याल र यशोदा लिम्बु, सचिवमा  टङ्क बहादुर अधिकारी, सह सचिवमा युवराज दवाडी र त्रिभुनाथ फुयाँल  कोषाध्यक्षमा चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा इच्छा कोइराला, राजेश कार्की, गीता कार्की, नारायण काफ्ले, प्रमीला धिमाल, अनिल कार्की, तारा ओझा राजवंशी, कुमार फुयाँल र डिल्ली प्रसाद ओझा रहेका छन् । लेखा सुपरिवेक्षण समिति पनि निर्माण गरिएको छ ।

जसको संयोजकमा रवीन्द्र पाठक रहेका छन् भने सदस्यहरूमा बोधनारायण राजवंशी र विमला कटुवाल रहेका छन् । तदर्थ समितिले आउँदो पुस मसान्त सम्म काम गर्ने र त्यसपछि साधारण सभा तोकेर निर्वाचनका माध्यमबाट सञ्चालक समितिले निर्वाचन भएर आउने सहमति भएको अध्यक्ष भोला अधिकारीले जानकारी दिए ।

अध्यक्ष अधिकारीले आफू गाउँपालिकाले निर्माण गरेको सहकारी समन्वय समितिको संयोजक भएका कारण पनि एकीकरणको कुरा गर्दा तपाईँहरू ठुला सहकारी पहिला एकीकरण गर्नु भन्ने कुरा आएकाले आफूहरूले सहकारी एकीकरण गरेको उल्लेख गरे ।

अरू सहकारीलाई नि प्रेरणा मिलोस् भन्ने उद्देश्यले एकीकरण गरिएको उनको भनाई छ । अब सहकारीलाई व्यावसायिक रूपमा लैजाने र सदस्यको हितमा काम गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।



Leave a comment