हाइलाइट

शुभलाभ बहुउद्देश्यीय सहकारीको २३औं वार्षिक साधारण सभा सम्पन्न

शुभलाभ बहुउद्देश्यीय सहकारीको २३औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

ललितपुर । शुभलाभ बहुउद्देश्यीय सहकारीको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले कृषिजन्य वस्तु विक्रीबाट राम्रो आम्दानी प्राप्त गरेको जनाएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७।७८ वर्षमा टमाटर, काउली, बन्दा, सिमी, खुसार्नी जस्ता तरकारी उत्पादन गरेको जनाएको छ ।

संस्थाले संचालन गरेको कृषि परियोजना उत्पादन तथा बिक्री गरी बार्षिक ८ लाख ३९ हजार आम्दानी गरेको जनाएको हो । संस्थाले अघिल्लो आर्थिक वर्षमा तरकारी विक्रीबाट १० लाख ६४ हजार आम्दानी गरेको उल्लेख गरेको छ । 

संस्थाका कार्यकारी अध्यक्ष तीखबीर राईले साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कृषि परियोजनाका लागि छुट्टै उपसमिति गठन गरी काम गर्दै आएको जानकारी दिए । संस्थाले ललितपुरको ठैवमा कृषि परियोजना सञ्चालन गरिरहेको छ । 

सभामा प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म संस्थामा ४ हजार ११० सदस्य आवद्ध रहेका छन् । त्यस अवधिमा संस्थाको शेयरपुँजी ८ करोड ४५ लाख, बचत संकलन ४०।८३ प्रतिशतले वृद्धि १ अर्ब १५ करोड ३२ लाख र ऋण लगानी २६ प्रतिशतले वृद्धि ९७ करोड ३६ लाख ९० हजार पुगेको छ । संस्थाले त्यस अवधिमा ९७ लाख ९ हजार खुद नाफा आर्जन गर्न समेत सफल भएको छ । 

संस्थाले आवास, औद्योगिक, शैक्षिक, व्यापार, वैदेशिक, घरघडेरी खरिद, लघुघरेलु, कृषि लगायतका शीर्षकमा सदस्यहरुमाझ ऋण लगानी गर्दै आएको छ । संस्थाले संस्थागत सुशासनलाई समेत ध्यानमा राखी विभिन्न ८ उपसमिति बनाई कार्यसम्पादन गर्दै आएको छ ।

संस्थाले विगत ५ वर्षदेखि स्मार्ट बैंकिङ सञ्चालनमा ल्याएको र त्यसबाट सबैखाले युटिलिटी पेमेन्ट गरिनुका साथै डिपोजिट, विथड्र लगायतका विवरण प्राप्त गर्न सकिन्छ । संस्थाले यस आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तय गर्दै कोरोना भाइरसजन्य परिस्थितिका कारण एटिएम सेवा सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

त्यसैगरी ईच्छुक संस्थाहरुसँग एकिकरणको प्रक्रिया अगाडि बढाउने, विशिष्टिकृत संघ गठन गरेर बहुउद्देश्यीय परियोजना सञ्चालन गर्ने, सदस्यहरुलाई आत्मनिर्भर र स्वावलम्बी बनाउन सीपमूलक तथा आयमूलक तालिम सञ्चालन गर्ने भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गर्दै आएको छ ।



Leave a comment