Sahakari Akhabar

सहकारीको नियमन गर्न छुट्टै संयन्त्र बनाइने

सहकारीको नियमन गर्न छुट्टै संयन्त्र बनाइने :: Sahakari Akhabar

बागमती प्रदेश सहकारी संघको प्रथम साधारण सभा सम्पन्न

काठमाडौं । सहकारीको नियमन गर्न छुट्टै संयन्त्र बनाइने भएको छ । बागमती प्रदेशमा रहेका सहकारीको नियमन गर्न छुट्टै बनाउने तयारी सुरु भएको छ । बागमती प्रदेश सहकारी मन्त्रालयले नियमन प्रभावकारी बनाउन गाइडलाइन बनाउन लागेको प्रदेश रजिष्ट्रार नारायण ज्ञवालीले बताए । उनले सहकारी अभियानसँग मिलेर प्रारम्भीक सहकारीको नियमन गर्ने योजना रहेको सुनाए ।

‘हामीले नियमनको खाका बनाएका छौं’, तपाईहरुले पनि खाका ल्याउनुहोस्, सँगै मिलेर नियमन गरौं’ बागमती प्रदेश सहकारी संघको प्रथम साधारणसभामा ज्ञवालीले भने । प्रदेश सहकारी संघमार्फत प्रदेशभित्र रहेका १३ वटा जिल्ला संघले सहकारीको नियमन गर्नुपर्ने उनले बताए ।

प्रदेश र संघ मिलेर नियमन संयन्त्र बनाउने तयारी भएको उनले बताए । बागमती प्रदेशमा १० हजार ४ सय १८ सहकारी संघसंस्था छन् । २७ लाख १७ हजार सदस्य छन् । ५१ अर्ब ४० करोड ६४ लाख सेयर पुँजी संकलन गरेको छ । यहाँका संस्थाले २ खर्ब १४ अर्ब ६६ करोड २२ लाख बचत संकलन गरी १ खर्ब ९९ अर्ब ८६ करोड ४७ लाख कर्जा प्रभाव भएको छ । प्रदेशका सहकारीले ३३ हजार ८ सय ४३ जनालाई रोजगारी दिएका छन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल सहकारीको नियमन जिल्ला संघमार्फत गर्दा प्रभावकारी हुने बताए । ‘बागमती प्रदेशको प्रस्ताव सही छ, संघहरुले नियमन गर्न सक्छन्’ उनले भने,‘यसो गर्दा सहकारी शुद्धिकरण हुन सघाउँ पुग्छ ।’

देश संघीयतामा गएसँगै सहकारीको नियमन तीन तहका सरकारबाट हुँदै आएको छ । सघीय सहकारी विभागले १ सय २५ हजार र केन्द्रीय संघको नियमन गर्छ । प्रदेशले ६ हजार सहकारीको नियमन गर्छ । ३० हजार मध्ये २९ हजार स्थानीय तहको मातहतमा छन् ।

तर समन्वय हुन नसक्दा सहकारीको नियमन प्रभावकारी हुन सकेको छैन । रजिष्ट्रार ज्ञवालीले माघमहिनाभरी खाका तयार गरी फागुन÷चैत्रपछि संयुक्त अनुगमन गर्ने बताएका छन् । मासिक प्रतिवेदन बुझाउन सहकारीले अटेरी गरेको सरकारको बुझाई छ ।

अधिकांश सहकारीले मासिक प्रतिवेदन बुझाउन आनाकानी गर्ने गरेका छन् । प्रदेश रजिष्ट्रार ज्ञवालीले जिल्ला संघमार्फत हरेक सहकारीको मासिक प्रतिवेदन प्रदेश सरकारमा आउने व्यवस्था मिलाउन लागिएको बताए । ‘जिल्ला संघ तयार हुन्छन् भने नियमन गर्न र मासिक प्रतिवेदन बुझाउन हामी जिम्मेवारी दिन तयार छौं’ उनले भने ।



Leave a comment