ललितपुर । अर्थ बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव चक्रबहादुर पराजुलीको प्रमुख आतिथ्यता एवं जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुरका अध्यक्ष शरदकुमार महर्जनको विशेष आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा संस्थाका अध्यक्ष अरविन्द्रचन्द्र अमात्यद्वारा बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदन अनुसार संस्थाले बहुउद्देश्यीय कार्य सञ्चालनका लागि कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, बीमा लगायतका क्षेत्रहरुमा सम्भाव्यता अध्ययन गरी अघि बढाउने उल्लेख छ ।
अध्यक्ष अमात्यले सदस्यहरुको आर्थिक सामाजिक उत्थानमा निरन्तर सेवा दिइ सहकारी क्षेत्रमा एक अग्रणी सुरक्षित र भरपर्दो संस्थाको रुपमा परिचित भएको बताए ।
संस्थाले नाफालाई मात्र नहेरी समुदायका निम्न र विपन्न वर्गलाई समेत सबल र आर्थिकरुपमा सम्पन्न बनाउन संस्था क्रियाशील रहँदै आएको उनले बताए ।
संस्थाले आर्थिक वर्ष २०७७/७८ मा शेयर १४.५१ प्रतिशतले वृद्धि गरी १ करोड २२ लाख ४२ हजार र्पुयाएको छ । त्यसैगरी ९ करोड ६९ लाख ४१ हजार बचत संकलन गरी १० करोड २४ लाख २७ हजार ऋण लगानी गरेको छ । संस्थाले १३ प्रतिशतका दरले सदस्यलाई लाभांश वितरण गर्ने भएको छ ।
सहकारी ऐनले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुलाई रकम फिर्ता गर्नुपर्ने व्यवस्था गरेकाले आ।व। २०७६।७७ सम्म जम्मा भएको १३ लाख ८७ हजार सदस्यहरुलाई वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।
चालु आ.व. मा सदस्यहरुलाई विद्युतिय माध्यमबाट भुक्तानी सेवा थप गर्ने, विप्रेषण सेवा थप गर्दै लैजाने, सदस्यहरुको सहजताका लागि सेवा केन्द्र खोली कृषि तथा कृषिजन्य वस्तुको बजार विस्तार गर्ने, बीमा कम्पनीहरुसँग सम्झौता गरी निर्जीवन तथा जीवन बीमा सेवा उपलब्ध गराउने र सदस्यहरुबाट बस्तु खरिद गर्दा विशेष छुट दिलाउने जस्ता योजना रहेका छन् ।
संस्थाले कृषि, शिक्षा, व्यापारव्यवसाय एवं घरनिर्माण जस्ता शिर्षकमा ऋण लगानी गर्दै आएको छ । संस्थाले हाल न्युनतम ५ हजार शेयर भएका सदस्यको १ लाख रुपैयाँ सम्मको निर्जीवन बीमा र न्युनतम २५ हजार शेयर भएका सदस्यको १ लाख रुपैयाँको जीवनबीमा गराउँदै आएको छ । सदस्यहरुको मृत्यु भएमा किरिया खर्चवापत १० हजार रुपैया आर्थिक राहत प्रदान गर्ने गरेको छ ।
सभामा संस्थाका उपाध्यक्ष प्रकाशमान श्रेष्ठले स्वागत मन्तब्य र लेखासमिति संयोजक मिलन श्रेष्ठले समितिको प्रतिवेदन प्रस्तुत गरेको थिए । सभामा विभिन्न विधामा उत्कृष्ट हुने सदस्यहरुलाई सम्मान गरिएको थियो । संस्थाले भवन निर्माणका लागि कोषमा रकम छुट्टयाएको र उक्त रकमबाट जग्गा खरिद गर्ने तयारी गरेको छ ।
Leave a comment