Sahakari Akhabar

मनासलु सहकारीकाे २२औं वार्षिक साधारणसभा सम्पन्न  

मनासलु सहकारीकाे २२औं वार्षिक साधारणसभा सम्पन्न   :: Sahakari Akhabar

ललितपुर । मनासलु सहकारी संस्थाले २२औं वार्षिक साधारणसभा हालै सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राजेन्द्र पौड्यालको सभापितत्व एवं राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपकप्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभामा शुभकामना मन्तब्य दिँदै बास्कोटाले मनासलु सहकारीले समुदायमा छुट्टै पहिचान बनाउन सफल भएको बताए । संस्थाका अध्यक्ष राजेन्द्र पौडेलले आ.व. ०७७।७८ को प्रगति प्रतिवेदन तथा आ.व. २०७८।७९ का लागि कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।

२०५६ सालमा सहकारी मुल्यमान्यतालाई आत्मसात गर्दै सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्ने उद्देश्यका साथ संस्था स्थापना भएको र हालसम्म आइपुग्दा संस्थाले आफ्नो उद्देश्यमा सफल भएको समेत उनले बताए ।

सहकारी समुदायका मानिस मिलेर सञ्चालन गर्ने सामुहिक उद्यम भएकाले सदस्यहरुकै सामुहिक हितका लागि संस्थाले कार्य गर्दै आएको उल्लेख गरे ।

आर्थिक आत्मनिर्भरताले नै स्वाधिनताको रक्षा गर्ने हुँदा सदस्यहरुको आर्थिक आत्मनिर्भरताका लागि संस्थाले विभिन्न सदस्यकेन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

सदस्यहरुको आर्थिक लक्ष्य पुरा गर्नका लागि संस्थाले विभिन्न किसिमका बचत तथा ऋणको कार्यक्रम ल्याएको र त्यसमा सदस्यहरुको समेत सल्लाहसुझावको अपेक्षा उनले गरे ।

हालसम्म आइपुग्दा संस्थाले समुदायमा आफ्नो पहिचान बनाइसकेको र सदस्यहरुलाई सुविधासम्पन्न भवन, आधुनिक कम्प्युटराइज्ट प्रविधि, स्पष्ट भिजन र मिसन सहित सेवा दिँदै आएको उनले उल्लेख गरे ।

संस्थाले बहुउद्देश्यीय योजना सञ्चालनका लागि आवश्यक नीतिनिर्देशिका बनाइसकेको उल्लेख गरे । सहकारी भनेकै सदस्यहरुका आवश्यकता परिपूर्ति गर्ने माध्यम भएकाले संस्थाले सदस्य बनाएर मात्रै कारोबार गर्ने गरेको उनले बताए ।

ललितपुर जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले २७४५ जना सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । २०८२ सालसम्म संस्था कस्तो हुन्छ भन्ने भिजन आफुहरुले तयार गरेको भन्दै उनले सदस्यहरुलाई सक्रिय भएर कारोबार गर्न आग्रह गरे ।

संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म ४ करोड ७२ लाख शेयरपुँजी, ५८ करोड ५३ लाख ९७ हजार बचत संकलन र ६४ करोड १ लाख ४३ हजार ऋण लगानी गरेको छ ।

संस्थाले समुदायप्रति चासो देखाउँदै कमाएको मुनाफाबाट केहि प्रतिशत समाजको हितका लागि समेत खर्च गर्दै आएको छ । त्यसैगरी संस्थाले ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका सदस्य र सुत्केरी सदस्यलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।

संस्थाले यस आ.व. मा ३४९७ सदस्य, ५ करोड ८५ लाख शेयरपुँजी, ७६ करोड ३७ लाख बचत संकलन र ७८ करोड ३० लाख ऋण लगानी गर्ने लक्ष्य अघि सारेको छ । 

सभामा कोषाध्यक्ष मीना ताम्राकारले आर्थिक प्रतिवेदन र लेखासमिति संयोजक जीवन महर्जनले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

संस्थाले हायरपर्चेज, व्यवसायिक, शैक्षिक, जग्गा खरिद, सामुहिक जमानी, लघुवित्त लगायत दशवटा शीर्षकमा ऋण लगानी गर्दै आएको छ ।



Leave a comment