हाम्रो मेलमिलाप साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न

हाम्रो मेलमिलाप साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नेत्रप्रसाद धितालको सभापतित्वमा एवं कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभामा अध्यक्ष धितालले आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले मुलुकको आर्थिक समृद्धिका लागि समुदायमा छरिएर रहेको ससानो पुँजी एकिकृत गरी समुदायकै आर्थिक सामाजिक उत्थानको लागि परिचालन गर्दै आएको बताए । 

संस्थाले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत स्थानीय स्तरमा रहेका मठमन्दिर, सामुदायिक विद्यालय, अस्पताल, ज्येष्ठ नागरिक समाज, किरियापुत्री भवन, प्रहरी चौकी लगायतका संघसंस्थालाई सक्दो सहयोग गर्दै आएको उनको भनाई छ ।

संस्थामा संकलित बचतलाई सदस्यहरुमाझ आयमूलक एवं उत्पादनमूलक क्षेत्रमा ऋण लगानी गरी उनीहरुको स्तरोन्नति गर्नु संस्थाको उद्देश्य रहेको समेत उनले बताए ।

यस आर्थिक वर्षको प्रस्तावित प्रस्तुत गर्दै उनले कार्यक्षेत्रलाई वृद्धि गरी काठमाण्डौ जिल्लाभर पुर्याउने, बचत र ऋण लगानीका विभिन्न योजनाहरु थप गर्ने, संस्थाको आफ्नै भवन खरिद गर्ने, स्थानीय स्तरमा सहकारी संस्थाहरुबीच एकिकरणको कार्य अगाडि बढाउने, सहकारीको महत्व बढाउन हाजिरीजवाफ र खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने र घरेलु हिंसा अन्त्य गर्नका लागि सहकार्य गर्ने धितालले उल्लेख गरे । 

संस्थाका कोषाध्यक्ष विनोद दाहालले आर्थिक प्रतिवेदन प्रस्तु गर्दै २०७८ असार मसान्तसम्म शेयरपुँजी ५ करोड ७६ लाख ६६ हजार, कोषहरुमा ६ करोड १५ लाख २३ हजार, बचत संकलन ४८ करोड ६८ लाख ९४ हजार र ऋण लगानी ५१ करोड १८ लाख ८४ हजार गरी कुल वासलात ६३ करोड ६४ लाख ७६ हजार पुगेको जानकारी दिए । 

संस्थामा २२८६ जना शेयरसदस्य आवद्ध रहेका छन् । संस्थाले व्यवसायिक, कृषि, सामुहिक जमानी, घरजग्गा खरिद तथा शैक्षिक जस्ता विभिन्न शिर्षकमा ऋण प्रवाह गर्दै आएको छ । 

सभामा लेखासमिति संयोजक रामजी थापाले समितिको प्रतिवेदन प्रस्तुत गर्दै सदस्यको सुविधाका लागि ३६५ दिनै काउण्टर खुल्ला गरी सेवा प्रदान गर्न सुझाव दिएका थिए ।



Leave a comment